अब पासपोर्ट ६ प्रकारका, दुई प्रकारका थपिँदै

साउन २५, २०७५

काठमाडौँ— सरकारले अब ६ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक (रातो), विशेष (नीलो), साधारण (हरियो) र यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्टरकालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । 

सरकारले संसद्मा पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । 

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट दिने व्यवस्था गरिएको छ । विदेशस्थित दूतावास तथा नियोगमा पोस्टिङ हुने कर्मचारीले सहयोगी कामदार लैजाँदा त्यही देशको नियमअनुसार तलब दिनुपर्ने भएकाले त्यसलाई छल्न नयाँ खालको राहदानी दिने व्यवस्था गर्न लागिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सर्भिस पासपोर्टधारीले नेपाल सरकारको नियमअनुसार नै तलब सुविधा पाउँछन् । तर, साधारण पासपोर्टमा जानेले काम गर्ने अनुमति लिएपछि त्यही देशको श्रम नियमावली आकर्षित हुने भएकाले उच्च तहका कूटनीतिक कर्मचारीको स्वार्थमा विधेयकमा सर्भिस पासपोर्टको व्यवस्था राखिएको समेत स्रोतको दाबी छ ।, कान्तिपुरमा खबर छ ।
 

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस