अग्निपरीक्षामा नेकपा : इमान गुमाएको सत्तापक्ष बन्ने कि गौरवशाली राज्य सञ्चालक ?

असार ३२, २०७५

नेपालको सामाजिक जीवनमा नेपाली कम्युनिस्टहरूले गर्दै आएको राजनीतिक, सामाजिक आन्दोलनले करीब सात दशकको समय पार गरेको छ । अहिले नेपाली जनमतको परिणामले कम्युनिस्ट पार्टीको आन्दोलन राष्ट्र र राज्यको राजनीतिक केन्द्रमा पुगेको छ । नेपाली जनताले तत्कालीन राजनीतिक परिवेशको आधारमा नेतृत्वको जन्म, विकास र निर्माण गर्दै आफ्नो स्वाधिनता प्राप्त गर्ने जिम्मेवारी नेतृत्वलाई सुम्पिँदै अगाडि बढे । 

बाइसे—चौबीसे राजा, राजौटाका विरुद्ध पृथ्वीनारायण शाह जन्माए । राणा शासकका सामन्तवादविरुद्ध गंगालाल, दशरथचन्द्र, शुक्रराज र धर्मभक्त जस्ता राष्ट्रिय सपुत जन्माए । अंग्रेजी साम्राज्यवादका विरुद्ध बलभद्र, भक्ति, अमरसिंह र भीमसेन थापाहरूको उत्पत्ति भयो । गणेशमान सिंह र बीपी कोइरालाजस्ता राष्ट्रवादी नेतृत्व पंक्ति हुर्काए । नेपालको रोग, शोक र राजतन्त्रको समान्तवादी प्रवृत्तिलाई जरैदेखि उखलेर फाल्न प्रखर वक्ता एवं राष्ट्रवादी जननेता मदन भण्डारीको उदय गराए ।


ADVERTISEMENT

नेपाली जनताले जे जति त्याग र बलिदानी गरे, उद्देश्य एउटै थियो, राजनीतिमा सृजनशीलता, जनप्रतिनिधिमा जनताप्रतिको प्रतिबद्धता र नागरिक अधिकारको ग्यारेन्टी तथा नेपाली क्रान्तिको सारको रूपमा रोग, भोक र शोक अन्त्य एवं भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल तथा नेपाली समाज निर्माण ।

परम्पराकालदेखि वीर शहीद र राजनेताहरूले गर्दै आएको बलिदान र भूमिका अहिले पनि निकै अर्थपूर्ण, घतलाग्दो र सान्दर्भिक नै छन् तर हामी अहिले भिन्नै परिवेशमा देश निर्माण र विकासको प्रक्रियामा छौं । सानो उत्पादनको बाहुल्यता, औद्योगिक र संगठित क्षेत्रमा श्रम गर्ने सीपयुक्त जनसंख्याको कमी तथा सामाजिक क्षेत्रमा चेतनास्तर कमजोर भएको हाम्रो जस्तो मुलुकमा साँचो अर्थमा राष्ट्रनिर्माण निकै चुनौतिपूर्ण विषय बनेको छ ।

नेपालको विशिष्ट अवस्थाको कारण राजनीतिमा भर्ना हुने हाम्रो मुहान धमिलो छ । राजनीतिमा प्रवेशपछिका नेता, कार्यकर्ता सफाइ गर्ने हाम्रो मेसिन पनि दुरुस्त छैन । समाज सेवाको पवित्र लक्ष्य र समाज रूपान्तणको निस्वार्थ योगदान गर्ने भावनालेभन्दा पनि निजी र पारिवारिक हितका लागि पुँजी आर्जन गर्ने उद्देश्यले राजनीतिमा आउने बाढीको लहर निकै चलेको छ । राष्ट्रले जति–जति सफलता प्राप्त गर्दैछ, समाज जति–जति समृद्ध र खुला बन्दैछ देश निर्माण र विकासका क्षेत्रमा त्यति नै चुनौति पनि थपिँदै गएका छन् ।

जति माथि उडे पनि धर्ति बिर्सनेहरूले घर बनाउँदैनन् भनेझैं राजनीतिमा प्रवेश गर्नासाथ मैले के पाउँछु भन्ने हिसाब किताब गर्ने, वान्छित गन्तव्य प्राप्त भएन भने समाजप्रति नै नकारात्मक बन्ने, निहित स्वार्थका लागि नोकरशाही पना, विखण्डन र अस्वस्थता प्रदर्शन गर्ने, राष्ट्रको एकता, आदर्श र भूमिकालाई कमजोर पार्ने प्रवृत्ति हामी कहाँ आमजस्तै बन्ने गरेको छ । यस्तो राजनीतिक प्रवृत्तिले राष्ट्रमा चुनौति खडा त गरेको छ नै, देशको पहिचान, प्रभावकारिता र देशको छविलाई नै प्रभावित बनाएको छ ।

राजनीतिक पार्टी, राजनेता र राष्ट्रसेवकहरूको भूमिका, आचरण र आत्मसाथ गरिएको मार्गदर्शनले नै देश विकसित र समृद्धिको दिशामा अगाडि बढ्ने हो । रुसमा लेलिनले सत्ता सञ्चालन गर्दा राज्य सञ्चालन गर्ने सञ्चालकको शुद्धतामाथि विशेष जोड दिनुभएको थियो । उहाँको कथन थियो– ‘हाम्रो जिम्मेवारीको दृढता, संगति र शुद्धताको रक्षा गर्नु हाम्रो कर्तव्य हुनेछ, राज्यसत्ताको पद र महत्त्वलाई उच्च—उच्च र अझै उचो उठाउन हामीले कठोर प्रयत्न गर्नैपर्छ ।’

पार्टीको केन्द्रीय भूमिका र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको लोकप्रियताका कारण नेपाली जनताले भारी मत दिएका हुन् भन्ने हेक्का नराख्ने स्थानीय तहका जनप्रतिनिधिको एकपक्षीय र पार्टीका नेता, कार्यकर्ताविरुद्धको घमण्ड तथा निरंकुश शैलीले हाम्रो पार्टी निर्माणमा गम्भीर चिन्ता र चासोको थपेको छ ।

यो लेलिनको भनाईले किन महत्त्व राख्दछ भने राजनेता र राज्यको पदीय जिम्मेवारी लिइरहेकाहरूले यसो गरेमा मात्र आफ्नो राजनीतिक पहिचान र ओजस्विता कायम राख्न सक्दछन्, जसले गर्दा तिनीहरूलाई आफ्नो ऐतिहासिक अभिभारा बहन गर्न सक्षम तुल्याउँछ ।

हाम्रो सन्दर्भमा हेर्दा हिजो पनि कम्युनिस्ट पार्टीको अल्पमतकै सरकार भएपनि पटक–पटक सत्ता सञ्चालन गरेको र अहिले भारी मतका साथ एकमना बहुमतप्राप्त गरी राज्य सञ्चालनको केन्द्र भागमा रहेर जिम्मेवारी प्राप्त गरेको सरकारमा छौं र भोलि पनि राज्यको नेतृत्व निरन्तर गरिरहन सक्ने सम्भावनाप्रति जनताको आक्रर्षण स्वभाविकै बनेको छ । तर जटिलता र कठिन कार्यशैलीले कम्युनिस्ट पार्टीप्रतिको आकर्षण भने कमजोर हुने हो कि भन्ने आशंका जन्माउन थालेका छन् । हिजोका जननेता मदन भण्डारीको आदर्श र व्यवहारहरूलाई नजरअन्दाज गर्ने र उहाँका त्याग र निस्वार्थ भावबाट अलग्याउँदै गरेको नेतृत्व र कार्यकर्ता पंक्तिको वैचारिक स्खलन प्रवृत्तिले हामीलाई कहाँ पुर्‍याउँछ भन्ने अन्यौल बनेको छ । 

पार्टीको केन्द्रीय भूमिका र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको लोकप्रियताका कारण नेपाली जनताले भारीमत दिएका हुन् भन्ने हेक्का नराख्ने स्थानीय तहका जनप्रतिनिधिको एकपक्षीय र पार्टीका नेता, कार्यकर्ताविरुद्धको घमण्ड तथा निरंकुश शैली हाम्रो पार्टी निर्माणको गम्भीर चिन्ता र चासोको विषय बन्न थालेको छ । विश्वास गर्ने जनता, रातौं दिन खटेर विश्वास दिलाउने कार्यकर्ता र नीतिगत नेतृत्वको जिम्मेवारी सुम्पने पार्टी कमिटीलाई निर्वाचित जनप्रतिनिधिको अगाडि निकम्मा बन्ने परिस्थिति बनाउनु पक्कै पनि भविष्यको शुभ संकेत होइन र हुन सक्दैन पनि ।

जतिपनि श्रमजिवी सर्वहारा सरकार, कम्युनिस्ट सत्ता सञ्चालन भइरहेका राष्ट्रहरू छन्, त्यहाँका अधिकांश देश र प्रणालीहरू सबै कार्यकर्ता माथिको भरोसा र विश्वासले मात्रै सामाजिक उद्देश्य प्राप्तिको शिखर चुमेका छन् । चाहे चीन, भियतनाम, क्युबा वा रसियाका कुरा गरौं, हरेक समुदाय, वर्ग वा क्षेत्रका सम्पूर्ण समाजवादी प्रक्रिया र पद्दतिहरूमा कम्युनिस्ट कार्यकर्ता, नेता र नेतृत्वकै भूमिका अब्बल दर्जाको दर्ज भएको छ ।

जनता र कार्यकर्तासँग नजोडिएको पार्टी र सरकार राजसंस्था जस्तै हुन्छ भन्ने लेलिनको भनाइलाई हेक्का नराखेर अगाडि बढ्ने हो भने हामी इमान गुमाएका सत्ता पक्ष हुनेछौं, तर गौरवशाली राज्य सञ्चालनको बिल्ला हाम्रो सामाजिक जीवनबाट अपहेलित हुने कुरामा कुनै अतिसयोक्ति हुने छैन । कार्यकर्ताको कदर नगर्ने नेतृत्वले कहिल्यै प्रगति गर्दैन र जतिमाथि उडे पनि घर बिर्सनेहरूले घर बनाउँदैनन तसर्थ मेरो पूर्वानुमान सफल नबनोस् र हाम्रो राजनीति अबको देशमा पोथा नबनोस् । 

हामीलाई थाहा छ– क्रान्तिको बच्चा जन्माउन जनता आफैं बल प्रयोग गर्दछन् । कम्युनिस्ट पार्टीले मात्रै सुडेनीको काम गर्नुपर्छ, बच्चा त आमाले आफैं जन्माउँछिन् । हे मार्क्सवाद ! हे लेलिनवाद ! हे मनमोहन ! र हे मदन भण्डारी ! हाम्रा भाषण र दस्ताबेजले मात्रै नेपाली राजनीतिमा जनताको जनवादलाई शीर्ष स्थानमा स्थापित गराउन सकिने छैन । सबैभन्दा खुशीको देश त्यो हो, जहाँ जनता शिक्षित हुन्छन्, सबैभन्दा समृद्ध देश त्यो हो जहाँ जनता जिम्मेवार हुन्छन् । कम्युनिस्ट सरकार भएका समाजवादी देशहरूमा अनुशासनलाई प्राथमिकता दिइन्छ, तर दण्डस्वीकार्य गर्न सकिँदैन । कार्यकर्ताको सहभागिता अनिवार्य हुन्छ ।

राजनीतिक नेतृत्व भ्रष्टाचार, कुशासनका विरुद्धमा खनिएर अगाडि बढ्छ । हामी त्यस्तै समाज र राष्ट्रको पक्षमा छौं र चाहन्छौं । अहिलेको निर्वाचनको प्राप्ति सामाजिक व्यक्तित्व राजनीतिक रूपमा समाजवादी र आर्थिक रूपमा पुँजीवादी हाम्रो दर्शन नबनोस् । गलत कुरा छोड्नु र सत्यको अन्वेषण गर्नु सामाजवाद र मार्क्सवादको शिक्षा हो ।

हाम्रो ७० वर्षको संघर्षबाट प्राप्त गरेको राज्यसत्ता केवल सुुखद् सन्देश बाँड्ने साधन मात्र नभएर देश विकास र जनताको सुशासनको विस्फोट गराउने हतियार पनि हो । हाम्रो राजनीतिक स्वाधीनताको मूल्यमा कुनै पनि तह वा सत्ताको गैरराजनीतिक चरित्रलाई सेवा, सुविधा र पहुँच मात्रै स्वीकार गर्न सकिँदैन । चीन र क्युवाजस्ता कम्युनिस्ट मुलकहरूमा निजी सम्पत्ति आर्जन गर्न र गैरआर्थिक क्रियाकलाप गर्न कुनै पनि मूल्यमा स्वीकार गरेको देखिँदैन, तर हामीकहाँ कसरी कमाउने र सार्वजनिक पदमा फेरि जान पाइएन भने यही हो जीवन र परिवार समृद्धिको समय भन्ने उद्देश्यबाट निर्देशित भएका लक्षणहरू व्याप्त देखिन थालेका छन् । 

जटिल र पूर्वाअनुमान गर्न नसकिने हाम्रो राजनीतिक परिस्थिति एवं चुनौतिपूर्ण कठिन आन्तरिक सुधारको परिस्थितिबाट गुज्रिरहेको राजनीतिक स्थायित्व सहितको प्रगति कायम राख्न हामीले कडा परिश्रम र दुरदर्शी राजनीति गर्नुपर्नेछ । यति बेला हाम्रो काँधमा आएको अभिभाराको गरिमा र नेपाली समाजमा उत्पत्ति भएका वर्तमानका तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्यहरूको अपार कार्यभारको महत्त्वले देशका सर्वपक्षीय विकास सुदृढ गर्न यसको समुन्नत चरित्र एवं शुद्धता कायम राख्न अझ धेरै काम गरिरहनुपर्ने दिशानिर्देश हामीलाई गरेको छ ।

सच्चा हृदयले जनताको सेवा गर्ने प्रतिवद्धता कायम राख्दै सधैं जनताको हितलाई मुखरित गर्न सकिएन भने हाम्रो राज्य सञ्चालनको गौरव गिर्नेछ ।

सरकार, राज्य र पार्टी प्रणालीभित्र रहेका अन्तरनिहित सिद्धान्तहरूलाई व्यवहारको प्रक्रियामा कार्यान्वयन गर्न चाल्नुपर्ने दृढ कदमले भावी पुस्ताको जीवनशैलीमा अथक महत्त्व राख्नेछ । त्यसकारण हामी मार्क्स, लेलिन र नेपालको सन्दर्भमा मदन भण्डारीबाट सिक्नुपर्दछ कि पार्टी, सरकार र सामाजिक जीवनमा पारदर्शिता र शुद्धताका कथनहरू । माओले भने जस्तै हाम्रो क्षमता, योग्यता र इमान्दारिताको सत्यता विचारधारात्मक रूपमा, राजनीतिक, संगठनात्मक र कार्यशैलीका रूपमा अभिव्यक्त हुने गर्दछन् । यतिबेला संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार प्रायः हाम्रो नै बहुमत स्थापित भएको छ । मार्क्सवाद र यसका मूल नियमहरूको आधारमा हाम्रा हरेक पक्ष र क्षेत्रका संरचनागत विधा, सैद्धान्तिक उपलब्धिलाई कार्यान्वयन गर्दा मार्गदर्शक सिद्धान्तकारूपमा निरन्तर आत्मसाथ गरून् । नेपाली समाजका ज्वलन्त हाम्रा आदर्शप्रतिको दृढ आस्था कायम रहुन् ।

जनताबाट जनतासम्मको कार्यपद्धति अविचलित बाँचिरहोस् । मनोगतवाद औपचारिकतावाद र नोकरशाही कार्यशैली तथा व्यक्तिगत लाभका लागि अख्तियारको दुरूपयोग, कपट र स्वैच्छाचारी निर्णय प्रक्रिया र भडकिलोपना जस्ता अस्वस्थ आचरणहरू मृत्युको शय्यामा जलुन् । सच्चा हृदयले जनताको सेवा गर्ने प्रतिबद्धता कायम राख्दै हामीले सधैँ जनताको हितलाई मुखरित गर्न सकियोस् । हरेक तहका सरकारमा हाम्रो सृजनशीलता, संयोजन र प्रभावकारिताले सर्वाधिक महत्त्व छाड्ने छ । यसले कम्युनिस्ट पार्टी बलियो हुनेछ । स्वयं राष्ट्र निर्माणको स्वस्थ विकास हुनेछ । यदि हाम्रा यी पक्षहरूमा नजरअन्दाज गरियो भने हाम्रो राज्य सञ्चालनको गौरव गिर्नेछ ।

हाम्रो प्रभावकारिता गुम्नेछ । समृद्ध समाज निर्माण गर्ने हाम्रो सपना तुहिनेछ । हामीले ७० वर्षदेखि आर्जन गरेका सैद्धान्तिक योग्यता, क्षमता र मूल्यमान्यता तथा इमान्दारिताका हतियारहरूमा खिया लाग्नेछ । क्षमतामाथि चुनौति खडा हुनेछ र हाम्रो अगुवायी गुमाउने, जनताबाट अलगाव हुने तथा पहलकदमीको अभावमा भ्रष्टाचारको बढ्दो खतराको सामनामा उभिने छौं । सामाज सुधारका हाम्रा सैद्धान्तिक कुञ्जीहरूको सदा—सदा अवमूल्यन हुनेछ । जनताको भविष्यमाथि हामी कदापी हमला गर्दैनौं । यदि त्यसो गरेमा हामी सत्तामा बसिरहनलायक हुनेछैनौं । त्यसैले वर्गीय र पक्षपातपूर्ण मूल जरोको अन्त्य गर्न जन्मिएका हामी एक अनुसन्धानकर्ताले समस्याको व्याख्या मात्रै गर्दैनौं, आलोचना पनि गछौं । समालोचना पनि गर्छौं । विकल्प पनि दिन्छौं र नेपाल तथा नेपाली जनताको भविष्य निर्माण गर्ने सिद्धान्त, व्यवहार र समाधान पनि जन्माउँछौं ।

यसमा केन्द्रदेखि गाउँ तहसम्मका सरकार, पार्टी र कार्यकर्ता पंक्ति समेत सचेत, निर्देश र निर्णयको पक्षमा लामवद्ध बनोस् तथापि हाम्रो गरिमा र समाज निर्माणको सन्दर्भ कदापी नगुमोस् ।

(लेखक : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका नेता हुन् ।)
 

असार ३२, २०७५ मा प्रकाशित

डण्डीप्रसाद शर्मा

शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतका नेता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस