बुद्ध सर्किटमा मोनोरेल : अध्ययन गर्न चिनियाँ टोली लुम्बिनीमा, मुख्यमन्त्रीसँग छलफल

साउन २५, २०७५

बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलवे इन्टरनेसनल गु्रपको टोलीले शुक्रवार भेट गरी रामग्राम–लुम्बिनी–कपिलवस्तु बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल गरेको छ ।

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचूर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकाले काम गर्ने वातावरण तयार भएको बताए । उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले सम्भाव्यता अध्ययन, डीपीआर र निर्माणबारे छलफल गरी अघि बढ्न सकिने बताए । 

उनले मोनोरेलको सम्भाव्यता अध्ययन, डीपीआर, निर्माण लगायतका विषयमा लुम्विनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरे । चिनियाँ टोलीले मोनोरेलको सम्भावनाबारे प्रस्तूति गरेको थियो ।

मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलवे इन्टरनेसनल गु्रप अन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग यु श्वे, चाइना रेलवे इन्टरनेसनल गु्रपका अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोली सहभागी थियो । चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रबन्धक वाङ्ग यु श्वेले बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययन, डीपीआर र निर्माणको बारेमा प्रदेश सरकारसँग छलफल गर्दै अघि बढेर निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्रीसँगको छलफलमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तीर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल र मन्त्रालयका सचिव सहभागी थिए ।

साउन २५, २०७५ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस