यो देशमा म एउटा ‘ली क्वान यू’ खोजिरहेछु ...

साउन ६, २०७५

परार साल अलजजिरा टेलिभिजनसँग कुरा गर्दै युएईको अबुधाबी राज्यका राजकुमार तथा युएई सैनिकका सर्वोच्च नायव कमान्डर शेख बिन जायद अल नेह्यमले भनेका थिए– ‘मेरो देशमा एक घण्टा मात्रै इन्टरनेट चलेन भने, एक घण्टा सडक जाम भयो भने, एक घण्टा अस्पतालमा सेवा रोकियो भने, एक घण्टा समुन्द्रमा पानी जहाज बगेनन् भने, एक घण्टा आकाशमा विमानहरू उडेनन् भने, एक घण्टा होटल–रेष्टुरेन्टको व्यापार बन्द गरियो भने, वा समुन्द्रमा एक घण्टा मानिसहरू झुम्मिन गएनन् भने सम्झ हामी सय वर्ष पछाडि धकेलिनेछौं ।

नेह्यमले आफ्नो अभिव्यक्तिलाई थप प्रष्ट पार्दै भनेका थिए– ‘किनभने हामीलाई सेकेन्ड–सेकेन्डको महत्त्व छ । हाम्रा पुर्खा र हामीले सेकेन्डको महत्त्व नबुझेको भए सायद हामीले ४० वर्षको बीचमा यो चमत्कारपूर्ण ढंगको उन्नति गर्ने थिएनौं । यहाँ सय देशका मानिसहरू सयथरी सपना साँचेर बाँचिरहेका छन् । तपाईंहरू मान्नुहोस्, एक प्रकारले यो सपनाहरूको देश हो, ज्युँदो सपनाको । दिवा सपनाको । यदि हामीले सपना देख्न भुलेका थियौं भने बालुवाको पहाडमा तिनै उँटहरूको मलमूत्र स्याहारेर बसिरहेका हुने थियौं ।’

हालसालै हाम्रा प्रधानमन्त्री केपी ओलीले गजबको कविता लेख्नुभएको छ– ‘म मरे पनि केही छैन, सपना देखिरहन पाउँँ, चन्द्रागिरिमा आएर जनताको हँसिलो मुहार हेर्न पाउँ ।’ सपनाहरूको आवरणमा कति फरक तिनको अनि हाम्रो । सपनाहरूको चाङमा कति भिन्नता छ, तिनको अनि हाम्रो । मरेपछिको सपना अनि ज्युँदो सपनामा त पक्कै भिन्नता छ । जे होस्, अब नेपाली इतिहासको पानामा केपी ओलीको नाम देशप्रेमी कविको रूपमा लेखिनेछ । किनभने नेपालको इतिहास यस्तै खतरा मोलेर अगाडि बढिरहेकै छ । तर अरबका गल्लिहरूमा को–को रोइरहेका छन्, यसो एक झलक अनुहार हेरौं, सबैभन्दा गम्भीर कविता त तिनको आँखामा झुल्किन्छ ओलीज्यू ।

हाम्रो मुलुक भने मार्सी चामलको भाते लफडा र डा. केसीको माफिया तह लगाउने भनिएको अनवरत अनशनका कारण महिनौंदेखि ठप्पै छ

एक किस्सा सिक्किमको पनि

सिक्किमको किस्सा पनि प्रेणादायी छ । हालसालै यो फकिर पङ्तिकार सिक्किम पुगेको थियो । मुख्यमन्त्री पवन चाम्लिङले बबाल काम गरेका रहेछन्, त्यहाँ । तिनले गरेको विकास देखेर पसिना नै निस्कियो । त्यहाँका जनताको अनुशासन, तिनका खानपिन, तिनका सरसफाइ .... कुरै नगरौं । युरोप अमेरिका होइन, सिक्किमबाट मात्र सिके पनि काफी हुन्थ्यो हाम्रा शासकहरूले  । 

सिक्किममा बाहिरको चामल ‘नो अलाउड’ । सिक्किममा बाहिरको तरकारी ‘नो अलाउड’ । सिक्किममा बाहिरको प्याज ‘नो अलाउड’, सिक्किममा बाहिरको माछामासु ‘नो अलाउड’ । सिक्किममा बाहिरको खैनी, चुरोट, रक्सी र बियर ‘नो अलाउड’ । सिक्किमा सबै चिज त्यहीँको स्थानीय अग्र्यानिक उत्पादन प्रयोग गर्नुपर्ने ।

हामी मगन्ते भयौं । कमाएर खानेभन्दा पनि कसैले देला र खाउँला भन्ने भयौं । कुनै मुद्दा उठ्दा तिनलाई छिटो सल्ट्याउन भन्दा पनि त्यही मुद्दामा टेकेर पार्टी गठन गर्नेतिर ध्यान दिनथाल्यौं ।

स्कूले नानीहरू जब प्लस टु पढ्ने हुन्छन्, सबैलाई ल्यापटप दिइनेरहेछ सिक्किममा । गरीबका नानीहरू को निःशुल्क शिक्षा । गरीब परिवार छन् भने तत्काल जागिर । अन द स्पट जागिर भन्दा पनि भयो । हाम्रोमा जस्तो कांग्रेसको विद्यार्थी, राप्रपाको विद्यार्थी, कम्युनिस्ट बेरोजगारी, फलना ठूलो मान्छेको आफन्त, फलना ठूलो हाकिमको भाइ, भजित, सानिमाको छोरा भनेजस्तो होइन । सबै सिक्किमेको समान उन्नति । त्यो पो हो विकास । त्यो पो हो समाजवाद । त्यो पो हो जनातको अनुहारमा खुशियाली । त्यो पो हो सपनाको यथार्थता ।

हाम्रोमा त सधैंभरी ल्याङल्याङ

हाम्रो मुलुक भने मार्सी चामलको भाते लफडा र डा. केसीको माफिया तह लगाउने भनिएको अनवरत अनशनका कारण महिनौंदेखि ठप्पै छ । मिडियाहरू पढ्यो यिनै डा. केसी, ट्विटर हेर्यौं यिनै डा. केसी, फेसबुक हेर्‍यौं यिनै डा. केसी, युट्युब हेर्यौं यिनै डा. केसी । केबल मार्सी चामलको भात, भात, भात अनि भात । केबल डा. केसीको अनशन, अनशन, अनशन अनि अनशन ।

इरिटेड नै भैसक्यो यार । हैन हाम्रा लागि समयको महत्त्व छैन भन्या ? समस्या चाँडो हल गरौं न । अस्पतालभित्र आन्दोलन छ, नो मतलब । डाक्टरहरू बिरामीको उपचार थाती राखेर आन्दोलन गर्छन्, नो मतलब । सडक जाम छ, नो मतलब । सियोदेखि चुरा पोतेसम्म, अनि यतिसम्म कि ब्रह्मणले लगाउने जनै समेत करडौंमा चीनबाट आयात गरिन्छ, त्यो पनि नो मतलब । सडक कहाँ भत्कियो, नाकाहरू कहाँ बिग्रिए ? नो मतलब । कृषिप्रधान देश भन्या छ, मुस्ताङका स्याउ कुहिएर जान्छन्, नो मतलब । जम्मुकश्मीरको स्याउ भने मिठो मान्दै टोक्या छ ।

यस्तो लाग्छ कि हामीलाई समयसँग कुनै सरोकार छैन । केबल मुद्दा मिल्यो भने हामी त्यो मुद्दाको खातिर वर्षौंसम्म खट्न सक्छौं । हामीलाई कुनै मतलब छैन, समयको र प्रतिस्पर्धाको । हामी अरुको देश देखेर पनि सिकेनौं । इखालु नै भएनौं हामी, मगन्ते भयौं । कमाएर खानेभन्दा पनि कसैले देला र खम्ला भन्ने भयौं । मुद्दा उठेका छन् भने तिनलाई छिटो सल्ट्याउने भन्दा पनि त्यही मुद्दामा टेकेर पार्टी गठन गर्ने ध्यान भयो । त्यसैले होला यतिबेला डा. केसीको अनशनको समर्थन र विरोधमा सबैजना आ–आफ्नै डम्फु बजाएका छन् ।

डा. केसीका बारेमा भन्नु केही छैन । ठूला कुलघरानका दिग्गज बुद्धिजीवीहरू नै भनुन्, सबैथोक । तर मात्रै चिन्ता के हो भने, यी सामान्य विभागीय विषय हुन् । सबै मिलेर युग अनुकूल कसैलाई नाफा–घाटा नहुनेगरी मिलाएर जान सकिन्छ । चिजहरू मिलाउन सकिन्छ । समस्यालाई लम्बेतान बनाउने काम नगरे राम्रो हुन्थ्यो । तर यो देशमा भयो के भने– पुलिसहरू पत्रकार जस्ता, पत्रकारहरू न्यायाधीशजस्ता, डाक्टरहरू नेताजस्ता, ड्राइभरहरू पाइलटजस्ता, किसानहरू मन्त्रीजस्ता, मन्त्रीहरू ठेकेदारजस्ता.... । वास्तवमा हामी सबै आफ्नो कर्मदेखि च्यूत भएका छौं ।

हामी मात्रै किन पछाडि ?

अरु धेरै थोक केही नगरौं, केबल गुगलमा पुरानो कोरिया र पुरानो नेपाल खोजौं, उस्तै–उस्तै देखिन्छन् । अनि नयाँ कोरिया र नयाँ नेपाल खोजौं, आकाश–पातलको फरक देखिन्छन् । हो हाम्रो समस्या यही हो । १९५० मा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले ध्वस्त पार्‍यो कोरियालाई । त्यहाँ पनि युद्ध, अशान्ति भएकै हुन् । एक कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बन्यो । रछ्यानमा फालेको भातको सिता टिपेर खाने स्थितिमा थियो कोरिया । तर आज एउटा कोरियाले नेपालीलाई कोटा छुट्ट्याएर काम दिएको छ । अर्को कोरियाले संसारलाई परमाणु शक्तिले हल्लाएको छ ।

हाम्रोभन्दा कमजोर जग, धरातल र स्वाधीनताको इतिहास भएका देशहरू पनि केबल एक नेताको सपनाका कारण कहाँदेखि कहाँ पुगे । सुकार्नोको सपनाले इन्डोनेसियाले ठूलो उन्नति गर्‍यो । महाथीर मोहम्मदको सपनाले मलेसिया आजको दुनियाँमा सफल देशको रूपमा उदाएको छ । तर तिनको केही दशकअगाडि मात्रैका जीवनयापन हेर्‍यो भने निकै अलपविकसित थिए । खै त हाम्रा राणा, शाह, कोइरला, भट्टराईहरूको सपना कहाँ हरायो ? मेलम्चीको पानि खोइ ?

सार्क देशकै अवस्था हाम्रोभन्दा धेरै माथि पुगे । पाकिस्तान सैन्य तागतका हिसाबले भारतलाई चुनौती बन्दैछ । भुटानको प्रगतिको कुरै नगरम्, निकै अगाडि बढ्यो । हाम्रो देशका शासकहरू भ्रष्टरचारमै रमाए । बंगलादेशका राष्ट्रपिता मुजिवर दिवंगत हुँदा उनले लगाएको पेटेगञ्जी च्यातिएको पाइयो । उनको बैंक खातामा न्यूनतमभन्दा बढी पैसा भेटिएन । त्यसैले आजको बंगलादेश कच्चा पदार्थको उत्पादन र मेडिकल क्षेत्रमा नामुद भएको छ ।

हामीले चीनबाट धेरै सिक्यौं । सबैभन्दा ठूलो कुरा त राजनैतिक दर्शन सिक्यौं । अनि चिनियाँहरूकै सिको गरेर युद्ध, आन्दोलनहरू भए । फलतः अहिले कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार छ । १९४९ मा सांस्कृतिक क्रान्ति शुरु गरेका थिए । माओत्सेतुङले तिनै माओका अनुयायी देङ सियाओ पिङ कम्युनिस्टतन्त्रमा खुलापन मिसाएर प्रगतिको यस्तो रसायन विकास गरे कि आज दुनियामा चिनियाँ प्रभाव फैलिएको छ । अनि बहुराष्ट्रिय कम्पनीहरू चीनभरि फैलिएका छन् ।

हामी किन पछाडि ? किनभने हाम्रा कम्नुनिष्ट पार्टीका नेताहरू निजी सम्पत्तिभन्दा मरिहत्ते गर्छन्  । विदेशमा उपचार गर्छन् । सबै चिजलाई निजीकरण गरेर यो देशको पूँजी निश्चित बर्गको हातमा थमाउन चाहान्छन् । आजको मितिमा हार्‍यो भने शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता जनताको मौलिक अधिकारहरू कुनै व्यापारीको घरमा थुप्रिएका छन् र ती अधिकारहरू बेच्न राखिएका छन् । मौलिक अधिकारहरू किन्न सक्नेले किन्यो रमायो । किन्न नसक्नेहरू मरे । यस्तै छ जिन्दगी ।

सिंगापुरबाट सिक्ने कि ?

ली क्वान यूको बारेमा धेरैले पढेको, जानेको र बुझेको हुनुपर्छ । किनभने उनी संसारका लागि एक ‘रोल मोडल’ हुन् । ली क्वान यू एसियाका सर्वाधिक चर्चित राजनेतामा पर्छन् । सिंगापुरमा हजारौं नेपालीहरू व्यापार, रोजगार गर्छन् । सिंगापुरको विकासका बारेमा दुनिया चकित छ । तर आजको सिंगापुर सानो मेहेनतले बनेकोे होइन । जम्मा तीन दशकको समय लगाएर ली क्वान यूले सिंगापुरको कायापलट गरिदिए ।

सिंगापुर आफैंमा स्वाधीन र सार्वभौम थिएन । सन् १९५९ मा बेलायतबाट स्वतन्त्रता पाएको सिंगापुरको पराधीनता त्यतिमा मात्रै सिमित भएन । फेरि सन् १९६३ मा सिंगापुर मलेसिया संघको केबल एक हिस्सा बन्यो । यसको २ वर्षमै सिंगापुर अलग भयो । प्रतिव्यक्ति आयका दृष्टिले मलेसियाभन्दा ६ गुणा बढी धनी छ र यसको श्रेय धेरैले लीलाई नै दिन्छन् । स्वाधीन र सावर्भौम अनि व्यापारको दृष्टिले विश्व कुटनीतिका दृष्टिले नेपाल सिंगापुरभन्दा धेरै अगाडि हो, तर स्थिति दुःखद् छ ।

अहिले सिंगापुर विश्वभरमै सफा र समृद्ध सहरका रूपमा चिनिएको छ । त्यहाँ काठमाडौंका चोकचोकमा जस्तो फोहोरका थुप्राहरू देखिँदैनन् । नेपालका गाँउमा जस्तो बेरोजगार युवाहरू भेटिदैनन् । बरु हजारौं नेपालीहरूले जागिर गरिरहेका छन्, त्यहाँ । सिंगापुर तेस्रो दुनियाँको पहिलो दर्जाको स्वर्ग हो भन्दा फरक नपर्ला ।

नेपालसँग एकसाथ उडाएको सिंगापुर एयरलाइन्स आज सारा संसारमा सिधा र कनेक्टिङ फ्लाइट गर्छ । हाम्रो वायुसेवाले साउदीका कामदार ओसार्न सकेको छैन । अस्ती २ वटा जहाज किन्दा ठूलै हंगामा भयो । मानौं यो हाम्रो हजार वर्षदेखिको महान सपना थियो । अनेकन पीडा र जालझेलका बावजुद् पनि सिंगापुर एरलाइन्सलाई लीले कसरी माथि उकासे ।

हाम्रो देशका नेता र शासकहरू सारकारी खर्चमा विभिन्न देश पुगेका हुन्छन् । तिनले ति विकसित देशहरूको भ्रमण गरेर के सिक्छन्, के जानेर आउछन् र त्यो लागू गर्छन् ?

हाम्रो देश नेपाल पर्यटनका लागि अधिक सम्भावना बोकेको देश हो भनिन्छ । तर पर्यटनकै कारण नेपालीको पेट पालिएको र रोजगारी मिलेको थाहा छैन । हेलिकप्टर व्यापारीहरूले फेक रेस्क्यू गरेर दाम कमाएका होलान् । फाइभ स्टार होटलवालाहरूले डलर कमाएका होलान् । तर त्यो पर्यटन जनताको जगबाट उठेको होइन । अहिलेको कुरा नगरौं, सन् २००५ मै सिंगापुर भ्रमण गर्ने विदेशी पर्यटकको वार्षिक संख्या आठ दशमलव नौ मिलियन रहेको थियो । 

पुरानो सिंगापुर हालको नेपालजस्तै थियो । सडकमा गाईवस्तुहरू असरल्ल रल्लिरहेका हुन्थे । एक पटक सहरकै चर्चित वकिलले सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर मारेपछि दंगा नै भएको थियो । ली क्वानले उर्दी गरे– हाँस र गाईबाख्रा सडकमा छाड्यौ भने प्रहरीले तिनलाई पक्रेर काट्ने अनि तिनको मासु खानेलाई सित्तैमा बाँड्ने छ । त्यसपछि बाटोमा छाडिएका चौपायाहरू समातेर भटाभट काट्न थालियो । तिनको मासु बाँडियो । अन्ततः सिंगापुरको सडक विश्वको नमुना सडकको रूपमा चिनियो ।

नेपालमा पनि सडकमा चौपाया मारिदिए हर्जना तिर्नुपरेको उदाहरण धेरै छन् । केही वर्षअगाडि बाइकले हाँस मार्दा कोहलपुरमा सानोतिनो झडपकै स्थिति बनेको थियो । पैसा लिन पनि नमान्ने, मलाई मेरो हाँस जस्तो थियो त्यस्तै चाहियो भन्ने तर हाँस बाटोमा छाड्ने । पखेटा र खुट्टा उछट्टिएर टाढा पुगेका हाँसलाई कसरी जस्तो थियो उस्तै बनाउन सकिन्छ र ? हो यस्तै परिस्थिति थियो, सिंगापुरमा । तर ली क्वानले समधान गरे । हामीले गर्न सकेनौं ।

लीको आत्मकथा हाम्रो जीवनकथा बनोस्

हाम्रो देशका नेताहरू, शासकहरू सारकारी खर्चमा विभिन्न देश पुगेका हुन्छन् । नेता मात्र होइन आजकल त मयेरसाबहरू पनि अध्ययन भ्रमणको शीर्षकमा विदेश उडिरहेका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन एक सानो उदाहरण मात्र हुन् । अब प्रधानमन्त्रीदेखि राष्ट्रपति र मन्त्रीहरूका त कुरै नगरौं औपचारिक निमन्त्रणालाई सहर्ष स्वीकार गरेर युरोप, अमेरिका पुगिरहेका हुन्छन् । तर तिनले ति विकसित देशहरूको भ्रमण गरेर के सिक्छन्, के जानेर आउछन् र त्यो लागू गर्छन् ?

के तिनले त्यहाँ सफा र चिल्लो सडक देख्दैनन् ? के तिनले त्यहाँ फराकिला पार्कहरूमा सुन्दर फुलबारी देख्दैनन् ? के तिनले सफा रेस्टुरेन्टहरू देख्दैनन् ? के तिनले सफा र सुविधा सम्पन्न सार्वजानिक यातयातहरू देख्दैनन् ? के तिनले बुलेट रेल देख्दैनन् ? के तिनले ट्राफिक लाइटहरूको इसारामा गाडी गुडेको देख्दैनन् ? के तिनले स्मार्ट पुलिस देख्दैनन् ? के तिनले शक्तिशाली सैनिक क्षमता देख्दैनन् ? के तिनले आत्मनिर्भरता देख्दैनन् ? आजको मितिसम्म त तिनले देखिरहेका छैनन् । तर ली क्वानको एउटा किस्सा छ, जुन उनले आफ्नो आत्मकथामा लेखेका छन् ।

सन् १९७५ मा ली क्वान जापन भ्रमणमा निस्केका थिए । लीले एउटा अनौठो दृश्य देखे । त्यो दृष्य किन अनौठो भने लीले त्यस्तो दृष्य त्यसभन्दा अगडि देखेका थिएनन् वा त्यसतर्फ विचार नै पुर्‍याएका थिएनन् । ली बसेको होटलमा काम गर्ने एक युवतीले आफू कोठाबाट निस्केपछि हरेकपटक कोठाको बत्ती निभाउँथिन् । ली कोठामा पस्दा फेरि बाल्थिन् । एकदिन लीले सोधे– ‘किन हरेक पटक म निस्केपछि तिमीले बत्ती निभाउँछ्यौ ?’ उनले जवाफ दिइन्– ‘हाम्रो देशमा यतिबेला चरम ऊर्जा संकट छ । एक मिनेटका लागि मात्र पनि विद्युत् ऊर्जा बचायो भने मेरो देशलाई धेरै ठूलो योगदान हुन्छ ।’

त्यसपछि के भयो होला ? त्यस्तो खासै केही भएन । सिंगापुरमा भारी मात्रामा ऊर्जा बचत भयो ।

लीले सिंगापुरमा ऊर्जा बचतको नीति ल्याए । सिंगापुरलाई हरियाली र सफा बनाउन अभियान चलाए । सरकारको जासुसी संयन्त्र राम्रो बनाए । भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति ल्याए । पुराना जनामाका कर्मचारीलाई बिस्तारै पाखा लगाएर पढेलेखेका युवा पुस्तालाई स्थान दिए । तिनलाई राम्रो तलब दिए ।

कृषिमा व्यापक सुधार गरे, त्यसले आयातभन्दा निर्यात चौगुणा बढी भयो । चोर, गुण्डा र ग्याङस्टारहरूलाई ठेगान लगाए ।  पहिले लुटपाट मच्चने खतरनाक स्थानहरूमा सुन्दर रुख र फुलबारीहरू हुर्किए, जहाँ जनताहरू घुम्न र रमाउन जान थाले । त्यसैले यो देशमा म एउटा ली क्वान यू खोजिरहेछु ....।

साउन ६, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार