ज्यानमारा पनि हुनसक्छ स्वास्थ्य उपकरण !

असार २७, २०७५

संसार प्रविधिमा विकसित बनिरहेको छ । यही विकसित आयामले सबै क्षेत्रमा परिर्वतनका सकारात्मक रेखा कोरिन थालेका छन् । प्रविधिको नविन उपयोगले मानिसका दैनिक क्रियाकलाप सहज र सुविधा उन्मुख बनिरहेका छन् । स्वास्थ्य क्षेत्रले पनि प्रविधिकै कारण फड्को मारिरहेको छ । जसले गर्दा बाँच्ने आधार बलियो बनेको छ ।

मानवीय सीपसँगै आविष्कारले जन्माएका तमाम उपकरणबाट हामी अमूल्य आयू लम्बाउन सक्ने भएका छौं । उपकरणकै कारण बाँच्न पाउने भरोसाले आम बिरामीको रोग निदानमा सकारात्मक उर्जा प्राप्त भएको छ, थपिएको छ ।


आधुनिक चिकित्सा विज्ञानमा उपकरणको अहम् भूमिका छ । उपकरण बिनाको उपचार सम्भव नै छैन । त्यसैले त देशमा खुलिरहेका धेरै अस्पतालमा उपकरण भित्र्याउने होडबाजी नै चल्ने गरेको छ । उपकरणकै कारण उपचार पद्दति सहज र सरल बनिरहेको छ ।

सरकारी तथा निजी अस्पतालले आफ्नो धेरै लगानी उपकरण खरिदमा लगाउँदै आइरहेका छन् । त्यसैले पनि देशको ठूलो धनराशी उपकरण खरिदमा जाने गरेको छ । तर, खरिदमा आवश्यकीय ध्यान पुर्याउन नसक्दा गुणस्तरीयताको सवालमा भने प्रश्न चिह्न खडा भएको छ ।

विश्वमा हाल निकै महंगा तथा भर्खरै आविष्कार भएका तमाम मेडिकल उपकरण प्रयोगमा छन् । नेपालको सन्दर्भमा भने हामी सोचेअनुरुप अगाडि बढ्न विलम्ब गरिरहेका छौं । किनकि, देशको आर्थिक अवस्थाले गर्दा पनि हामी महंगा तर अतिआवश्यक उपकरण भित्र्याउन असमर्थ छौं । केही प्रक्रियागत झन्झटका कारण अब्बल सरकारी अस्पताल पनि यसकै चपेटामा पर्दै आइरहेको यदाकदा सुनिआएको विषय नै हो । जसका कारण देशबाट उपचारकै लागि थुप्रै बिरामी विदेशका अस्पतालमा पुग्नैपर्ने बाध्यता रहिआएको छ ।

कुरा गरौं, देशको सुदूर भागको । नेपालको कर्णाली प्रदेश सम्भावनाले खाँदिएको प्रदेश हो । भौगोलिक जटिलता र विकटताले त्यहाँको जनजीवन सोचेजस्तो र चाहेजस्तो सहज बन्न सकिरहेको छैन । यसको प्रत्यक्षपरोक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा समेत देखिँदै आएको छ । सामान्य अवस्थाका बिरामी पनि मेडिकल उपकरण अभावका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर हुनुपर्ने बाध्यता छ । नभए नेपालगन्ज झर्नुपर्ने हुन्छ । जिल्ला तथा स्थानीय तहका स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण पर्याप्त नहुँदा त्यहाँका स्थानीय वासिन्दा रोगको भूमरीमा ज्यानको बाजी लगाउनुपर्ने स्थितिमा छन् ।

यसकै कारण सामान्य दुर्घटनामा परी ‘फ्याक्चर’ हुँदा एक्सरे गर्नबाट वञ्चित बन्नु परिरहेको छ । उपकरण बिग्रिएर समयमै मर्मत गर्न नसक्दा थपिएको सास्ती झनै दुःखदायी छ । जसले गर्दा उपचारको लागि शहर धाउँदा हजारौं रुपैयाँको आर्थिक बोझ थपिएको छ भने समय पनि त्यसरी नै व्यतित गर्नुपर्ने बाध्यता छ ।

यो प्रतिनिधिमूलक अवस्था नेपालका प्रायः भेगमा यस्तै नै रहँदै आइरहेको छ । नेपालका विशेषत् दुर्गम भेगमा उपकरणकै अभावमा रोगबारे सामान्य जानकारी समेत हासिल गर्न नसक्दा थप उपचारका लागि शहर तथा राजधानीतिरै बाटो सोझ्याउनुपर्ने अप्ठ्यारो बाध्यात्मक स्थिति छ ।

उपचारमा संग्लन हुने स्वास्थ्यकर्मी हुदाँहुदै उपकरणकै कारण सहज स्वास्थ्य उपचारबाट बिमुख बन्नुपर्ने स्थिति दःुखद हो । यसर्थ पनि अति महत्वपूर्ण उपकरणको व्यवस्था स्थानीय स्तरमै भइदिए अनाहकमा ज्यान गुमाउनुपर्ने नियतिबाट अवश्य धेरै नेपाली टाढा रहने थिए ।

वर्तमान नेपालको अवस्था के पनि हो भने विदेशबाट आयात भएका आधुनिक उपकरण चलाउन स्वास्थ्यकर्मी पूर्णत अभ्यस्त बन्न नसकिरहेको देखिन्छ । प्रयोगशालाको परीक्षणबाट आएको रिपोर्ट गलत छ भने त्यहीबाट बिरामीको गलत निदान सुरू हुन्छ ।

नेपालका अधिकांश अस्पतालमा पूराना र वर्षाैदेखि प्रयोगमा ल्याइएका उपकरण चलाउँदै गलत अभ्यास गरिँदै आइएको छ । कतिपय स्वास्थ्य संस्थामा त विदेशबाट सहायताका नाममा भित्र्याइएका कमसल उपकरणबाट समेत रोगको निदान गरिन्छ । यो सिधै जनस्वास्थ्यमा गरिएको खेलवाड हो । यस्ता तथ्यको हेक्का सबैले समयमै राख्नैपर्ने बेला आएको छ । यसका लागि सम्बन्धित निकायले तुरुन्तै आवश्यक पहलकदमी लिन ढिलो गर्नु हुँदैन ।

जनताको उपचारमा प्रत्यक्ष भूमिका खेल्ने उपकरणबारे सजग र सचेतता आम सर्वसाधारणमा आउनुपर्ने देखिन्छ । कुनै पनि स्वास्थ्य संस्थाले कमसल तथा लामो समयसम्म परीक्षणको अभाव खेपेर सही नतिजा दिन नसक्ने उपकरणको प्रयोगमा बन्देज लगाउनैपर्ने देखिन्छ । आम मानिसको ज्यान बचाउने उपकरण सधै ज्यान बचाउनकै लागि सही सावित नहुन सक्छन् । यसका लागि उपकरणका विविध पक्षमा ध्यान पुर्याउनैपर्ने हुन्छ ।

आम मान्छेको बुझाइ उपचार सफल नभए स्वास्थ्यकर्मी मात्रै दोषी हुन्छन् भन्ने छ । तर, हेक्का राख्नुपर्ने विषय कतिपय अवस्थामा उपकरणकै कारण पनि बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति रहन गएको छ । उपकरण सम्बन्धी आवश्यक ज्ञान सबै स्वास्थ्यकर्मीले  राख्नुपर्छ । यदि उपकरण चलाउनका लागि पर्याप्त तथा आवश्यकीय ज्ञान भएन भने रोगको निदान तथा उपचार पद्दति नै निष्प्रभावी हुन जान्छ । यसले बिरामीको स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।

वर्तमान नेपालको अवस्था के पनि हो भने विदेशबाट आयात भएका आधुनिक उपकरण चलाउन स्वास्थ्यकर्मी पूर्णत अभ्यस्त बन्न नसकिरहेको देखिन्छ । त्यसका लागि सम्बन्धित निकायले विधागत तालिमको प्रबन्ध गर्नुपर्ने देखिन्छ । सबैभन्दा धेरै प्रयोगशालामा प्रयोग हुने उपकरणमा सजगता अपनाउनुपर्ने हुन्छ ।

प्रयोगशालाको परीक्षणबाट आएको रिपोर्ट गलत छ भने त्यहीबाट बिरामीको गलत निदान सुरू हुन्छ । ल्याबमा प्रयोग हुने केमिकल्स गुणस्तरीय हुन त्यत्तिकै जरुरी छ ।

आज स्वास्थ्य क्षेत्रमा इसीजी मेसिन, एक्स–रे, अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई, भेन्टिलेटर, एनेस्थिेसिया मेसिन, इलेक्ट्रो सर्जिकल युनिट, प्यासेन्ट मोनिटर, अक्सिजन कन्सनटेटर, सक्सन, नेबुलाइजर, वीपी इन्स्टुमेन्ट, स्टेथस्कोप, दिसापिसाब, रगत जाँच गर्न ल्याबमा प्रयोग हुने विभिन्न एनालाइजर लगायतका बायोमेडिकल उपकरण प्रत्यक्ष बिरामीको उपचारमा प्रयोग भइरहेका छन् ।

यी उपकरणको उचित तवरले प्रयोग गर्न सकियो भने मात्रै उपादेयता रहन सक्छ ।

नेपालमा मौलिक हकको रुपमा रहेको गुणस्तरीय स्वास्थ्य सेवामा टेलिमेडिसिन (इ–हेल्थ) लाई रणनीतिको रुपमा अंगीकार गरिएको छ । यो पूर्णत प्रविधिमा आधारित छ । यसका लागि पनि पर्याप्त र गुणस्तरीय उपकरणको जरुर आवश्यकता छ ।

लेखकबाट थप –
१) कति निल्छस् त्रिशूली? 
२) लघुकथा (चट्याड्ड)
३) खुसी कहाँ छ? 
४) बोल मायाले... उघारेको यथार्थ
 

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस