रोल्पा सदरमुकाममा बस दुर्घटना, गाडी मालिकसहित ३ जना घाइते

तस्बिर सौजन्य : तेजु बिष्टको फेसबुकबाट

साउन ७, २०७५

रोल्पा– रोल्पा सदरमुकाम लिवाङमा बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । 

कृष्णनगरबाट लिवाङ पुगेर फर्किने क्रममा आशिर्वाद यातायात प्रालिको ग १ ख ५५३० नम्बरको बस रोल्पा नगरपालिका–२ मा दुर्घटना भएको हो । 

दुर्घटनामा परी गाडी धनी इन्द्र बहादुर गिरी, चालक छबि सुनार र नाम नखुलेका गाडीका सहचालक घाइते भएका छन् । 

घाइतेमध्ये गाडी धनी गिरीको अवस्था गम्भीर रहेको जनाइएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक (सई) कृष्ण बिकका अनुसार कृष्णनगरबाट यात्रु लिएर लवाङ पुगेको खाली बस फर्किने क्रममा दुर्घटनामा परेको हो । 

गाडीमा गाडी मालिक, चालक र सहचालक मात्रै सवार थिए । गाडी सडकबाट १०० मिटर तल खसेको थियो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

साउन ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस