इन्काउन्टर प्रकरणमा गृहमन्त्रीलाई अपराध महाशाखाको यस्ताे ब्रिफिङ

साउन २५, २०७५

काठमाडौं । ११ वर्षीय बालक निशान खड्काको अपहरणमा संलग्न दुई अपहरणकारीको मृत्युका विषयमा संशय बढिरहेका बेला गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारले छानबिन गर्ने बताएका छन् ।
 अपहरणकारी इन्काउन्टरबारे विभिन्न बहस जारी रहँदा गृहमन्त्री थापाले घटनाबारे सरकारले छानबिन गर्ने बताएका हुन् । प्रहरीले भने अपहरणकारीद्वय गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा उनीहरूको मृत्यु भएको दाबी गर्दै आएको छ ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
समितिका सदस्य देवेन्द्रराज कँडेलले प्रहरीले भनेको इन्काउन्टर शंकास्पद भएको भन्दै घटनाबारे छानबिन हुनुपर्ने माग गरेका थिए । उनले बैठकमा घटनाबारे सोधपुछ गर्नका लागि नेपाल प्रहरीका महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउनसमेत गृहमन्त्रीको ध्यानाकर्षण गरेका छन् । समितिका सदस्यले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानबिन गरिने प्रतिबद्धता जनाएका हुन् ।
यसैबीच अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री थापासमक्ष बालक निशान अपहरण घटनामा अपहरणकारीसँग ‘मुठभेड’ नै भएको ब्रिफिङ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीलाई गृहमन्त्री थापाले बोलाएरै घटनाबारे चासो राखेका थिए । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहको टोली घटनाको ब्रिफिङका लागि गृहमन्त्रालय पुगेको गृह स्रोतले बताएको हो । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस