कक्षा ११ को छात्रवृत्ति : कहिले हट्छ अन्योल ?

असार २७, २०७५

 काठमाडौं । कक्षा ११ को छात्रवृत्ति विद्यालय तहबाटै छनोट गर्ने भएपछि विद्यार्थी अलमलमा परेका छन् । राष्ट्रिय परीक्षा बोर्डको सिफारिसमा संस्थागत विद्यालयले छात्रवृत्ति दिनुपर्ने व्यवस्था खारेज भएपछि छात्रवृत्तिका लागि आवेदन दिन तयार भएका सयौं विद्यार्थीलाई समस्या परेको छ ।
कुन विद्यालयमा कसरी निवेदन दिने भन्ने विषयमा अहिलेसम्म विद्यार्थीलाई जानकारी नै छैन । विद्यार्थीले विद्यालयमा आवेदन दर्ता गर्दा विद्यालयहरुले जानकारी नै नभएको बताउने गरेका छन् । अधिकांश विद्यालयले परीक्षा बोर्डले सिफारिस गरेको आधारमा छात्रवृत्ति दिने जनाउँदै आएका छन् ।

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले छात्रवृत्तिमा पढ्ने विद्यार्थीका लागि समस्या बढेको बताउनुभयो । उहाँले कहाँ र कसरी निवेदन दिने भन्ने विषयमा हालसम्म जानकारी नभएको बताउनुभयो । स्थानीय निकायलाई अधिकार दिएको भए ती निकायले सरोकारवालालाई जानकारी दिनुपर्ने उहाँको भारणा छ । शिक्षा विभागले स्थानीय निकायमा निवेदन दिएर छात्रवृत्ति लिनुपर्ने सूचना जारी गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो ।


ADVERTISEMENT

सबै स्थानीय निकायले आफ्नै ढंगबाट छात्रवृत्ति दिने तयारी गरेपछि समस्या बढ्दै गएको हो । ललितपुर महानगरपालिकाले संस्थागत विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई ५० र सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको छ । अधिकांश स्थानीय निकायले स्थानीयबासीका छोराछोरीलाई मात्र छात्रवृत्ति दिने योजना बनाएका छन् । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले अब आफूले पढ्न चाहेको विद्यालयमा भर्ना भई सोही विद्यालयमा छात्रवृत्ति फारम भर्नुपर्ने व्यवस्था गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ। 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस