महेश बस्नेतले भने– बाढीपीडितको फोटो फेसबुकमा राखेर पानीजहाज भन्नेलाई जेल हाल्नुपर्‍यो

असार २८, २०७५

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता एवं सांसद महेश बस्नेतले बाढीपीडितको संवेदनामा खेलेर सामाजिक सञ्जालमा पानीजहाजको कुरा गर्दै उडाउनेहरूलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा एक फेसबुक प्रयोगकर्ताले मानसिक संवेदनामा खेल्नेविरुद्ध यस्तै आसयको स्टाटस लेखेकोमा धन्यवाद दिँदै बस्नेतले सो कुरा बताएका हुन् ।

'भक्तपुरका जनता बाढी र पहिरोको पीडामा छन् । कतिपय मान्छेहरू फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै 'पानी आएछ, अब जहाज कहिले आउँछ ?' भनेर उडाइरहेका छन् । सक्नुहुन्छ भने भक्तपुर र देशभरका बाढीपीडितलाई सहयोग गर्नुस्, सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस्,' बस्नेतले भने, 'सामाजिक सञ्जालमा यस्ता वाइयात कुरा गर्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ । साइबर क्राइमको कानून कडा ढंगले लागू होस्, सञ्चार मन्त्रालय र सरकारको म ध्यानाकर्षण गराउँछु ।'

साथै बस्नेतले टिप्परका कारण दुर्घटना बढिरहेका बेला दिउँसो टिप्पर सञ्चालनमा रोक लगाएर सरकारले प्रशंसायोग्य काम गरेको पनि बताए ।

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस