गाउँका ‘सिंहदरबार’ बैंकविहीन, बैंकिङ कारोबार गर्न जिल्ला सदरमुकामकै भर

असार २६, २०७५

बैतडी – जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भीडभाड रहेको छ । 

सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भीड बढ्दै गएको छ । असारको शुरूवातदेखि नै बैंकमा भीड लागेको हो । स्थानीय तहमार्फत् सञ्चालित योजनाको भुक्तानी लिनेको भीड वाणिज्य बैंकमा लाग्ने गरेको छ । 

बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि सदरमुकाम आएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंकमार्फत् हुने गरेको बताउँछन् ।

गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिएपनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरू भएदेखि निकै भीड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भीड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताए ।

जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भिडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् । 

असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस