पुटिनले ट्रम्पलाई दिएको फूटबल उपहारलाई दिनदिनै गरिन्छ जाँच

साउन ६, २०७५

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उपहारमा दिएको रातो–सेतो रंगको फूटबललाई सुरक्षा निकायले दिनदिनै जाँच गर्ने गरेका छन् । 

अमेरिकी सुरक्षा सेवाले बताएअनुसार, राष्ट्रपतिलाई प्राप्त हरेक उपहारलाई यसरी नै परीक्षण गरिने बताइएको छ । 

फिनल्यान्डमा शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा पुटिनले ट्रम्पलाई फूटबल उपहार दिएका थिए र अब बल तपाईंको कोर्टमा छ भनेका थिए । 

रुसले सन् २०१८ को फूटबल विश्वकप आयोजना गरेको थियो । 

ट्रम्पले उपहार स्वीकार गर्दै यो फूटबल आफ्ना छोरा ब्यारनलाई दिने बताए । ब्यारन फूटबल प्रशंसक हुन् । सन् २०२६ को फूटबल विश्वकप अमेरिकाले आयोजना गर्दैछ । 

रिपब्लिकन पार्टीका सिनेटर र पुटिनका आलोचक लिन्डसे ग्राहमले बलको जाँचमा सवाल उठाएका थिए । नेसनल इन्टेलिजेन्सका निर्देशक ड्यान कोट्सले बललाई अत्यन्त सावधानीका साथ जाँच गरिएको हुनुपर्ने विश्वास गरेका थिए ।

एजेन्सी
 

साउन ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस