विम्बल्डन टेनिसमा ठूलो उलटफेर, शीर्ष वरीयताका कुनै पनि महिला खेलाडी पुगेनन् क्वार्टरफाइनल

असार २६, २०७५

काठमाडौं – बेलायतमा चलिरहेको विम्बल्डन टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा यसपालि शीर्ष वरीयताका एक पनि महिला पुगेका छैनन् । शीर्ष १० स्थानमा रहेका एक महिला पनि नपुग्नु आश्चर्यकै कुरा भएको छ ।

सन् १८८४ मा महिला सिंगल्स शुरू भएकोमा यस्तो घटना पहिलोपटक भएको हो । 

प्रिक्वार्टरफाइनलमा सातौं वरीयताकी क्यारोलाइना पिल्स्कोभा पुगेको भएपनि उनलाई २०औं वरीयताकी किकी बर्नेन्सले हराइन् । 

शीर्ष दश वरीयताभन्दा मुनिका एन्जेलिक कर्बर, जेलेना ओस्टापेन्को, जुलिया गार्जेस, डारिया कसाटकिना, किकी बर्टेन्स, सेरेना विलियम्स, क्यामिला जिओर्जी र डोमिनिका सिबुलकोभा क्वार्टरफाइनलमा पुगेका छन् ।

विम्बल्डनमा सबभन्दा धेरै म्याच जित्ने महिला खेलाडीमा सेरेना विलियम्स तेस्रो नम्बरमा आएकी छन् । उनले रुसकी एभ्गेनिया रोडिनालाई ६–२, ६–२ ले हराइन् । सेरेनाले विम्बल्डनमा ९० म्याच जितिसकेकी छन् । 

विम्बल्डनमा सबभन्दा धेरै म्याच जित्ने रेकर्ड मार्टिना नभ्रातिलोभासँग छ । उनले १२० म्याच जितेकी छन् । उनीपछि ९६ म्याच जित्ने क्रिस एभर्ट छिन् । सेरेनाकी दिदी भिनस विलियम्सले ८९ म्याच जितिसकेकी छन् । 

एजेन्सी
 


असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस