शताब्दीका खुशीहरू र भाग्यमानी पुस्ता

साउन २, २०७५

एक्काईसौं शताब्दी शुरू हुनुअघि नै यस शताब्दीमा मानव जीवनले पाउने उपलव्धि र ती उपलव्धि लिनका लागि गरिनुपर्ने तयारीका विषयमा थुप्रै चर्चा–परिचर्चा गरिएका थिए । धेरै मानिस खुशीले गदगद भएका थिए कि मानव प्रयासका उपलब्धिहरू एक्काईसौं शताब्दीमा यत्रतत्र देखिनेछन् । यसले समस्त मानव जीवनलाई अकल्पनीय अवसर दिनेछ, परिणामतः मानव जीवनले यसअघि कहिल्यै नभोगेको खुशी अनुभूति गर्नेछ ।

केहीको मत थियो – उपलव्धि र अवसरहरू घर आँगनसम्म आइपुगेपनि ती सबैको लागि चाँदीको किस्तीमा त्यत्तिकै सजिएर आउने छैनन्, यसलाई उपभोग गर्न भने खास क्षमता चाहिन्छ जुन आम सर्वसाधारणमा हुनेछैन । तर धेरैको तर्क थियो, शताब्दीका अवसर र खुशीहरू सबैले आआफ्नै आवश्यकता र स्वादमा लिनेछन् । दुवैखाले बहस तार्किक थिए तर सत्य यो हो कि अहिलेको मानव समुदायले अघिल्लो शताब्दीमा कल्पना नै नगरिएका सुख र खुशी पाएको छ । मानौं स्वर्ग भन्ने केही कुरा छ भने एक्काईसौ शताब्दीले त्यसको अनुभूति जीवनकालमै दिइरहेको छ ।


ADVERTISEMENT

ठूला मानिसका स्वैरकल्पना पनि मानव प्रयत्नले यथार्थमा परिणत भएका छन्, जसको परिणाम यस शताब्दीको सुख हो । जर्ज अर्वेलको ‘१९८४’, एल्डस हक्सलीको ‘द ब्रेभ न्यू वर्ल्ड’ लगायतका पुस्तकमा गरिएका कल्पनाभन्दा बढी नै उपलब्धि कल्पना गरिएको समयसीमाभन्दा अघि नै पूरा भए । त्यसो त अघिल्लो शताब्दीमा पनि तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीले कसैगरी साठीको दशकभित्रै चन्द्रमामा मानव पाइला (त्यसमा पनि अमेरिकी नागरिकको) टेकिनुपर्छ भन्ने निर्देशनलाई पनि वैज्ञानिकले केही वर्षभित्रै पूरा गरिदिए । अहिले अघिल्लो शताब्दीमा कल्पना मात्र गरिने अन्तरिक्षयात्रा पनि सहज रूपमा सम्भव भइसकेको छ ।

जैविक प्रविधि, क्लोनिङ, टेस्टट्युब बच्चाको जन्मबाट प्रकृतिमाथि नै मानव प्रयत्नले चुनौती दिइसक्यो । गोलार्द्धका एक कुनाका मानिस क्षणभरमा नै अर्को कुनामा रहेको आफन्तसँग हत्केलामा स्पर्श गरिरहेको छ । ठूलठूला वार्ता र संवादका लागि हजारांै माइलको हवाईयात्रा तय गर्नुपर्दैन, भिडियो कन्फेरेन्सले आफ्नै कार्यकक्षबाट सम्भव तुल्याइसकेको छ । विचार र समाचार प्रवाहको मार्ग अनवरत खुला छ ।

केहीअघि आफ्नो आईफोन कोरियाको इन्चेन विमानस्थलमा हराएर चिन्तामा परेका नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत रावत आफूसँग भएको आईप्याडबाट नै हराएको आईफोनको ट्र्याक गर्न र कतिपय महत्त्वपूर्ण सूचना अरूले थाहा नपाउनेगरी ब्लक गर्न सफल भए ।

आईफोन र आईप्याडको आफ्नै सम्बन्ध छ । यन्त्र–यन्त्रको सम्बन्धले एकले अर्कोको क्षतिलाई कसरी बचाउँछ भन्ने सानो उदाहरण मात्र हो यो । यस्ता कैयन् उदाहरण छन् जसले कल्पनाका कुरालाई क्रमशः यथार्थमा साकार तुल्याउँदै ल्याएको छ । मानौं अब प्रविधिले संवेदना पाइसक्यो ।

प्रविधिले नै ठूलो र जटिल विश्वलाई सानो र सरल बनायो, विश्वलाई सानो सीमाभित्र खुम्च्याएर आफूअनुकूल उपयोग गर्न सम्भव तुल्यायो । कल्पनाको स्वर्ग अब हाम्रो धर्तीमा झरिसक्यो । असीम अवसर र सुखको अवस्था नै स्वर्ग हो भने मानव प्रयत्नले त्यसलाई हाम्रै जीवनमा र अनुभूतिमा सम्भव तुल्याइदिएको छ । यो चाहिँ कल्पनाको होइन, यथार्थको स्वर्ग हो । कल्पनाको स्वर्ग छ–छैन, यथार्थमा चाहि स्वर्ग भेटिएको छ ।

शताब्दी (सहस्राब्दी ?) का सुखहरू कसले उपयोग गरे ? भनिएला अवसरहरू लिनमा जहिले पनि सक्षम र सम्पन्नहरू नै खप्पिस छन् । हो पनि । तर यस शताब्दीका खुशीको हिस्सेदार प्रायः सबै मानिस बनेका छन् । युवाहरू यस क्रममा अग्रपङ्क्तिमा छन् । स्वाभाविक रूपमा अवसरको उपभोग युवा उत्साहले बढी नै गर्दछ । युवा उत्कण्ठा र उन्मादले नै आविष्कार र अग्रगमनलाई पनि सहज पार्ने गरेको छ ।

प्रविधि अभ्यस्त युवाहरू प्रत्येक वर्ष नयाँ पुस्ताका रूपमा बदलिँदै गएका छन् । यो रूपान्तरणको प्रक्रियालाई प्रविधिले औधी सघाएको छ । उसले पढ्ने, बोल्ने, मनोरञ्जन गर्ने, मेहनत गर्ने, व्यवहार शैली सबै बदलिएको छ । लवाइखवाइ, रहनसहन र आशा–अपेक्षाहरू फेरिएका छन् । ऊ समूहबाट व्यक्तिकेन्द्रित बन्दै गएको छ ।

मानिसलाई आवश्यकता र अवसरले पनि आफूकेन्द्रित हुन सिकाएको हो । स्टिभ जब्स, मार्क जुकरबर्ग, साबिर भाटिया, ल्यारी पेज, सर्गेई वीन, एलोन मस्क जस्ता कैयन् युवाहरूको आवश्यकता र असन्तोषले युवाहरूलाई बढी नै खुशी बनाएको छ । उनीहरूका सिर्जना नै युवा समुदायका लागि अलौकिक अवसर बन्न पुगे ।

युवाहरू सञ्जालीकृत समाजमा सुखसयलमा मग्न छन् । प्रेम, खुशी, सद्भाव, सहयोग, संवेदना र प्रयत्न साटफेरलाई टचस्क्रीनबाटै सम्भव तुल्याइएको छ । कसले हिसाब गरेको छ – यसले कति समय र रकमलाई बचायो भनेर ? युवाहरूलाई थाहा छ, उनीहरूले अझै थुप्रै खुशीहरू प्राप्त गर्न बाँकी छ र शताब्दीका प्रविधिशिल्पीहरूले उसका हातमा बाँकी अवसर पनि छिट्टै सुम्पनेछन् । यो क्रमले आकस्मिक नभई अभियानकै लय समातेको छ ।

शताब्दीको सुखभोगीहरूमा विद्यार्थीको नाम पनि अग्रपङ्क्तिमा आउँछ । अघिल्लो पुस्ताले पाएको दुःख र भोगेको नियति उसका लागि दन्त्यकथा बनिसक्यो र अहिलेको पाठशाला पनि स्वर्गमा परिणत भएको छ । अघिल्लो पुस्ताले प्रयोगमा ल्याएको कालोपाटी, किताब, कापी र कलमहरूले परम्परागत अस्तित्व र महत्त्व गुमाउँदै गएका छन् । टचस्क्रीन, नोटप्याड र ससाना चिपहरूले विद्यार्थीको भारलाई घटाएको छ । हत्केलामा अटाउने स्मार्टफोनका स्क्रीनमा दर्जनौं किताबका डिजिटल प्रतिहरू पढ्न सकिने भएको छ ।

मानिसलाई आवश्यकता र अवसरले पनि आफूकेन्द्रित हुन सिकाएको हो । स्टिभ जब्स, मार्क जुकरबर्ग, साबिर भाटिया, ल्यारी पेज, सर्गेई वीन, एलोन मस्क जस्ता कैयन् युवाहरूको आवश्यकता र असन्तोषले युवाहरूलाई बढी नै खुशी बनाएको छ ।

छडी र डस्टर लिएर विद्यार्थी अघिल्तिर उभिने अजङ्गको शिक्षक अब बिस्तारै हराउँदैछ र कम्प्युटरको पर्दामा विद्यार्थीअनुकूल रूप, समय र शैलीमा आउन थालिसक्यो । माथिल्ला कक्षाहरूमा कम्प्युटरले भर्चुअल स्कूलको रूप लिएको छ । बडेमानका पुस्तकालयहरू भर्चुएल पुस्तकालयमा बदलिएर ज्ञानको अथाह सागर घोप्ट्याइरहेका छन् ।

ज्ञान आर्जनको भौतिक, भौगोलिक र सामयिक सीमा पनि भत्किइसके । नचिताएका सञ्चार र शिक्षणका माध्यम क्रियाशील छन् । यसले पुराणहरूमा उल्लेख गरेको तिलस्मलाई पनि उछिनेर स्वर्गीय अवस्थाभन्दा पनि माथिल्लो अवसर ल्याएको छ । दूर शिक्षण विधिबाट पढ्ने र पढाउने माध्यम खुला   छन् । परम्परागत पाठ्यक्रम र पाठ्यशालाका औपचारिक सीमा ज्ञान आर्जनका खातिर बाधक थिए । अहिले जसले जहाँ जति चाहन्छ, त्यतिखेर नै ज्ञान उभाएर लिनसक्छ, हिजोको प्रयासले जिज्ञासुका लागि ‘ब्रेनक्याप’ लगाइदिएको छ ।

यस शताब्दीले शिक्षाको परिभाषा पनि बदलिदिएको छ, शैक्षिक अनुष्ठानमा निश्चित अवधि लगाएर निर्धारित पाठ्यक्रममा लिने शिक्षा अब शिक्षा होइन, यो जीवनभरिको सिक्ने प्रक्रिया हो । प्लेटो, एरिस्टोटल, रूसो र जोहन डिवेले दिएको शिक्षाको परिभाषा निकै सङ्कुचित बने । अब शिक्षाले ज्ञान मात्र होइन, सीप दिनसक्नुपर्छ ताकि जीवन निर्वाहको सीपले व्यक्तिलाई स्वाभिमानी बनाउन सकोस् ।

आर्थिक गतिविधितर्फ हेरौं । उन्नाईसौं शताब्दीमा सामान्य इन्जिनले ल्याएको तहल्का बीसौं शताब्दीमा इलेक्ट्रोनिक प्रविधिले विस्तार गर्‍यो । तर एक्काईसौ शताब्दी तेस्रो आर्थिक क्रान्तिका रूपमा देखापर्‍यो । सेवावस्तु उत्पादनका लागि ज्ञान र सूचना यस शताब्दीका कच्चा पदार्थ बने । र अर्थतन्त्र ज्ञानमा आधारित भयो । यो प्रक्रिया निरन्तर तीव्रतर छ ।

उन्नाईसौं शताब्दी युरोपको थियो, उनीहरूले नै वाष्पशक्ति तथा पेट्रोल इन्जिन विकास गरेर तहल्का मच्चाएका थिए । बीसौं शताब्दी अमेरिकाको बन्यो । अब यस शताब्दी उदीयमान एसियाले बाजी मार्ला कि भन्ने भएको छ । तर भन्न सकिन्न, अमेरिकीहरू हरेक दृष्टिले एक्काईसौ शताब्दी आफ्नो बनाउन सकिने कुरामा ढुक्क छन् र यसै अनुरूपको अभियानमा पनि । उसलाई थाहा छ, विगतको आर्थिक सफलता यस शताब्दीका लागि पनि आधार बन्नेछ । उता युरोपेलीहरू आफ्नो मुद्दा आर्थिक—औद्योगिक मात्र भएकाले उन्नाईसौं झै एक्काईसौं शताब्दी आफ्नो बन्नेमा आशावादी छन् ।

युरोपेलीहरू संसारकै सबैभन्दा बढी सुखी देखिँदै पनि आएका छन् जसका कारण पनि यो आशा पूरा नहोला भनेर कसरी भन्ने ? एसियाली मुलुकहरू अब आफ्नो पालो हो भनेर आर्थिक क्रान्तिको प्रतिस्पर्धामा सतत छन् । यस अभियानलाई साथ दिन जापान, कोरिया, सिङ्गापुरलाई अब चीन, भारत, मलेसिया, भियतनामले पछ्याइरहेका छन् । तर के भन्न सकिन्छ भने एक्काईसौं शताब्दी कुनै महादेशको नभई सीमाहीन आर्थिक क्रान्तिका रूपमा देखिनेछ । र राष्ट्रराज्यहरू भन्दा लगानीकर्ता, अन्वेषक र बहुराष्ट्रिय कम्पनीहरूको युग हुनेछ । प्रविधिले यसलाई सघाउनेछ ।

लगानी विश्लेषण, पूँजीप्रवाह, उत्पादन, बजारीकरण प्रक्रियादेखि वितरण र उपभोग व्यवस्थापनलाई प्रविधिले सहजीकरण गर्नेछ । त्यसैले यो शताब्दी ‘प्रविधि–अर्थतन्त्र’ को शताब्दीका रूपमा स्थापित हुँदैछ । विश्वको एक कुनाको सम्भावना अर्को कुनाबाट उपयोग हुनेछ, त्यस्तै एक कुनाको आवश्यकता अर्को कुनाको सम्भावनाबाट पूरा हुनेछ । अदृश्य नियमनबाट आर्थिक प्रक्रियाहरू निर्धारित र नियमित हुँदै जानेछन् । आर्थिक क्रियाकलापमा ज्ञानको हिस्सा बढ्दै जाँदा उत्पादनको गुणस्तर बढ्ने तर लागत र समय घट्दै जानेछ ।

उत्पादनका प्रक्रियामा स्वच्छ र हरित संयन्त्रको उल्लेख्य प्रयोग हुनेछ जसले प्रकृतिको सीमित साधन भण्डारलाई पुनरुत्पादन र उपयोग गर्न सघाउनेछ । अर्को उल्लेख्य पक्ष भनेको यस शताब्दीमा सामाजिक–राजनीतिक शक्तिलाई आर्थिक शक्तिले विस्थापन गर्दैछ । सूचना मार्गले अपत्यारिलो रूपमा आर्थिक सम्भावनाको दोहन सामर्थ्य बढाउँदै लगेको छ । अब शक्तिराष्ट्रहरू प्रविधि, अन्वेषण र सामाजिक सुरक्षामा केन्द्रित भएर मानव जीवनको सुख विस्तारका लागि सहजकर्ता बन्नेछ ।

एक्काईसौ शताब्दीमा घर परिवार पनि प्रविधि र ज्ञानको स्वादमा रमाइरहेको छ । भान्छादेखि शयनकक्षसम्म र जन्मदेखि मृत्युसम्म प्रविधिले राम्ररी सघाएको छ । विकसित मुलुकमा सबैजसो जोखिमपूर्ण काममा रोबोटहरू संलग्न भइसके । डेक्सटप पब्लिशिङ, कीबोर्ड, थ्रीडी प्रिन्टर्स, रेडियो सिग्नल, भर्चुअल वर्क, भर्चुअल रियालिटी, थ्रीडी चलचित्र आदि मानिसलाई सुख र खुशी पस्किरहेका छन् ।

कुनै पनि व्यक्ति आफ्नो स्तर र अवस्था अनुसार खुसी हुनसक्छ ? स्कूले बालक सुव्रतले उसको अस्टिनदेखि काठमाडौंसम्मको यात्रालाई रमाइलो बनाउन मनोरञ्जनका लागि खेल र पाठ्यसामग्री मोबाइल स्क्रीनमा कैद गरेछ । सङ्गीतकार आफूअनुकूल कम्पोजिसनका लागि एउटै यन्त्रलाई उपयोग गरिरहेका छन् – लियो सेयर र नारायणगोपालहरू जिउँदै थिए भने उनीहरूको सिर्जनालाई यसले कति सघाउँथ्यो होला ? एउटै यन्त्रलाई बहुउपयोगमा ल्याउन सकिनेगरी निर्माण भएको छ  ।

चालकविहीन मोटर निर्माणको काम गूगलले शुरु गर्‍यो । बिस्तारै ट्राफिक अपराध र मापसेको लफडा रहनेछैन । हवाईजहाज आईएफआरबाट उडाउनु सामान्य भइसक्यो । नेपालकै कुरा गर्ने हो भने पनि केहीअघि अर्घाखाँचीकी महिलाले रोजगारीका लागि विदेशिएका आफ्ना पतिसँग बेलुका थकानसँगै स्काइपमार्फत सञ्चो बिसञ्चो साट्ने गरेको खबर पत्रिकाले टिपेका थिए । अब उनलाई हप्तौंपछि त्यहाँ पुग्ने चिठी लेख्नुभन्दा फुर्सदमा सानो पर्दासामु उभिनु सजिलो भएको छ । टेलिमेडिसिनमार्फत बझाङकी रोगी महिलाको उपचार काठमाडौंबाट भएथ्यो ।

मनोरञ्जनका लागि उमेर, स्तर, समय, स्वभाव आदिका आधारमा अवसरहरू कोठा र मझेरी, पाकेट र पोल्टामा छताछुल्ल छन् ।

बसपार्कका भरियादाइको हातमा नाम्लोको साथमा मोबाइल पनि छ । गोठाला भाइहरू हँसिया र लौरोको साथ मोबाइलले दिन थाले । दिनभरि पसिना बगाउने गृहिणीहरू फुर्सदलाई आ–आफ्नै तवरले उपयोग गरेर रमाउनसक्ने भएका छन् । परम्परागत बुहारीहरू सिनेमाघरमा चलचित्र हेर्न जानु ठूलो कुरा थियो । अब त्यो अवस्था रहेन । वृद्ध आमाबुवाहरू पुराण, योग र निर्वाण शिक्षा, भजन–कीर्तनको स्वाद छानीछानी लिइरहेका छन् । मनोरञ्जनका लागि उमेर, स्तर, समय, स्वभाव आदिका आधारमा अवसरहरू कोठा र मझेरी, पाकेट र पोल्टामा छताछुल्ल छन् ।

दुई दशकअघि मनोरञ्जनका लागि नेपाली समाज गाईजात्रा र रसरङ्ग कार्यक्रम कुरेर बस्थ्यो । ससाना रेडियो विकिरणबाट शरीरको जटिल रोगको उपचार भइरहेको छ । अब कथा, कविता, मुक्तक, हाइकु, रिमिक्स, एलएनबी, लोकलहरी आदि केकेका लागि युट्युवको सहज उपलव्धता छ । ‘सुनकेस्रा’ को कथा र ‘सुपरम्यान’ को विज्ञान कमिकमा रमाउने बालकका लागि अब पीएसपीदेखि के उपलब्ध छैन ? मनोरञ्जनका साथ शिक्षा उसको शैली बनिसक्यो । अन्न अनाज र बिउबालीका हाइब्रिड जातहरू विकास भएका छन् ।

फिलिपिन्सको युवकले अमेरिकामा रहेको आफन्तको कम्प्युटर भारतीय इन्जिनियरमार्फत आधा घण्टामा नै मर्मत गराइदियो । के यी अवसरहरूले विश्वलाई स्वर्ग बनाएन र ? केहीअघि अठार वर्ष कोमामा रहेर बाँचेको पोलिस नागरिकले आफू व्यूझेर स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै ठीकै भनेछन् – ‘धर्ती त स्वर्ग भएछ’ । यी र यस्ता घटनाक्रमले सिद्ध गरिरहेको छ कि शताब्दीले ल्याएका सुखभोगका लागि बरू हाम्रै उमेर पो छोटो भयो ।

प्रविधिले हाम्रो उमेर पनि खुम्च्याउन सकिने अवसर छिट्टै ल्याओस् । जवानी पार गरेर जीवनको मध्यावस्था ढल्केको मानिस मनमनै भन्दै होला – मेरो उमेर घटाउन (पुनः किशोर हुन) पाए के के गर्ने थिएँ ! एकदिन यो पनि सम्भव नहोला भनेर कसले भन्न सक्छ ?

mainaligopi@gmail.com

साउन २, २०७५ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार