आम आद्मीका वरिष्ठ नेताले किन दिए  राजीनामा ?

साउन ३०, २०७५

नयाँदिल्ली- भारतको आम आद्मी पार्टीका एक जना वरिष्ठ नेताले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ । 

छोटो समयमा निकै लोकप्रिय बनेको पार्टीका ती नेताले पार्टीअन्तर्गत आफूले पाएका सबै जिम्मेबारीबाट बुधबार राजीनामा दिएको बताउनुभएको हो । 


पार्टीका प्रभावशाली नेता आशुतोषले भन्नुभएको छ, “हरेक यात्रा कहीँ न कहीँ गएर टुङ्गिन्छ, आम आद्मी पार्टीसँगको मेरो यात्रा पनि यहीँ आएर टुङ्गिएको छ ।” 

आम आद्मी पार्टीमा रहेका बेलाको आफ्नो यात्रा राम्रो र प्रगतिशील भएको बताउँदै उहाँले आफ्नो सो अवधि स्मरणीय रहने उल्लेख गर्नुभयो । 

आफूले पार्टी परित्याग गर्नुको कारण विशुद्ध व्यक्तिगत भएको पनि उहाँले पटक पटक दावी गर्नुभएको समाचारमा जनाइएको छ । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले पार्टीभित्रको यात्राका क्रममा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गर्नुभएको छ । 

नेता आशुतोष आम आद्मी पार्टीका सीमित संस्थापक नेतामध्ये एक हुनुहुन्छ । उहाँले लामो समय पार्टीको प्रवक्ताका रुपमा समेत काम गर्नुभएको थियो । 

उहाँ आम आद्मी पार्टीमा आवद्ध हुनुभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियानमा सक्रिय हुनुहुन्थ्यो । नेता आशुतोषले लामो समय टेलिभिजन पत्रकारिता गर्नुभएको थियो । 

आम आद्मी पार्टीले अहिले भारतको दिल्ली राज्य सरकारको नेतृत्व गरेको छ । पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले नेता आशुतोषको राजीनामा स्वीकृत पनि गरिसक्नु भएको छ । 

साउन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस