छिमेकका दुई परिचित प्रतिद्वन्द्वी : बेल्जियम र फ्रान्समा कसले मार्ला बाजी ?

असार २६, २०७५

काठमाडौं – फूटबलको २१औं विश्वविजेता तय हुन अब केही दिनमात्र बाँकी छ । अबका ३ खेलले विश्वविजेता टुंगो लगाउने छ । उपाधिको दौडमा ४ टोली (बेल्जियम, फ्रान्स, इंग्ल्याण्ड र क्रोएसिया) छन् ।

उपाधिका लागि निर्णायक भिडन्तमा स्थान बनाउने लक्ष्यका साथ मंगलबार बेल्जियम र फ्रान्स भिड्दैछन् । सेमीफाइनलको यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुनेछ ।


ADVERTISEMENT

छिमेकका दुई चीरपरिचित प्रतिद्वन्द्वी

भौगोलिक सिमाना जोडिएका यी दुईदेश ७४ पटक एकअर्कासँग भिडेका छन् । फ्रान्सले आफ्नो फूटबल इतिहासमा बेल्जियमसँग जति खेल कसैसँग खेलेको छैन ।

७४ भेटमध्ये ३० भेटमा बेल्जियमले बाजी मार्दा २४ पटक फ्रान्स विजयी भएको छ । बाँकी खेल बराबरीमा टुंगिएका छन् । 

जारी विश्वकपमा बेल्जियमले शतप्रतिशत जीत दर्ता गर्दै आएको छ भने एक बराबरी खेलेको फ्रान्स पनि अपराजित छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे तथा बेल्जियमले ब्राजिललाई पराजित गरेका हुन् ।

उपाधिको प्रबल दाबेदार मानिएको दक्षिण अमेरिकी पावरहाउस ब्राजिललाई पराजित गरेको बेल्जियम उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका छन्– ‘हामी फ्रान्सविरुद्ध निडर भएर खेल्छौं ।’

फ्रान्स एकपटकको विश्वविजेता हो भने बेल्जियमका लागि सेमीफाइनल पुग्नु नै ठूलो उपलब्धि हो ।

स्टार खेलाडीहरूले भरिएको बेल्जियम पहिलो पटक विश्वकप उचाल्ने लक्ष्यमा छ ।

हेर्नलायक खेलाडी 

केभिन डी ब्रुयने, बेल्जियम

म्यान्चेस्टर सिटीलाई इंग्लिस च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका डी ब्रुयने बेल्जियमको आक्रमणका आधार स्तम्भ हुन् ।

उनको खुट्टाबाट प्रहार भएको बलले जाली चुमे पनि नचुमे पनि गोलको आधार तयार पार्ने यिनै डी ब्रुयने हुने गरेका छन् ।

शुरुवाती खेलहरूमा मार्टिनेजले यिनलाई होल्डिङ मिडफिल्डरको भूमिकामा खेलाएका थिए । स्कोर सिटमा उनको नाम थिएन तर प्रदर्शन प्रशंसायोग्य नै थियो ।

ब्राजिलविरुद्ध उनलाई एट्याकिङ मिडफिल्डरको भूमिकामा मैदानमा उतारियो । उनले जीतमा निर्णायक गोल गरे ।

डी ब्रुयनेलाई 'बिग म्याच'को खेलाडी पनि भन्ने गरिन्छ । सिटीका लागि पनि ठूला र महत्त्वपूर्ण खेलमा उनको निर्णायक भूमिका रहने गरेको छ ।

डी ब्रुयनेका अलावा हजार्ड र लुकाकुको भूमिका पनि टीममा निकै महत्त्वपूर्ण छ ।

ग्रिजम्यान, फ्रान्स

७ नम्बर जर्सीधारी यी प्लेमेकर फ्रान्सको टीमका निकै महत्त्वपूर्ण सदस्य हुन् । स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट व्यवसायिक फूटबल खेल्ने ग्रिजम्यानले जारी विश्वकपमा ३ गोल १ एसिस्ट गरिसकेका छन् ।

बललाई जाली चुमाउने मात्र होइन गोलको आधार तयार पार्ने भूमिकामा पनि ग्रिजम्यान निकै महत्त्वपूर्ण छन् । 

उनका अलावा एमबाप्पे, जिरुड, पोग्वा, कान्तेजस्ता खेलाडीले पनि म्याचमा प्रभाव पार्न सक्छन् ।

असार २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार