रुपन्देही ‘पूर्ण खोप सुनिश्चित’ घोषणा

असार २७, २०७५

बुटवल – रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । २०७३ माघ २१ गते रुपन्देहीलाइ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।

जिल्लाका १६ स्थानीय तहमा १६ हजार ४ सय ७६ बालबालिकाले खोप पाएका हुन् । स्थानीय तहमा ३ सय ७८ घरधुरीमा सर्वे गरी खोप लगाइएपछि जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएको हो । बुटवलमा कार्यक्रमको आयोजना गरी जिल्लालाइ पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।


ADVERTISEMENT

जिल्ला जनस्वास्थ्य प्रमुख केहरसिंह गोदारले भने, ‘यसमध्ये १४ हजार ४ सय १४ जनाले खोप कार्ड समेत पाइसकेका छन् भने २ हजार ५ सय ४० बालबालिकाले खोप कार्ड पाएका छैनन् ।’ साउन १ गतेदेखि सबै काम स्थानीय तहमा जाने भन्दै स्थानीय पालिकाले यसको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

१२ देखि २३ महिनाका बालबालिकामध्ये सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा २ हजार ४ सय ९१ जना, सिद्धार्थनगर नगरपालिकामा १ हजार ५ सय ७०, बुटवल उपमहानगरपालिकामा १ हजार ३ सय ८० जना बालबालिकालाई घरधुरी सर्वेका क्रममा खोप दिइएको खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए । 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एकराज विकले रुपन्देही खोप सुनिश्चित जिल्ला भएकाले अब सोही अनुरुप सबैले व्यवहारमा लागू गर्नुपर्ने बताए ।

असार २७, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस