धनगढी – हरेक निर्वाचनमा कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालको स्तरोन्नतिको आश्वासन प्रमुख चुनावी एजेण्डा बन्छ । अस्पतालकै एजेण्डालाई दल तथा उम्मेदवार प्रमुख अस्त्र बनाएर चुनावी मैदानमा उत्रिन्छन् ।
गत प्रतिनिधिसभा निर्वाचनताका उम्मेदवार डा. आरजु राणा देउवा हुन् वा सांसद नारदमुनी राना । दुवैले अस्पतालकै एजेण्डालाई चुनावी एजेण्डा बनाएर प्रतिपर्धा गरे । तत्कालीन शेरबहादुर देउवा सरकारले मन्त्रीपरिषद् बैठकबाट ठाडै रुपमा ५० शैयाको अस्पताललाई स्तरोन्नति गरेर ३ सय शैयाको विस्तार गर्ने हौवा फैलायो ।
देउवा पत्नी आरजु चुनावी प्रतिस्पर्धामा रहेकाले पनि मतदातालाई प्रभावमा पार्न सरकारबाटै निर्णय गराइएको थियो । तर, प्रतिनिधिसभा निर्वाचन भएको ८ महिना पुग्दा समेत स्तरोन्नतिको विषय अस्पताल प्रशासनसम्म पुगेको छैन ।
अस्पताल प्रशासनका अनुसार निर्वाचनका बेला ३ सय शैयामा स्तरोन्नति गर्ने निर्णय भएको आधिकारिक जानकारी ८ महिना पुग्दा समेत पाइएको छैन । मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मुखैमा सेती अञ्चल अस्पतालाई आफ्नो पहलमा ३ सय शैयामा स्तरोन्नति गराएको भन्दै कांग्रेस नेतृ आरजुले सार्वजनिक कार्यक्रममा नै भाषण गरेकी थिइन् ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सजन केसीले हल्लैहल्लामा भएको स्तरोन्नतिको अहिलेसम्म अस्पताललाई आधिकारिक जानकारी नआएको बताए । निर्वाचनताका सरकारले आचारसहिंताको उल्लंघन गरेको भन्दै आरजुका प्रतिस्पर्धी उम्मेदवार नारदमुनी रानाले ३ सय होइन, ५ सय शैयाको प्रादेशिक अस्पताल बनाउने दावी गरेका थिए ।
दरबन्दी छ, डाक्टर छैनन्
अस्पतालमा साढे ३ दशक पुरानो दरबन्दी अझै पदपूर्ति भएको छैन । अस्पतालमा १ सय ६ जनाको दरबन्दीमध्ये १२ जना विशेषज्ञसहित १८ जनाको दरबन्दी रिक्त छ । अस्पतालमा कहिल्यै विशेषज्ञ डाक्टर आउन सकेका छैनन् ।
११ औं तहका वरिष्ठ फिजिसियनदेखि बालरोग, वरिष्ठ गाइनेक्लोजिस्ट, वरिष्ठ प्याथोलोजिस्ट, ईएनटी, साइक्याट्रिक्ट (मानसिक रोग विषेशज्ञ), मुटुरोग विशेषज्ञ र डेन्टल सर्जन लगायत ९ औं र १० औं तहका १२ जना चिकित्सकको दरबन्दी खाली छ ।
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट १ जना, प्रमुख कन्सलटेन्ट फिजिसियन १ जना, अब्स्ट्रेटिक्स तथा गाइनोकोलोजी १ जना, वरिष्ठ कन्सलटेन्ट पेडियाटिक्स २ जना, वरिष्ठ प्याथोलोजिस्ट १ जना, जनरल हेल्थ सर्भिसेज १ जना, मेडिसिन १ जना, मेडिसिन कार्डियोलोजी १ जना, जनरल डेन्टल १ जना, जनरल हेल्थ सर्भिसेज १ जनाको दरबन्दी रिक्त रहेको छ ।
जसले गर्दा अस्पतालको सेवा प्रवाह सन्तोषजनक नभएको अस्पताल प्रशासनको भनाई छ । अस्पताल प्रदेश मातहतमा आएको भन्ने जानकारी आधिकारिक रुपमा आई नपुगेका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सजन केसीले बताए ।
अस्पतालमा बिरामीको चापले गर्दा १ जना स्टाफ नर्सले ४ जना बिरामी हेर्नुपर्ने नियम भएपनि १५ देखि २० जनासम्म बिरामीलाई हेर्नुपर्ने बाध्यता अस्पतालमा छ । २०३३ सालमा स्थापना भएको सेती अञ्चल अस्पताल अहिले पनि ५० शैयाको छ । व्यवस्थापन समितिले ७५ शैया थपेर अहिले त्यो अस्पताल १ सय २५ शैयामा चलिरहेको छ ।
अस्पतालमा ४ वटा डायलासिस मेसिन छन् भने ४ शैयाको सघन उपचार कक्ष (आईसीयू) पनि छ । तर, मुटुरोग विशेषज्ञ नभएकैले अहिलेसम्म मुटुरोग विभाग नै सञ्चालन गर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ । रिक्त दरबन्दीमा चिकित्सक नआउनका कारण त्यहाँका वातावरण नभएको हुन सक्ने सेती अञ्चल अस्पतालका पूर्व मेसु डा. गणेशबहादुर सिंहले बताए ।
‘चिकित्सकहरू आफ्नो काम गर्ने ठाउँमा आउनुभन्दा पहिले धेरै कुरा हेर्छन्,’ डाक्टर सिंह भन्छन्, ‘जुन ठाउँमा काम गर्ने सहज वातावरण छ । अनि सरकारी अस्पतालसँगै निजीमा पनि काम गर्न खोज्छन् । निजी अस्पताल नभएर पनि आउन नचाहेका हुन् ।’
पहिलेको तुलनाका धनगढीमा धेरै निजी अस्पताल खोल्ने प्रवृत्ति बढेको र सुधार पनि भएको सिंहको भनाई छ ।
मेसु टिकाउनै मुस्किल
७ नम्बर प्रदेशमा सेती अञ्चल अस्पताललाई रिफरल अस्पतालको रुपमा लिइन्छ । पछिल्ला वर्षमा मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) टिकाउन मुस्किल हुने गरेको छ । २–३ वर्षको अन्तरालमा सेतीमा थुप्रै मेसु परिर्वतन भइसकेका छन् । झण्डै डेढ दशकसम्म अस्पतालमा मेसुको जिम्मेवारी सम्हालेका डा. गणेशबहादुर सिंह सेवानिवृत्त भएपछि अस्पतालको नेतृत्वमा कोही पनि लामो समय बस्न सकेका छ्रैनन् ।
सिंहपछि मेसुको जिम्मेवारी पाएका ११ औं तहका डा. बिसनसिंह बोहराले अस्पतालमा नेतृत्व गर्ने ईच्छा नै व्यक्त गरेनन् । उनको ठाउँमा आएका डा. सुर्यबहादुर गुरुङ बिदा लिएर काठमाडौं गए । तर, अस्पतालमा फर्किएनन् ।
गुरुङले छोडेपछि डा. अशोक श्रीपाईलीलाई जिम्मेवारी दिइयो । उनले पनि वर्ष दिन नपुग्दै राजीनामा दिए । हाल जिम्मेवारीमा रहेका डा. सजन केसी पनि १ वर्ष नपुग्दै भरतपुर अस्पताल सरुवा भएको कुरा बाहिर आएको छ । तर, डा केसीले भने आधिकारिक रुपमा चिट्ठी आइनपुगेका बताए ।
अस्पतालमा बेड अभाव
सेती अञ्चल अस्पतालमा बेड अभावले गर्दा बिरामीले समस्या झल्दै आएका छन् । अस्पतालमा बेड अभावले बिरामीले भुइँमा नै उपचार गर्नुपर्ने बाध्यता छ । ‘अस्पतालमा बिरामीको चाप अनुसार बेड नहुँदा बेन्चमा नै उपचार गर्नुपर्ने बाध्यता छ,’ बाल रोग वार्डका इन्चार्ज मञ्जु पौडेलले भनिन्, ‘कहाँबाट बिरामीले सहजै उपचार पाउँछन् । अस्पतालमा भएको स्रोतसाधन अनुसार हामीले काम गर्ने हो ।’
अस्पतालमा इमर्जेन्सीका लागि उपचारमा आएका बिरामीलाई बेडका समस्याले बेन्चमा नै उपचार गर्नुपर्ने बाध्यता रहेको इमर्जेन्सी इन्चार्ज कृष्ण बोहरा बताउँछन् । दैनिक डेढ सय बिरामी आउने अस्पतालमा अन्य कुनै वार्डमा ‘ट्रान्सफर’ गरौ भने कुनै वार्ड नभएपछि समस्या हुने गरेको बोहराको गुनासो छ ।
प्रदेशका स्वास्थ्य संस्था व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा आएसँगै अस्पताल झनै समस्यामा छ । अस्पताल विकास समिति भंग गर्दै सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा छ । अस्पताललाई ३ वर्ष अगाडि नै अध्ययन गरी तत्कालीन समयमा क्षेत्रीय अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले उपयुक्त भएको ठहर पनि गरिएको थियो ।
तर, बेड अभाव हरेक वार्डमा छ । कुनै–कुनै रोगका लागि वार्ड समेत छैनन् । ‘बेडको अभाव त छँदैछ, त्यसमा पनि नाक, कान, घाटी वार्ड समेत सर्जरीमा राख्दा बिरामीको उपचार गर्ने समस्या हुने गरेको छ,’ सर्जरी वार्डका इन्चार्ज भगवती वडालले भनिन्, ‘अभाव भएपनि बिरामीलाई फर्काएको अवस्था छैन । जसरी व्यवस्थापन गरेपनि उपचार गरेकै छौं ।’
अस्पतालका मेडिकल रेकर्डर किशोर श्रेष्ठका अनुसार सरकार र अस्पताल समिति गरी २ सय ५ शैयाको भएको छ । सरकारबाट ५० शैयाको मात्र स्वीकृत पाएको छ । प्रदेशमा मन्त्रालय खडा भएपनि अस्पतालको उपचार गर्ने शैली पुरानै रहेको बिरामीका कुरुवाको गुनासो छ ।
थप समाचार
- नेकपा पार्टी एकता : केन्द्रमा निर्णय गर्न सकस, महासचिवको गृहजिल्लामा ‘चमत्कार’
- बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज खोल्ने सरकारको तयारी
- सुदूरपश्चिममा ओलीको सम्बोधन : जनताको खुट्टा छोएर जितेका जनप्रतिनिधि सभ्य हुनुपर्छ
- काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा
- काँग्रेस नेता शेखर कोइरालामाथि कारबाही हुन्छः सभापति देउवा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस