अमेरिकाद्वारा सेनालाई ४ अर्बका ४ कार्गो जहाज

साउन २५, २०७५

काठमाडाैं- अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काई ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काई ट्रक अनुदान सहायतास्वरूप उपलब्ध गर्न लागेको हो । यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ ।
अमेरिकाले दिन लागेको चारवटै स्काई ट्रकको अन्तर्राष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेको सैनिक अधिकारीले जनाएका छन् । अमेरिकाबाट भित्रिन लागेका स्काई ट्रकको मूल्य प्रतिगोटा ६ देखि ८ मिलियन अमेरिकी डलर पर्छ । तत्कालीन राजा ज्ञानेन्द्रले वि.सं. २०६१ माघ १९ गते सत्ता हातमा लिएसँगै अमेरिकाले नेपाललाई उपलव्ध गराउँदै आएको सैन्य सहायता रोकेको थियो ।
२०५८ अघिसम्म अमेरिकाले नेपाललाई दिँदै आएको सैन्य सहायता पछिल्लो १५ वर्षमा रोकिए पनि पुनः सुचारु हुने भएको छ । २०६९ पछि प्रधानसेनापति बनेका गौरवशमशेर राणा र राजेन्द्र क्षेत्रीबाट भएका अमेरिकी भ्रमणपछि रोक्का सैन्य सहायता फुकुवामा ऐतिहासिक सफलता हासिल भएको उच्च अधिकारीले बताएका छन् । यसबाहेक सेनाले सन् २००६ पछिका नेपाल स्थित अमेरिकी राजदूतहरू न्यान्सी जे पावेल, स्कट एच डेलिसी, पिडर डब्लू बोडी र अलाइना बी टेप्लिजसँग पनि विगतदेखि रोक्का सैनिक सहायता फुकुवाका लागि आग्रह गरेको थियो ।  अाजकाे काराेबार दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् । 


ADVERTISEMENT

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस