चप्पल लगाउने नेता महलमा पुग्दा जनताको अवस्था किन दयनीय ?

भदौ १८, २०७५

सबै पुराना मान्यता बेठिक हुँदैनन्, न सबै नयाँ कुरा नै ठीक वा राम्रा हुन्छन् । ती दुवै कुरा जनता र राष्ट्रको, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव समुुदायको सापेक्षतामा कत्तिको उपयोगी र सहयोगी छन् ? त्यही वस्तुगत आधारमा तिनको निरुपण गर्नुपर्ने हन्छ, ठीक बेठीक छुट्याउनुपर्ने हुन्छ । चाहे त्यो कुरा दर्शन, विचार, सिद्धान्त र नीतिको सन्दर्भमा होस, चाहे राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र संस्कृतिका विषयका कुरामा होस् ।

वैज्ञानिक, वस्तुगत तर्कका आधारमा तिनका बारेमा सही निष्कर्ष निकाल्न सकिन्छ र निकालिनुपर्छ । यो तरिकाले हामीलाई सही कुरालाई पक्रिन र गलत कुरालाई तिलाञ्जली दिन मद्दत गर्दछ । समाजलाई पहिलेभन्दा उन्नत, सभ्य र सुसंस्कृत दिशामा अघि बढाउन सही मार्गदर्शन गर्दछ । यसमा मुख्यतः उत्पादन, वितरण र उपभोगकै आधारभूत कुरा आउँछ । यसै कुरासँग अन्य तमाम कुरा जोडिएका वा अन्तर्सम्बन्धित भएका हुन्छन् ।


ADVERTISEMENT

यस सन्दर्भमा पुराना राजनीतिक ज्ञाता चाणक्यको एउटा मान्यताको कुरा मात्रै गर्ने हो भने पनि धेरै कुरा सुस्पष्टरुपमा उजागर हुन सक्छ । चाणक्यले आफ्नो जमानामा शासन व्यवस्थालाई सल्लाह दिँदै भनेका थिए – ‘प्रजाको सुख नै राजाको सुख हो’ । यस कुरालाई मान्ने हो भने आदर्शरुपमा राजनीतिको लक्ष्य अरु केही होइन, केवल र केवल जनकल्याण मात्र हुन्छ । 

यहाँ के यथार्थ कुरा उल्लेख गर्नै पर्दछ भने हिजो ‘नेता’ शब्द र राजनीतिको क्षेत्रमा मात्र त्याग, बलिदान र देशका लागि निःस्वार्थ समर्पण गर्ने व्यक्तिका लागि मात्र यो सुरक्षित रहन्थ्यो । नेताले जनताका दुःखकष्टका भारलाई कम गर्दथ्यो । राजनीति एउटा सम्मानित र आदर्शको कुरा मानिन्थ्यो । तर, आज राजनीति यो लक्ष्यबाट बिस्तारै–बिस्तारै टाढा–टाढा हुँदै गइरहेको छ । राजनेताको सामाजिक लगावका सीमा खुम्चिँदै–खुम्चिँदै गइरहेका छन् । आज हरेक राजनीतिक दल जाति, धर्म र क्षेत्रको समेत आधारमा आफ्ना प्रत्याशी खडा गर्न थालेका छन् ।

राजनीतिको जातिकरण हरेक क्षेत्रमा चरमोत्कर्षमा पुग्न थालेको देखिँदैछ । यसको दुष्प्रभाव अन्य संस्थामा पनि नराम्ररी पर्दै गएको देखिएको छ । कारण के हो भने राजनीतितर्फको आकर्षणमा आज सेवाको भाव सकिँदै र निमिट्यान्न हुँदै गएको छ । त्यसैले राजनीतिमा पनि अन्य व्यापार व्यवसायजस्तै आजीविका अर्थात् व्यवसाय वा धनोपार्जनको माध्यम बनिसकेको वा बनिरहेको छ । त्यसैले आजका नेताले दुनियाको लागत अर्थात् नाफाको गणित अनुसार कदम उठाउन थालेका छन् । 

यस परिप्रेक्षमा आज हाम्रो देशको मात्रै कुरा गर्ने र सम्पन्न ३ तहको निर्वाचन र त्यसपछिको आजको स्थिति विकासलाई मात्र हेर्ने हो भने पनि राजनीति डरलाग्दो पैसाको खेलमा परिणत भएको छ र भइरहेको छ । आज त चुनावको टिकट पाउनदेखि लिएर मतदाताको मत पाउनसम्म हरेक चरण–चरणमा पैसै पैसाको खेल चल्ने गरेको छ । तल वडा सदस्यदेखि लिएर माथि संघीय सांसदसम्मका लागि लाखौं–करोडौंको हिसाबकिताब अर्थात् चुनावी कारोबार भएको वा हुने गरेको भुक्तभोगीले नै बताइरहेका छन् । अनि त के अस्वाभाविक हँुदैन यसरी चुनाव जितेपछि भने त्यो चुनावी खर्चको असुली गर्ने उपायको अबलम्बन गर्न थालिन्छ ।

चुनाव आयोगले चुनावी खर्चको जुन औपचारिक खर्च तोकेको छ, खर्चको विवरण प्रस्तुत गर्दा त्यही सीमाभित्र वा त्योभन्दा कम खर्च गरिएको नक्कली कागजात बनाइन्छ । कतिपय देशमा यस्तो असीमित चुनाव खर्च के कसरी घटाउने भन्ने चर्चा र विचार बिमर्श चल्न थालेको छ । तर, हामी कहाँ त यो कुरा अहिले सामसुम पारिएको छ । देशमा सर्वत्र भ्रष्टाचार बढ्नु र भ्रष्टाचारीमाथि प्रभावकारी कारबाही नहुनु र तिनलाई ढाकछोप र सामसुम पार्ने कार्यमा सत्ताधारी राजनैतिक दलहरू देखिनु यसैको ज्वलन्त उदाहरण हो ।

वास्तवमा राजनीतिमा आज प्रवेश गर्नेहरू धनाढ्य र सम्पन्न मात्रै हुने स्थिति छ । जसले गर्दा आम परिवर्तनकारी नेपाली जनआन्दोलनमा सक्रिय, समर्पित र संगठितरुपले संलग्नको कुनै अर्थ रहन छोडेको छ । फलतः राजनीतिमा अपराधीकरण र भ्रष्ट प्रवृत्ति व्यापकरुपमा बढ्दो छ वा बढ्दै जाने सम्भावन व्याप्त छ । यहाँ के उल्लेख गर्नु पनि अनुपयुक्त हुँदैन भने पहिला–पहिला राजनीतिककर्मीको व्यापक र प्रामाणिक जनाधार पनि हुन्थ्यो । उनीहरूमाथि नेतृत्वका कथित ‘हाइ कमान’द्वारा प्रायोजित नभएर जनतासँग जोडिएका हुन्थे निरन्तर भेटघाट र संवादको माध्यमद्वारा । उनीहरूका समस्या र त्यस क्षेत्रको यथार्थ स्थितिको खबर हुन्थ्यो । आज त सञ्चार जगतका चालू खबरहरू अर्थात् खबरतन्त्रले नै यो काम गर्ने गर्दछन् । उनीहरूकै समाचारमा भर पर्ने गरिन्छ । तिनैले नेताको छवि पनि निर्माण गर्ने गर्छन् ।

वास्तवमा ‘सञ्चार व्यवस्थापन’ राजनीतिको एउटा प्रमुख काम मानिने गरिन्छ र सञ्चारबाटै नेताहरू जनतासँग जोडिएको मानिन्छ । यो पनि जरुरी कुरा नै हो । तर, यसले जनतासँग प्रत्यक्ष सम्पर्कको स्थान कदापी लिन सक्दैन । निश्चय नै सञ्चारमाध्यम जनसम्पर्कका लागि भन्दा पनि प्रचारका लागि अवश्य सहायक हुन सक्छन् । यसमा कुनै द्विविधा छैन र हुँदैन । तर, तिनले कसको प्रचार के आधारमा गर्छन्, अत्यन्तै गम्भीर र विचारणीय विषय छँदैछ । यस स्थितिमा आज दुःखका साथ भन्नैपर्छ कि ‘जनता’ र ‘लोकतन्त्र’ जस्ता अर्थपूर्ण शब्द केवल दलको नाम र मञ्चको भाषणमा मात्र सीमित हुन पुगेका छन् । त्यसले गर्दा हिजोभन्दा तिनको अर्थ पनि फरक पर्न थालेको छ । यस्तो अवस्थामा एकातिर जनसाधारणको छिट्टै बिर्सने बानी हुन्छ, अर्कोतिर आफ्ना ज्वलन्त समस्या प्रदेश र केन्द्रमा पुर्याउन लामो फन्को मार्नुपर्ने स्थिति हुन्छ । 

एउटा समय थियो – राजनीति क्षेत्रमा कोही संलग्न हुन जानु भनेको एक किसिमले सन्यास लिन जाने जत्तिकै ठूलो त्याग, समर्पण र उच्च आदर्शको कुरा मानिन्थ्यो । राजनीति तपस्या थियो । राजनीतिको ढोका तिनैका लागि मात्र खुल्दथ्यो, जसले आफ्ना व्यक्तिगत र पारिवारिक प्रायः सबै कुरा परित्याग गर्न तयार हुन्छन् । सर्वस्वहरण र जन्म कैद हुँदा पनि या फाँसीकै फन्दामा झुण्डिनु पर्दा पनि राजनैतिक नेता कार्यकर्ता उच्च तथा साँचो गौरवको अनुभूति गर्ने गर्दथे । तिनको सही अर्थमा आत्मबल अत्यन्तै उच्च र अनुकरणीय हुने गर्दथ्यो । तिनको तुलनामा आजका राजनेताको ठाँटबाट, वरिपरि लावालस्कर र तामझाम हेर्दा तिनले राजा महाराजालाई उछिनेको र कोशौं पछाडि छोडेको प्रतीत हुन्छ, भइरहेको छ । आजका यस्ता नेताले आफ्नो धरातल या भुइँ छोडिरहेका या छोडिसकेका छन् । त्यतिबेलाका नेता जनसुलभ थिए ।

आज त जनताले उनलाई भेट्न नै अत्यन्तै कठिन छ । उचित माध्यम बिना तिनलाई जनता कसैले सहज तरिकाले भेट्न र आफ्ना तत्कालीन र दीर्घकालीन समस्या राख्न पनि पाउँदैनन् । नेता छेउ निर्धक्क पुग्न सक्दैनन् । सत्तामा आसिन भएपछि नेता र जनताबीच परस्पर अन्तराल अरु बढ्न पुग्छ । नेताको आफ्नो घमण्ड र तुजुक पनि झन्–झन् बढ्न थाल्छ । उसले तिनै कुरालाई अझ सम्वद्र्धन गर्न लाग्दछ । सत्तातन्त्र तिनैको व्यवस्थापन गर्न लागि रहेको हन्छ । यस्तो स्थितिमा नेता र जनताको संवाद झन्–झन् कम हुँदै जान्छ । यसको अर्को एउटा पक्ष के पनि हुन्छ भने अहिलेका नेतालाई जनताबाट काटिएको प्रायः एकांगी र अधूरो अर्थ–सामाजिक चित्र नै मात्र मिल्ने र त्यसैमा रम्ने प्रवृत्ति र राजनीतिक संस्कृति बन्दछ ।

त्यसैले आज राजनीति अर्थकारी र लाभकारी विद्या बन्न गएको छ । जहाँ कम लागतमा बढी फाइदा सम्भव हुन सक्छ । सक्रिय राजनीतिमा शामिल हुँदा मानिसको सम्पत्तिमा जति बढी बृद्धि भयो त्यो चमत्कार जस्तै मानिन्छ । साधनभन्दा जति बढी आम्दानी केही वर्षमै बढेको देखिछ यो कुनै तन्त्र, मन्त्र, टुना, मुनाको अतिरिक्त कुनै सामान्य मानिसका लागि सम्भव छैन र हुँदैन । आज त राजनीतिमा सेवाको ठाउँमा स्थार्थ स्थापित र व्याप्त भइसकेको छ । यस स्थितिमा राष्ट्रिय राजनीतिको वैचारिक पृष्ठभूमि नराम्रोसँग खस्किँदै गएको र अनाकर्षक भएर ओझेलमा परेको देखिँदैछ । 

यसरी विचार, सिद्धान्त, नीति, नैतिकता, इमान्दारिता सबै कुराबाट राजनीति विमुख हुनु भनेको कुनै उन्नति बिल्कुलै होइन । यो अधोगतिको मात्र बाटो हो । यस स्थितिलाई चिरेर पुनः सही बाटोमा राजनीतिलाई खडा गर्ने महत्वपूर्ण दायित्व फेरि पनि समाजका निष्ठावान क्रान्तिकारी शक्तिकै काँधमा आउँछ । उनीहरूले यान्त्रिक नक्कल, कोरा भावुकता र पाखण्ड प्रदर्शनजस्ता कुरालाई बिल्कुलै छोडेर राजनीतिलाई जनता र राष्ट्रको हितमा सही किसिमले अघि बढाउने दायित्व निर्वाह गर्नै पर्दछ । यही मात्र सही बाटो हो – आमूल क्रान्तिकारी परिवर्तन, स्वाधीनता, समानता, समुन्नति र शतत् शान्तिका निमित्त ! अन्यथा अधोगतिको ओरालो लाग्नु शिवाय देश र जनताका लागि अरु केही हुन सम्भव छैन ।

भदौ १८, २०७५ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस