सिङ्गै देश एक प्रदेश !

साउन १९, २०७५

भाषा चाहिन्छ आफ्नो भेष चाहिन्छ

शिर उठाई बाँच्न आफ्नो देश चाहिन्छ

कोलोराडो, संयुक्त राज्य अमेरिकाको प्रवासबाट ज्ञानेन्द्र गदालले लेखी पठाएको यो अभिव्यक्ति दश हरफको कविताका पहिला दुई पङ्तिमा भेटिन्छ ।

(कौशिकी द्वैमासिक, २०६८ बैशाख-जेठ)

नेपालको सम-सामयिक यथार्थ भने बेग्लै छ । लाग्छ, देश त प्रवासमा बस्नेलाई मात्र चाहिएको हो, यहाँका बासिन्दालाई त प्रदेश भए पुग्छ । सकेसम्म धेरै प्रदेश होउन्, देश त किन चाहियो र । चाहिएछ भने पछि आत्मनिर्णयको अधिकार प्रयोग गरी प्रदेशलाई नै भिन्दाभिन्दै देशमा परिणत गरिदिए भैगो नि !

देखिँदैछ, नेपालमा नेपाली छैनन् । यहाँ त पार्टीका कार्यकर्ता मात्र छन् । किनभने म्याद गुज्रेको संविधानसभामा ३० भन्दा बढी पार्टी छन् भने सभाभवन बाहिर तिनैका कार्यकर्ता यत्रतत्र भेटिन्छन् ।  दर्शन, सिध्दान्त, नीति, निष्ठा, मान्यता बाँकी नराखेका नेताका पार्टीहरूमा संघीयताघटीमा सम्झौता नगर्ने बिल्लादार सदस्यहरू मुस्तैदीका साथ तैनाथ छन् । कथम् पार्टीले बेवास्ता गरेछ भने आफ्नो माग पूरा गराउन राँके जुलुसको दौडका निम्ति जातीय संगठनहरू तम्तयार भएर बसेका छन् । तीन ठूला पार्टी र अवसरवादीहरूको ‘मोर्चा’ हाँक्ने सारथीहरू प्राप्त मार्गदर्शनका आधारमा अग्रगामी पाइला चालिरहेका छन् । चित्रबहादुर केसीको मोर्चा र बिजुक्छेको नेमकिपा भागबण्डामा दगुर्नेहरूको भीडबाट उछिट्टिएको अवस्थामा देखिन्छन् । एकाध अरू पनि होलान् ।

एक देशलाई अनेक प्रदेशमा खण्डित गराइदिन खोज्नेहरू नै सफल हुँदै गएको देखापर्छ । र, त्यस्तो सफलता दिलाइदिन स्थानीय अनुचर गुप्तचरहरू दिलोज्यानले लागिपरेका छन् । जगजाहेर छ, टुक्रिएका र कित्ताकाटमा परेका प्रदेश धेरै दिन टिक्न सक्दैनन् र त्यस चरणमा पुगेपछि केसित अथवा कोसित विलय हुन्छन् यसै भन्न कठिन छ । ख्यातिप्राप्त अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जरको ‘चीनबारे’ नामक नयाँ पुस्तकमा यस्तै निचोड निस्कने एउटा चिनियाँ मान्यताको उल्लेख रहेछ : ‘जसरी मरेको मानिस फेरि ब्युँतिन सक्दैन त्यसैगरी नष्ट गरिएको राष्ट्र पुन: अस्तित्वमा आउन सक्दैन’। सन् जु नामक विद्वान्‌को यस कथनसित चीन दुईहजार वर्षदेखि परिचित रहँदै आएको छ । तर भन्न सकिएला, चीनको यस कुराले अमेरिका प्रभावित भए होस् नेपाललाई त्यसको के चासो ? सँधियार नै भए पनि नेपालले चीनको अनुभवसित किन सरोकार राख्ने ? किन तिनको मान्यतालाई हामीले मान्यता दिने ?

परिस्थिति विकल्पविहीन भने छैन । बहसमा तान्न सकिने एउटा प्रस्ताव यस्तो हुन सक्छ : सबैजना मिलौं, सिङ्गो देशलाई नै एक प्रदेशमा परिणत गराऔं । उत्तर प्रदेश, मध्यप्रदेश अथवा हिमाञ्चल प्रदेशजस्तै । संघीयताको माग पनि पूरा हुने, गणतन्त्र पनि तयारी अवस्थामा पाइने ! बरू जेठ १४ अगावै प्रस्ताव प्रस्तुत गरेर दुई-तिहाईले अनुमोदन गराइराखे पछि गएर वैधानिकताको कचिङ्गल उठ्ने छैन । तेलको आपूर्ति नरोकिने, भाउ-बेसाहा पनि सस्तो हुँदै जाने !! अवसरको लाभ उठाउनु नै बुध्दिमानी हो कि ?

२०६२/६३ मा आन्दोलन भयो, सातौं वर्षमा आइपुग्दाको नैराश्य हाम्रोसामु छ , भुक्तभोगी छौं आफैं । स्थितिको पुनरावृत्ति पो भएछ भन्ने लाग्छ, २००७ सालको परिवर्तनपछिको सातौं वर्षको परिस्थिति सम्झिँदा । गएको शुक्रवार (वैशाख १५, २०६९) राष्ट्रकवि माधव घिमिरेले लोकार्पण गर्नुभएको ग्रन्थमा समावेश भएको ‘प्रजातन्त्र दिवसको सवाई’ मा कवि साम्बभक्त सुवेदीको यो आकलन पढौं:---

सुन सुन दिदी बहिनी सुन दाजु भाइ

एकैछिनको गन्थन यो सुन मन लाई।।

नेपालको प्रजातन्त्र अन्तरिमकाल

देखिएको किन किन यस्तो गोलमाल ।।१।।

छर्लङ्ग छ, नेपालका भाग्यविधाताहरूले यत्रो वर्षपछि पनि आफ्नो बानी-बेहोरा सुधार्न सकेका रहेनछन् ।                                                                                                                        

(२०६९ वैशाख १८) 

साउन १९, २०७५ मा प्रकाशित

ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस