गृहमन्त्रीलाई भेट्न पुगे भारतीय राजदूत

असार २८, २०७५

काठमाडौँ–गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 
    गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।
    गृहमन्त्रीले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदुत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदुतलाई आग्रह गर्नुभयो । 
    यस्तै खुला सिमको फाईदा उठाउँदै हुने मानवतस्करी, सुन तस्करी, लागुपदार्थको ओसार पसार लगायतका अपराध विरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराध विरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । जवाफमा राजदुत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।
    राजदुत पुरीले नेपाल प्रहरीको तालिम केन्द्र निर्माणकार्यको विषयलाई आफुले प्रमुख प्राथमिकतामा राखेको भन्दै यो सम्बन्धी कार्य अघि बढीसकेको जानकारी दिनुभयो ।
    भेटमा उहाँले गृहमन्त्री थापालाई भारत भ्रमणको लागि आग्रह समेत गर्नुभयो । 
 

असार २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस