थाइल्यान्डको गुफामा फसेकामध्ये चार किशोरको उद्धारकार्य जारी

असार २६, २०७५

काठमाडौं – थाइल्यान्डको एक गुफामा फसेका १२ मध्ये आठ किशोरहरूलाई आइतवार र सोमवार दुई चरणमा निकालिएको छ । तर अझै चार किशोर र उनीहरूका प्रशिक्षक गुफाको चार किलोमिटर भित्र फसेका छन् । 

उद्धार अभियानको अन्तिम चरणमा बाँकी किशोरलाई निकालिनेछ । स्वास्थ्य अधिकारीहरूका अनुसार, बचाइएका आठ किशोरलाई कम्तीमा एक हप्ता अस्पतालमा राखिनेछ । 

उद्धार अभियान प्रमुख नारोङसक ओसोतोकोर्नले सोमवार बताएअनुसार, तेस्रो उद्धार अभियान शुरू गर्न कम्तीमा २० घन्टा आवश्यक छ तर यो समय मौसम र जलस्तरको हिसाबमा परिवर्तन हुन पनि सक्छ । 

किशोरहरूलाई अहिलेका लागि मातापिताबाट टाढा राखिनेछ किनकि स्वास्थ्य अधिकारीहरूले समेत संक्रमणको खतरा देखेका छन् । किशोरहरूका आमाबुवालाई मातापिताले अलिक टाढा बसेर भेट्ने कि उनीहरूका बीचमा शीशाको
छेकबार लगाउने भनी चिकित्सकले निर्णय दिनेछन् । 

उद्धार गरिएका किशोरलाई चियाङ राय अस्पतालको बेग्लै वार्डमा राखिएको छ । चिकित्सकहरूले लगातार उनीहरूको स्थितिमा नजर राखिरहेका छन् र गुफामा बस्दा उनीहरूलाई कुनै रोग त लागेन भनी हेरिरहेका छन् । 

अभियान प्रमुखले बताएअनुसार, आइतवार उद्धार गरिएका किशोरको तुलनामा सोमवार निकालिएका किशोरको स्वास्थ्य राम्रो छ । 

थाम लुआङ गुफामा किशोरहरू असार ९ गतेदेखि फसेका थिए ।

एजेन्सी
 


असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस