‘अर्जेन्टिनाले मेस्सीविना पनि खेल्न सिक्नुपर्छ’

साउन २४, २०७५

काठमाडौं – बार्सिलोना क्लबका सुपरस्टार लियोनेल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाको निराशाजनक प्रदर्शनपछि अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिने अनुमान गहिरिँदै गएको छ । 

अर्जेन्टिनाका पूर्वखेलाडी जुआन सेबास्टियन भेरोनले अब टोलीले उद्धारका लागि मेस्सीमाथि निर्भर रहनु नहुने बताएका छन् । 

विश्वकपमा अर्जेन्टिना छिट्टै बाहिरिएपछि मेस्सीको तीव्र आलोचना भएको थियो र उनले पहिले एकचोटि पनि संन्यास लिइसकेकाले धेरैजनाले उनी फेरि संन्यासको सोच बनाइरहेको विश्वास गरेका छन् । 

भेरोन पनि अर्जेन्टिना मेस्सीमा अति नै निर्भर रहेको बताउँछन् । 

ईएसपीएन अर्जेन्टिनासँग कुरा गर्दै भेरोनले भने, ‘अब टोली पुनर्गठन गर्ने समय आएको छ । मेस्सी अझै पनि राष्ट्रिय टोलीको हिस्सा बन्न उत्सुक छन् भने उनलाई अलिअलि गरी संलग्न गराउनुपर्छ ।’

‘हामीले अब सधैंका लागि हुने गरी आधार तयार पार्नुपर्छ अनि एउटा सशक्त टोलीको कल्पना गर्नुपर्छ र कसैले आएर हामीलाई उद्धार गरिदेला भनी कुरिबस्न हुँदैन । अरू राष्ट्रिय टोलीहरूले विश्वकपमा गरेको प्रदर्शन हेर्दा समूहलाई नै सशक्त
बनाउनुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।’

मेस्सीले अर्जेन्टिनाका लागि खेलेको १२८ म्याचमा ६५ गोल र ४४ असिस्ट गरेका छन् ।

सक्करलाडुमाबाट 


ADVERTISEMENT

साउन २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस