न्युजील्यान्डले प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने प्रधानमन्त्री आर्डर्नको भनाइ

साउन २५, २०७५

काठमाडौं – न्युजील्यान्डले अर्को वर्षसम्ममा प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने सरकारले घोषणा गरेको छ । 

देशभरिका रिटेलरहरूलाई ६ महिनाभित्र हलुका प्लास्टिक झोलाहरू हटाउन समय दिइनेछ अन्यथा उनीहरूले एक लाख न्युजील्यान्ड डलरसम्मको जरिवाना तिर्नुपर्छ । 

‘हामीहरू प्लास्टिकका झोलालाई हटाउन खोज्दैछौं ताकि न्युजील्यान्डको सफा हरियालीयुक्त सुनामलाई सुरक्षित राख्न सकियोस्,’ जासिन्डा आर्डर्नले बताइन् । 

‘न्युजील्यान्डमा हामी प्रत्येक वर्ष लाखौं प्लास्टिक झोला प्रयोग गर्छौं । झोलाको पहाडले हाम्रो बहुमूल्य तटीय र जलीय वातावरणलाई प्रदूषित गरिरहेका छन् र जलीय जीवनलाई गम्भीर हानि पु¥याइरहेका छन् । ग्राहक र व्यापारीहरूका लागि
उचित विकल्प हुँदाहुँदै यो प्रदूषकलाई हामीले किन प्रोत्साहित गर्ने ?’

न्युजील्यान्डवासीहरूले यो समस्याको समाधान गर्नुपर्ने भनी इच्छा देखाएको आर्डर्नले प्रस्ट पारिन् । प्लास्टिक झोलामा प्रतिबन्ध लगाउनका लागि ६५ हजार मानिसले एक निवेदनमा हस्ताक्षर गरेका थिए । 

न्युजील्यान्डमा प्रत्येक वर्ष ७५ करोड प्लास्टिक झोलाहरू उत्पादन हुन्छन् । यो भनेको प्रत्येक व्यक्तिले औसतमा १५४ वटा झोला प्रयोग गरेबराबर हो । 

देशका प्रमुख सुपरमार्केटहरू र ठूला रिटेलरहरूले सन् २०१८ को अन्त्यसम्ममा प्लास्टिकका झोला प्रयोग बन्द गर्ने बताइसकेका छन् ।

एजेन्सी

साउन २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस