प्रमुख समाचार : १२ वर्षपछि फ्रान्स विश्वकपको फाइनलमा, बैंकहरुको २ खर्ब ऋण जोखिममा

असार २७, २०७५

काठमाडौं–सन् १९९८ को विश्वविजेता फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ ।  १९९८ मा विश्वकप जितेर सन् २००६ मा इटालीसँग फाइनल हारेको फ्रान्स १२ वर्षपछि फेरि उपाधि नजिक पुगेको हो ।  
गएराती सेन्ट पिटर्सबर्ग्स्थित क्रेस्टोभस्काई रंगशालामा भएको निकै रोमाञ्चक खेलको ५१ औं मिनेटमा फा्रन्सका सामुएल उमतितिले हानेको गोल नै निर्णायक बन्यो । उनले डिबक्सभित्रबाट हानेको हेडले जाली चुम्न पुग्यो । 
५१ औं मिनेटमा सामुएलको गोल पछि डिफेन्स खेलेको फ्रान्सको पोस्टमा बेल्जियमका खेलाडिले एकपछि अर्को प्रहार गरेपनि गोल हुन सकेन । १–० गोलको हारसँगै बेल्जियम सेमिफाइनबाटै घर फर्किएको छ । फ्रान्सले अब इङ्ल्याण्ड र क्रोएशियाबीचको विजेतासँग फाइनल खेल्नेछ  ।  
२ खर्ब ऋण जोखिममा 

बैंक तथा वित्तिय संस्थाले गरेको लगानी जोखिममा देखिएको छ । ऋण असुली न्यायाधीकरणको तथ्यांकले अनुसार चालु आर्थिक बर्षको असार २५ गतेसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाले झण्डै सवा २ खर्ब ऋण उठाउन सकेका छैनन् । उनीहरुले  ऋण  असुली न्यायाधीकरणमा ऋणी बिरुद्ध मुद्दा दर्ता गराएका छन् । 


ADVERTISEMENT

असार २५ गतेसम्म २ खर्ब ११ अर्ब ८३ करोड ४७ लाख १५ हजार २ सय १४ रुपैयाँ बराबरको ऋण उठाइदिन माग गर्दै न्यायाधीकरणमा मुद्दा परेको न्यायाधीकरणका प्रवक्ता भेषराज कोइरालाले बताए । 
विभिन्न बैंक तथा वित्तिय संस्थाले १ सय ९८ वटा मुद्दा न्यायाधीकरणमा दर्ता गराएका छन् । गत आर्थिक वर्षमा यस्तो मुद्दा १०६ वटा मात्र परेको थियो । 

निजामती कर्मचारीको उमेरहद 
अर्थ मन्त्रालयले प्रस्तावित संघीय निजामती ऐनमा निजामती कर्मचारीको सेवा निवृत्त हुने उमेरहद ६० वर्ष पुर्याउने प्रस्ताव अगाडि सारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐनको मस्यौदामाथि राय दिँदै अर्थ मन्त्रालयले सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउन प्रस्ताव गरेको हो । 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ऐनको मस्यौदामा ५८ वर्ष उमेर पुगेको निजामती कर्मचारीले स्वतः अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ । 
सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा ऐनको मस्यौदा अहिले छलफलको क्रममा छ । मस्यौदामाथि रायका लागि अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइएकोमा अर्थ मन्त्रालयले आफ्नो राय पठाइसकेको छ । अर्थ मन्त्रालयले सेवा निवृत्त हुने कर्मचारीको निवृत्तिभरण र उपदानका लागि राज्यकोषबाट भइरहेको खर्चको भार घटाउन कर्मचारीको उमेरहद बढाउने राय दिएको छ । 

अर्थ मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष कायम राख्न राय दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।

जनसंख्याको आधारमा आरक्षण नभए आन्दोलन ! 
दलित अगुवाहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि २ नम्बर प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको प्रदेश प्रहरी सेवा सम्बन्धी ब्यबस्था गर्न बनेको बिधेयक सच्याउने बताएको छ । 
दलित अगुवाहरुले   जनसंख्याको आधारमा आरक्षण नदिएको भन्दै बुधबारदेखि प्रदेशसभा घेराउ गर्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  

 प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रहरीलाई दिइने आरक्षणमा त्रुटि भएको स्वीकार गर्दै जनसंख्याकै आधारमा आरक्षणको ब्यबस्था गर्न संशोधन गरिने बताए ।  ‘दलित अगुवाहरूले अब  आन्दोलन गर्नुको कुनै औचित्य छैन, उहाँहरूलाई  आफ्नो आन्दोलन फिर्ता लिन आग्रह गर्दछु’, मन्त्री यादबले लोकान्तरसंग भने । 

यता दलित अधिकार परिषदका संयोजक राजाराम पासवानले मन्त्री यादबले संञ्चारमाध्यममा भन्दैमा आफूहरूको आन्दोलनको पूर्ब घोषित कार्यक्रम फिर्ता नहुने बताएका छन् । सरकारले आफूहरूसँग बार्ता गरेर लिखित सम्झौता नगरेसम्म आन्दोलनको कार्यक्रम फिर्ता नहुने पासवानले बताएका छन् ।

५० जनाको मृत्यु
केही दिनयता अविरल वर्षाका कारण देशका विभिन्न ठाउँ आएको बाढी पहिरोका कारण ५० जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयले मंगलबार विज्ञाप्ति निकाल्दै बाढी पहिरोका कारण ९ जना बेपत्ता र २२ जना घाइते भएको उल्लेख छ । बेपत्ताको खोजी र घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले विज्ञाप्ति मार्फत जनाएको छ ।

पौडेल आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित
नेपाली काँग्रेसका नेता किरणराज शर्मा पौडेललाई काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 यसैबीचनेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् । 

सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विचार गोष्ठीमा उनर्ले मान अवस्थामा पपार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याए । 

महामन्त्री डा कोइरालाले आफू सधँै गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए । 

तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलनमा
जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् । 

मंगलबारदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक सातादेखि आन्दोलन गर्दै आएका थिए । तर मंगलबारदेखि इमरजेन्सी सेवा समेत बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन् । 


शान्ति समाजको धर्ना
सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि शुरु गरेको भन्दै त्यसविरुद्ध मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिण मूलद्वार अघि धर्ना दिएको छ । 

नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) नेतृत्वको सरकारले कानूनको शासनको उपहास गर्दै स्वेच्छाचारी क्रियाकलाप शुरु गरेको समाजको आरोप छ । यसका विरुद्ध धर्ना दिँदा शान्तिवादीलाई पक्राउ गरिएको समाजका महासचिव उत्तम पुडासैनीले बताए ।  
धर्नाबाट प्रहरीले २५ जना सत्याग्रहीलाई गिरफ्तार गरेको समाजले जनाएको छ । 
लुटपाट

महोत्तरीको जलेश्वर बर्दिवास सडकखण्डमा पर्ने सरपल्लो बजार नजिकै मंगलबार दिउँसो ४ बजे लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रु १७ लाख २५ हजार दुईवटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर बर्दिबास सडकखण्डको सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोल पम्प नजिकैको बाँसघार अगाडिबाट लुटेर भागेका हुन् । 

अनुहार छोपेर आएका लुटेराहरूले साहलाई पेस्तोल देखाउँदै रकम लुटेर भागेको पीडितलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ ।     


जरुरी सार्वजनिक महत्वको प्रस्ताव
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ । 


जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप सो विधेयक प्रस्तुत गर्न र अनशनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न माग गर्दै सांसद राधेश्याम अधिकारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरे ।  प्रस्तावको समर्थक द्वयमा सांसद अनिता देवकोटा र रमेशजङ्ग रायमाझी छन् । सो प्रस्तावमाथि मंगलबार नै देखि छलफल सुरु भएको छ । 

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी
त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा मंगलबार आगलागी भएको छ । 

जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । 

आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । 

गुफामा थुनिएका सबैजनाको उद्धार
थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । 
फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । 
नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो । 
नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।” 


 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस