चेक गणतन्त्रमा कम्युनिस्टहरू फेरि सत्तामा

असार २७, २०७५

काठमाडौं – चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिसले कम्युनिस्ट पार्टीसँग सत्ता गठबन्धनका लागि सम्झौता गरेका छन् । सोभियत खेमा पतन भएपछि चेक सरकारमा कम्युनिस्टहरूको सत्तारोहण भएको यो पहिलो अवसर हो ।

यो सम्झौतापछि वामपन्थी दलले गठबन्धन सरकारलाई अविश्वास प्रस्तावको मतदानमा सघाउने भएको छ । बुधवार अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ । 

बाबिसको मध्यमार्गी एएनओ पार्टीले गत वर्ष चुनाव जितेको भएपनि अन्य दलले उससँग काम गर्न चाहेनन् । तैपनि उनले सरकार चलाइरहेका थिए । तर अहिले बाबिसले अविश्वासको प्रस्तावको सामना गर्नैपर्ने हुँदा कम्युनिस्टको सहयोग लिएका हुन् ।

बाबिस एक अर्बपति व्यापारी हुन् र उनीमाथि ठगीको मुद्दामा अनुसन्धान चलिरहेको छ । उनले आरोप अस्वीकार गरेका छन् । 

एएनओले वामपन्थी सोसल डेमोक्रेट पार्टीसँग गठबन्धनको सम्झौता गरेपनि संसदीय बहुमत प्राप्त गर्न नसकेपछि कम्युनिस्ट पार्टीको सहयोग मागेका हुन् । 

कम्युनिस्टसँग सहकार्यको अवस्था आउँदा धेरै चेक जनता रिसाएका छन् र विरोध प्रदर्शन भएका छन् ।

चेक कम्युनिस्ट पार्टीले कठोर धारणा राख्ने गरेको छ जबकि युरोपका अन्य कम्युनिस्ट पार्टीहरू मूलधारको वामपन्थतर्फ गएका छन् । 

चेक कम्युनिस्ट पार्टी नाटोविरोधी हो र नाटो अभियानअन्तर्गत चेक सैनिकलाई अन्य देशमा खटाउने कुराको पनि उसले विरोध गर्छ । उसले क्युबा, उत्तर कोरिया र चीनका कम्युनिस्ट पार्टीसँग निकट सम्बन्ध राख्ने गरेको छ ।

एजेन्सी
 


ADVERTISEMENT

असार २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस