एसिया कप छनोटका लागि नेपाली टोली घोषणा, चोटले शरद बाहिरिँदा सागर टीममा फर्किए

साउन २४, २०७५

काठमाडौं – एसिया कप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले १९ सदस्यीय प्ररम्भिक टोली घोषणा गरेको हो ।

नयाँ टोलीमा नेदरल्याण्डसँग केही दिनअघि पहिलो ओडीआई सिरिज खेल्दाका २ खेलाडी अटाएका छैनन् ।

ब्याट्सम्यान सरद भेसवाकर चोटका कारण बाहिरिएका छन् भने शक्ति गौचनले अब विदेशमा हुने प्रतियोगिता नखेल्ने र नेपालमै हुने एक खेल खेलेर संन्यास लिने घोषणा गरिसकेकाले उनलाई पनि टीममा राखिएको छैन ।

उनीहरूको साटो सागर पुन र किशोर महतोले टीममा स्थान बनाएका छन् ।

१९ सदस्यीय टोलीमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लका अलावा अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो र ललित सिंह भण्डारी छन् ।

यस्तै ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनील धमला र सुशान भारी पनि टीममा परेका छन् ।

एसिया कप छनोट प्रतियोगिता आगामी भदौ १३ देखि २१ गतेसम्म मलेसियामा हुँदैछ ।

प्रतियोगितामा नेपालसँगै युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान सहभागी हुनेछन् ।

छनोट प्रतियोगिता जित्ने टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्नेछ ।

त्यसको तयारीका लागि नेपाली टोली आगामी भदौ ४ गते श्रृलंका प्रस्थान गर्नेछ ।

त्यहाँ रहँदा नेपालले ३ वटा अभ्यास खेल खेल्ने जनाइएको छ ।

साउन २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस