खाडी छाडेर गाउँकै पखेरामा ‘पैसा’ फलाउँदै टेकबहादुर

असार २७, २०७५

सुर्खेत – गाउँका सयौं युवा खाडीमा पसिना बगाइरहेका बेला कालिकोटको तीलागुफा नगरपालिका–११ का टेकबहादुर शाही पखेरामा पैसा फलाइरहेका छन् । करीब १ दशकदेखि स्याउ खेती गरिरहेका उनको कमाई खाडीमा पसिना बगाउने युवाको भन्दा कम्ता छैन ।

‘घरमै बसिबसी राम्रै कमाइ गरिरहेको छु,’ उनी भन्छन्, ‘किन जानुपर्यो विदेश ?’ टेकबहादुरका ३ वटा बगैंचामा २ हजार स्याउका रुख छन् । तीमध्ये ८ सय ३० वटा रुखले स्याउको फल दिन थालिसकेका छन् । बाँकी रुखले पनि केही वर्षभित्र स्याउ फलाउने उनको विश्वास छ ।

‘करीब डेढ दशकअघि त्यही पखेरो हो, जहाँ फापर, सिमी, आलु, गहुँ फल्थ्यो । उत्पादित अनाजले ५–७ महिनाभन्दा बढी खान पुग्थेन । परिवारका पेट पाल्न कालापहाड जानुको विकल्प थिएन,’ उनले सम्झिए, ‘त्यही पखेरोमा फल्ने स्याउले वर्षभरि पुग्ने अनाज किन्न मात्र होइन, परिवारको सम्पूर्ण आवश्यकता पूरा गरिदिएको छ ।’

‘२०६३ सालतिर सरकारले भारतको सिमलाबाट स्याउका विरुवा ल्याएर सहुलियत दरमा बाँड्यो । त्यतिबेला मैले ३ सय स्याउका बिरुवा रोपेको थिए,’ उनले भने । शुरू–शुरूमा सडक नहुँदा स्याउ फलेपनि खासै आर्थिक उपार्जन नभएको उनले बताए । तर, अहिले कर्णाली राजमार्ग गाउँमै पुगेपछि भने सुखका दिन फर्किएको उनले बताए । ‘अहिले थप स्याउका बोट रोपेको छु,’ उनले लोकान्तरलाई भने ।

उनी थुप्रै पटक जिल्ला र क्षेत्रीय स्तरको उत्कृष्ट किसानबाट सम्मानित भइसकेका छन् । २०७३ सालमा उनी राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित भए । उनको पहिचान कर्णाली प्रदेशकै उत्कृष्ट स्याउ किसानको रुपमा दरिएको छ । आम्दानी पनि लोभ लाग्दो छ । गत वर्ष मात्र उनले करीब १५ लाख रुपैयाँ कमाए ।

‘केही वर्ष अघिसम्म ११ जनाको परिवार पाल्न मुस्किल थियो । अहिले आर्थिक समृद्धिले परिवारमा सुख र शान्ति छाएको छ,’ उनले भने, ‘बाउबाजेले गर्न नसकेको आम्दानी र सुख गाउँमै पाउँदा खुसी लागेको छ ।’ उनले यो सबै मेहनत र बुद्धिको फल भएको बताए । स्याउकै उत्पादनले छोराछोरीलाई राम्रो ठाउँमा शिक्षा दिइरहेको उनले बताए ।

उत्पादित स्याउको बजारीकरणमा पनि समस्या छैन । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले उनको स्याउ गाउँदेखि कर्णाली राजमार्गको गाल्जेसम्म ल्याउन ग्राबेटिक रोपवे बनाइदिएको छ । यसले गर्दा निकै सहज भएको उनी बताउँछन् ।

१२ कक्षासम्म पढेका उनी आयोजनाको निजी सेवा प्रदायक पनि हुन् । यसवाफत उनले वार्षिक करीब २ लाख रुपैयाँ कमाउँछन् । आयोजनाको तर्फबाट किसानलाई स्याउ नर्सरी स्थापना गर्ने, रोग तथा किराको उपचार गर्ने, स्याउ ग्रेडिङ गर्ने, काँटछाँट गर्ने, बिरुवा जोड्न सिकाउने काम गर्छन् ।

अहिले उनको व्यवसायमा स्याउ मात्र सीमित छैन । बाख्रापालनका साथै सिमी, आलु, फापर खेती पनि गर्छन् । यसवाफत थप ५ लाख रुपैयाँ कमाउँछन् । स्याउको सिजनमा त उनले २० जनालाई तलब दिएर काममा लगाउने गरेका छन् । ‘पहिले कालापहाड गएर पराईको काम गर्थें, अहिले गाउँमै अरुलाई रोजगारी दिएको छु,’ उनी भन्छन्, ‘जिन्दगीमा योभन्दा ठूलो सन्तोष अरु के हुन सक्छ र ?’

आयोजनाले रोपवेका साथै सिँचाइ पोखरी, निजी सेवा प्रदायक, अध्ययन तथा अवलोकन भ्रमणमा सहयोग गरेको छ । सहयोगले स्याउ किसानलाई फाइदा मिलेको छ । ‘आयोजनाले सहयोग गरी हौसला नदिएको भए पुरानै अवस्थामा फर्किन्थें होला,’ उनी भन्छन्, ‘अहिले त झन्झन् काम गर्ने उर्जा मिलिरहेको छ ।’

उनी आफूले कमाएको सफलतामा आधारित रहेर ज्ञान र सीप अरुलाई पनि बाँड्छन् । यसले उनलाई गाउँ समाजसँग जोडेको मात्र छैन, उनी समुदायको ‘प्यारो’ पनि बनेका छन् । ‘पैसा पनि कमाएँ, समाजको माया पनि कमाएँ,’ उनी भन्छन्, ‘मलाई मेरो जिन्दगी बल्ल सार्थक लाग्न थालेको छ ।’

उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका प्रमुख राजेन्द्रप्रसाद भारीले कालिकोट र जुम्लामा स्याउ उत्पादनका लागि ६९ वटा समूह र सहकारीलाई सहयोग गरेको बताए । ‘त्यो माध्यमबाट २१ सय घरधुरीलाई लाभ मिलेको छ,’ उनले भने । उनले आयोजनाको काम भदौंमा सकिने भएपनि कृषि क्षेत्र विकास कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागू हुने बताए । ‘कार्यक्रमले स्थानीय कृषि सडक, कृषि सिँचाइमा लगानी गर्नेछ,’ उनले भने, ‘यसका साथै बजार प्रवद्र्धन र व्यावसायिकीकरण पनि कार्यक्रमले गर्नेछ ।’

असार २७, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस