स्वदेशमा निर्वाचन, विदेशमा मतदान

भदौ २०, २०७५

सर्वोच्च अदालतको ७ चैत्र २०७४ को एउटा फैसलाको पूर्णपाठ पाँच महिनापछि यसै साताको शुरूमा ( भाद्र १७ गते ) सार्वजनिक भएको जानकारी प्रेसमा आएको छ जसअनुसार न्यायाधीशद्वय सपना मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस आशयको आदेश जारी गरेको छ:--विदेशमा बसेका नेपाली नागरिकलाई अर्को पटकको निर्वाचनमा भाग लिन पाउने व्यवस्था गर्नू ।

अधिवक्ता प्रेमचन्द्र राईको रिट-निवेदनका सन्दर्भमा गरिएको यस आदेशलाई सिद्धान्तत: स्वागतयोग्य मान्नुपर्ने हुन्छ किनभने यस मुताबिक चाँजो मिल्न सकेमा हाल प्रवासमा रहेका दशौंलाख नेपाली नागरिकले बालिग मताधिकारको उपयोग गर्न पाउनेछन् । आवधिक मतदानको अभ्यासले लोकतन्त्र सुदृढ हुने मान्यतालाई ध्यानमा राख्दा फराकिलो दायरामा हुने यस्तो अभ्यास झन् सार्थक हुनपुग्छ; यसमा सन्देह रहेन ।


ADVERTISEMENT

माथि नै भनियो, सिद्धान्तत: सर्वोच्च अदालतको आदेश सकारात्मक पहल हो जसलाई नेपाल सरकार र निर्वाचन आयोग दुवैले सही दिशाको कदम मान्नेछन् । परन्तु चर्चित आदेशलाई कार्यरूप दिने विषय यी दुवै निकायको लागि चुनौतीयुक्त छ। पहिलो कुरो, नेपालजस्तो सीमित साधन-स्रोत भएको देशले मुलुकभित्रको चुनाव धान्न त गाह्रो छ भने देशबाहिर गएर यस्तो काम फत्ते गराउन लाग्ने खर्चको जोहो कसरी गर्ने ? अनि इलम रोजगारीको सिलसिलमा वर्षौं विदेशमा बसेका नेपालीले नेपालका निर्वाचनक्षेत्र एवं उम्मेदवार र तिनका चुनावी घोषणापत्रका सम्बन्धमा कति जानकारी राख्न भ्याएका हुन्छन् र ? तिनले खसालेको मतले कस्ता-कस्ता उम्मेदवार चुनिएलान् ? अर्को कुरा : विदेशी भूमिमा मतदान गराउँदा कुनै किसिमको विवाद निस्के नेपाल कानून लाग्ने कि मतदान गराइएको देशको कानून क्रियाशील हुने ? यी र यस्ता जटिल प्रश्नबारे गहन सोच र विश्लेषणको आवश्यकता पर्दछ । 

गएको जेठ ११ गते ( २५ मे ) युरोपेली देश गणतन्त्र आयरल्याण्डमा गर्भपतनको विषयमा जनमतसङ्ग्रह आयोजना गरिएको थियो । र, त्यसमा मतदान गर्न भनेर संसारभर छरिएका आयरिश नागरिकहरू बिदा लिएर स्वदेश फर्किए । आफ्नो मुलुकप्रतिको अपनत्व र दायित्वबोधको यो अनुकरणीय दृष्टान्त हो । भन्नुपरेन, आयरल्याण्ड नेपालभन्दा आर्थिक हिसाबले निकै सम्पन्न राष्ट्र हो । तर त्यहाँको सरकार र निर्वाचन आयोग परदेशमा मतदानको व्यवस्थातिर लागेनन् ; नागरिकहरूले पनि यस्तो देखादेख अव्यावहारिक हुने माग राखेनन् ।  

कुनै वस्तु वा चलन राम्रो देखिनु एउटा कुरा हो, भलाइ गर्ने कुरा अर्कै हो । जस्तो, अमेरिका वा अन्य पश्चिमी परिपाटीलाई नेपालको परिवेशमा लागू गर्न खोज्दा अनेक विकृति देखापर्छन् । संसदीय सुनुवाइको अमेरिकी ढाँचा नेपालमा प्रयोग गर्न खोज्दा प्रधानन्यायाधीशको सिफारिश विवादमा परेको ताजा घटना हामी सबैको सामु छ । केही महिनायता स्खलित न्यायपालिकाको साख यस चर्चित विवादले अझ ओह्रालो लगाएको तथ्य जग-जाहेर छ । यो अवाञ्छनीय प्रवृत्तिमा रोक लगाइहाल्नुपर्ने स्थिति छ ।

हो, राजनीति गर्नेहरूले सस्तो लोकप्रियता हासिल गर्न थरी-थरीका तरिका अपनाउन सक्छन्, तर न्यायपालिकाले आफ्नो सामु आएका मुद्दाको पुर्पक्ष र निरूपण गर्दा अत्यन्त गम्भीर भएर निर्णय लिएको हुन्छ भन्ने अपेक्षा गरिएको हुन्छ । तसर्थ त्यस अपेक्षाको उपेक्षा नहोस् भन्ने ‘लोकान्तर’ को  सुझाउ हो ।   

भदौ २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस