सिभिल सहकारीको मनोमानी– ऐन विपरीत कारोबार !

साउन २५, २०७५

काठमाडौं – सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले कानूनविपरीत कारोबार सञ्चालन गरेको फेला परेको छ । संस्थाले सहकारी ऐनविपरीत संस्थागत रूपमा झण्डै ३ अर्ब रुपैयाँ लगानी गरेको फेला परेको छ ।  

संस्थाले गत आर्थिक वर्षसम्ममा झण्डै ३ करोड रूपैयाँ विभिन्न संस्थाहरूमा लगानी गरेको फेला परेको हो । जसमध्ये सिभिल होम्स प्रा. लि.मा २ करोड, सिभिल इन्टरनेसनल कस्सल्टेन्सी प्रा.लि.मा १० लाख, सिभिल गु्रप प्रा.लि.मा ३५ लाख, सिभिल इन्फास्ट्रक्चरमा २३ लाख रूपैयाँ लगानी गरेको छ ।  

सहकारी ऐनको परिच्छेद ६, दफा २३ अनुसार सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्य हुनसक्ने व्यक्तिहरू, सदस्यहरू तथा तोकिएबमोजिमका अन्य निकायहरूलाई मात्र शेयर बिक्री गरी पूँजी संकलन गर्न सक्ने प्रावधानलाई संस्थाले बेवास्ता गर्दै निजी तथा व्यापारिक संस्थामा ऋण प्रवाह गर्दै ऐन उल्लंघन गरेको हो । 

संस्थाले सहकारी मापदण्ड २०६८ को दफा २४ उपदफा ४ पनि मिचेको फेला परेको छ ।

सहकारी संस्थाहरूले आफ्नो कूल प्राथमिक पूँजी कोषको बढी १० बढी निक्षेप संकलन गर्न सक्ने प्रावधान मिच्दै २६ गुणा निक्षेप संकलन गरेको छ ।  

संकलन भएको रकम लगानी गर्न नपाउने क्षेत्रमा लगानी गर्दा संस्थाले न्युनतम तरलता कायम समेत गर्न सकेको छैन । 

सहकारी मापदण्डको दफा ३२ अनुसार सहकारी संस्थाले कूल निक्षेपको न्युनतम १५ प्रतिशत तरलता कायम राख्नुपर्नेमा गत आर्थिक वर्ष २०७४/०७५ को अन्तिमसम्ममा तथ्यांक हेर्दा ७  दशमलव ७५ प्रतिशत मात्रै तरलता संस्थाको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । 

संस्थाले सहकारी मापदण्ड २०६८ को दफा २८ (१) अनुसार कुनै एक सदस्यलाई कूल पूँजी कोषको १० प्रतिशतसम्म अधिकतम ऋण दिन सक्ने प्रावधान समेत मिच्दै आर्थिक वर्ष २०७३/०७४ मा सीमा नाघेर ऋण दिएको पनि संस्थाको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । 

लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाको प्राथमिक पूँजी २५ करोड १२ लाख २३ हजार छ भने गत आर्थिक वर्षको अन्त्यसम्ममा संकलन गरिएको निक्षेप ६ अर्ब ६२ करोड ९८ लाख २७ हजार रहेको छ । संस्थाको कूल तरल सम्पत्ति ५१ करोड ३२ लाख ७९ हजार रहेको लेखापरीक्षण प्रतिवेदनले देखाउँछ । 

लेखापरीक्षण प्रतिवेदनअनुसार संस्थाले निक्षेप र कजोबीचको अन्तर पनि नियमविपरीत रहेको देखिएको छ ।

साउन २५, २०७५ मा प्रकाशित

मनीषा अवस्थी

मनीषा अवस्थी लोकान्तर डट् कमका लागि आर्थिक विषयमा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस