झुलनोत्सवमा झुल्यो मिथिला

फाइल तस्बिर
भदौ ४, २०७५

धनुषा–

आएल सावन मास झुला झुलु सरकार 
झुला झुलिलिये लाले फुलवरियामे 
(साउन महीना आयो झुला झुल्ने बेला आयो, 
लाल फूलवरियामा झुला झुल्यो ) 


अहिले जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा यस्ता लोकगीत र लोक धुनसँगै झुलनोत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ । प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मनाइने झुलनोत्सव पर्वको रमझम यहाँ शुरु भइसकेको छ । 

मिथिलाञ्चलमा रोपाइँ सकिने बित्तिकै झुलनोत्सवको रौनक शुरु हुन्छ । यस क्रममा प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । गाउँले लोकजीवन एवं हावापानी र माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने झुला गीत सुनेर जो कोहि पनि हर्षले विभोर हुन्छन् । झुलनोत्सवलाई मैथिली संस्कृतिको मौलिक संस्कृतिका रुपमा लिएको छ । संसारको कुनै पनि संस्कृतिमा यस्तो लोकोत्सव विरलै पाइन्छ । त्यसैले मिथिलावासी यस महोत्सवलाई गौरवका साथ मनाइरहेका छन् । 

झुलनोत्सव पर्व मिथिलाञ्चल क्षेत्रकासाथै भारतको विहार राज्यको तिरहुत क्षेत्र, जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट, सप्तरी, पर्सा, बारा जिल्लाको विभिन्न मठमन्दिरमा एक महीनासम्म बडो धुमधामका साथ मनाइने धार्मिक परम्परा छ । झुलनोत्सवको अवसरमा प्रत्येक मठमन्दिरमा मणिपर्वत पर्व हर्षोल्लासका साथ सम्पन्न गरिन्छ । सो पर्व शुरु हुनुभन्दा अगाडि मठमन्दिरबाट लावालस्कर बाजागाजा तथा मङ्लगानका साथ जुलुस निकाली पर्वको शुरुआत गर्ने गरिन्छ । 

मणिपर्वत पर्व राम र सीताको शुभविवाहकै पालादेखि मनाइँदै आएको पण्डित इन्द्रकान्त झा शास्त्रीले बताउनुभयो । झाका अनुसार झुलनोत्सवको पहिलो दिनलाई मणिपर्वतको झुला भनिन्छ । उक्त दिन अपराह्न जनकपुरका ५२ कुटीबाट डोलामा रामसीताका मूर्ति राखी रङ्गभूमिमा ल्याइएपछि जानकी मन्दिरका महन्तद्वारा उत्सवको शुरुआत गरिन्छ । मणिपर्वत झुलनोत्सवका दिन जानकी मन्दिर, राममन्दिर र लक्ष्मण मन्दिरका मूर्तिलाई एकै ठाउँमा राखी झुलाउने गरिन्छ । यस दिन टाढाबाट श्रद्धालु झुलामा आउने गरेका कारण रङ्गभूमि मैदान मेलाका रुपमा दृष्टिगौचर हुन्छ । झुलनोत्सवको शुरुआत सन्त परम्पराको प्रारम्भदेखि नै भएको मानिन्छ । सन्तहरु खुला चौरमा अथवा कुनै रूखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालिग्रामलाई आशनमा राखी झुलाउने गर्दथें । 

जनश्रुतिअनुसार सीताको माइतीमा दाइजोका रुपमा प्राप्त मणिहरु महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृतिस्वरुप झुलनोत्सवको प्रारम्भमा रङ्गभूमिमा आज पनि मणिपर्वत मनाउने परम्परा छ । त्रेतायुगमा राम र सीताको शुभ विवाहको उपलक्ष्यमा विदेह राजा शिरध्वज जनकले अयोध्यावासीलाई उपहारस्वरुप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रङ्गभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थहरुमा उल्लेख छ । जसअनुसार यो पर्व प्राचीन समयदेखि मनाउँदै आएको जनविश्वास छ । मणिपर्वत पर्व विधिवत् सम्पन्न भएपश्चात् साँझदेखि स्थानीय मठमन्दिरमा धार्मिक रीतिरिवाजअनुसार झुलनोत्सव शुरु हुने गर्दछ । 

राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी भगवान्का प्रतिमा डोला (पिङ झुला) मा राखेर झुल्याउने गरिन्छ । तसर्थ यसलाई झुलन अथवा झुला भनिन्छ । राम, सीता, राधा, कृष्णको सुखद संयोगको आभास यो लोकोत्सवमा गर्न सकिन्छ । भक्तिभावले भरिपूर्ण लोकोत्सव भएकाले भक्तजन र श्रद्धालु रातभरि भजन कीर्तन र नाचगान गरेर यसलाई मनाउने गर्दछन् । राम र सीता, कृष्ण र राधा दुवैप्रति भक्तिभावको समान धारा यहाँ प्रवाहित भएको प्रतीत हुन्छ । 

अहिले सम्पूर्ण मिथिलाञ्चलवासी सो अवसरमा जुनेली रातभरि भजनकीर्तन, र नृत्यको सङ्गीतमय वातावरणमा रम्दै गीतहरु गाउने गर्दछन् । यसलाई कजरी भनिन्छ । समग्रमा कजरी र झुलालाई एकअर्काका पूरक मानिए तापनि यी दुवैमा फरक नभएको चाहिँ होइन । 

कलियुगमा भगवान् प्राप्तिको मार्ग सीताराम नामको जप नै छ । झुलामा रामनामको जप तथा कीर्तन भक्तजनबाट हुन्छ, जसबाट मानिसको मनमस्तिष्कमा केही न केही सकारात्मक परिवर्तन हुन्छ । यस पर्वमा युवतीले झुला गाउने र भगवान्को पूजाअर्चना गरेपछि सम्पूर्ण उपस्थित भक्तजनलाई पूmलपाती, पञ्चामृत र नैवेद्य बाँड्ने चलन छ । 

मिथिलाञ्चलको मठमन्दिरमा साउन महीनाभरि झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् सम्पन्न गर्ने धार्मिक परम्परा रहेको धनुषा महेन्द्रनगरका पण्डित तथा शिक्षक लालबाबु झाले बताउनुभयो । 

जनकपुर क्षेत्रका प्रत्येक मठमन्दिरमा झुलनोत्सव मनाइए पनि जनकपुरको जानकी एवं राम मन्दिरमा विशेषताका साथ मनाइन्छ । जानकी मन्दिरमा विशेष प्रकारका तीन सिंहासनमा रामसीताको मूर्ति राखी झुला झुलाउने गरिन्छ । 

त्यस्तै राम मन्दिरको झुलनोत्सवका लागि गङ्गासागर र धनुषसागरको मध्यमा निर्माण गरिएको झुला घरमा झुलनोत्सव अवधिभरि नै विशेष किसिमले मनाइने गरिएकामा समाज विकासका नाममा यस परम्परालाई हटाउँदै राम मन्दिरको बरण्डामा सीमित गरिएको छ । 

जनकपुरमा झुलनोत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्त सुरकिशोर दासबाट भएको पनि कथन पाइन्छ । दासको आगमनको समय सन् १७३० मानिन्छ । लक्ष्मण मन्दिर, दुल्हादुल्हिन, रत्नसागर, रसिक निवास र अग्निकुण्ड मन्दिरको झुलनोत्सवले पनि जीवनलाई आनन्दमय रुपमा ग्रहण गर्न प्रेरित गर्दछ । सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायण लगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ । 

जोगी सन्यासीले आफ्ना आराध्य देवलाई झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । यसैगरी जनकपुरमा रामसीता साउनमा झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा छ । पहिले जनकपुरको संरचिया कुटीको नाच, बहुअर्बा कुटिको छोकरबाजी, राम र जानकी मन्दिरमा हुने गरिएको नाच हेर्न रसिकहरु वर्ष दिनको प्रतीक्षा गर्दथे तर अहिले यी सबै परम्परामा ह्रास आएको छ । 


ADVERTISEMENT

– अजयकुमार साह / रासस
 

भदौ ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस