×

NMB BANK
NIC ASIA

अन्त्येष्टि संस्कार छोट्ट्याउने विषयमा चलाइएको निरर्थक बहस

अनर्थका अनन्त शृंखला

भदौ २६, २०७५

NTC
Sarbottam
तस्वीर : hinduismtoday.com
Premier Steels
Marvel

“यो हल्लैहल्लाको देश हो” 
कवि भूपि शेरचनले भनेजस्तै नेपालमा कुनै न कुनै विषयको हल्लाले स्थान पाइरहन्छ । चाहे त्यो राजनीतिक विषय होस् वा सामाजिक, सांस्कृतिक वा अरू कुनै । यतिबेला नेपाली बजारमा फेरि एकपटक सनातन संस्कृतिमा गरिने अन्त्येष्टि संस्कार वा काजकिरियाको अवधिको विषयमा गरमागरम बहस शुरू भएको छ । 

हुन त यस्तो स्थिति नेपालमा पहिलेदेखि नै शुरू भएको हो । विना पूर्वतयारी लामो समयदेखि देशमा स्थापित राजसंस्थालाई पाखा लगाएर लोकतान्त्रिक गणतन्त्रको स्थापना गराई शुरू गरिएको क्रमभङ्गताले सर्वत्र स्थान पाएको छ तर त्यसको प्रभाव कस्तो भइरहेको छ र के हुनेछ भन्ने लेखाजोखा पटक्कै भएको छैन । संरचनाको स्वतः विनाश प्राकृतिक नियम हो तर बलजफ्ती र समयअगावै निम्त्याइएको विनाशबाट क्रमभङ्ग मात्र हुन्छ तर अग्रगमन हुनसक्दैन भन्ने कुरा देशका हरेक क्षेत्रका अगुवा भनाउँदाहरूले बुझ्नसकेका छैनन् वा बुझ्न चाहिरहेका छैनन् । त्यसैले हरेक क्षेत्र लथालिङ्ग र भताभुङ्ग छ अनि बाह्य प्रभाव विशेषरूपमा बढ्दो छ । 

धार्मिक एवं सांस्कृतिक क्रमभङ्गताबाट मात्र यहाँको मौलिकता र अस्तित्व मेट्न सकिन्छ भन्ने पूर्ण ज्ञान भएका पश्चिमाहरूको अभियानमा होमा हो मिलाएर आस्था मेटाउन लागिपरेका नामधारीहरूको क्रियाकलापबाट साधारण जनता आहत भएका छन् तर त्यसको विरुद्धमा बुलन्द आवाज उठाउने बलियो स्थान पाइरहेका छैनन् । जनताको नाममा गरिएको भनिएका हरेक क्रियाकलापबाट जनता आफैं पीडित र निरीहजस्तै बनिरहेका छन् । सांस्कृतिक अतिक्रमणको प्रत्यक्ष असर बहुसंख्यक सनातन हिन्दू धर्मावलम्बी समाजमा परेको छ ।

हरेक विषय र क्षेत्रलाई अदृश्य शक्तिको आडमा राजनैतिक बनाइएको छ । जनभावना विपरीत २०६३ सालमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । राष्ट्रको पहिचान मेटाइयो । सरकारकै तर्फबाट प्रत्यक्ष रूपमा सांस्कृतिक हस्तक्षेपको शृङ्खलाबद्ध रूपमा शुरूआत हुँदैगयो ।

०६५ सालमा नेपालको मात्र नभएर विश्वका सम्पूर्ण हिन्दूहरूको आस्थाको केन्द्र, सनातनीहरूको आराध्यदेवता, राष्ट्रदेव भगवान् पशुपतिनाथको पूजापरम्परामा अवरोध हुने गतिविधि सिर्जना गरियो ।

भारतमा धेरै अगाडि नै कुरा उठाइएको तर जनस्तरबाट अनुमोदन हुन नसकेको, सायन र निरयणको बहस उठाएर चाडपर्व सुधारको नाममा सांस्कृतिक विचलन ल्याउने अनि जे गरे पनि हुने रहेछ भन्ने बनाएर आस्तिक जनतामा भ्रम सिर्जना गरी अनास्था फैलाउन सक्रिय समूह, जुन त्यसभन्दा झन्डै एक दशक अघिदेखि नै क्रियाशील थियो, त्यसको गतिविधि पनि त्यही समयमा बढ्यो ।

सरकारले त्यस्तो गतिविधिलाई प्रश्रय मात्रै दिएन विश्वले अँगालेको इस्वी संवत् नेपालले पनि मुख्य रूपमा मान्ने भन्ने खालको अभिप्राय प्रकट गरी नेपालको राष्ट्रिय संवत् विक्रम संवतलाई प्रतिस्थापन गरी इस्वी संवतलाई नै राष्ट्रिय संवतको रूपमा मान्ने निर्णय गरेर त्यस्ताखाले गतिविधिलाई मलजल समेत गर्‍यो । त्यसो गर्दा पर्नजाने सकारात्मक वा नकारात्मक प्रभावको बारेमा अध्ययन नै नगरी गरिएको निर्णयका कारण आस्तिक जनताको विरोधका बावजुद सरकार एक कदम पछि हट्नुपर्‍यो । सरकारले गरेको निर्णय कार्यान्वयनको चरणमा पुगेर स्थगित भएको अवस्थामा छ । 

अहिले फेरि अर्को अध्याय शुरू भएको छ । संस्कार सुधार समाजको नाममा सनातनीहरूको काजकिरियाको अवधिका बारेमा बजारमा बहस आरम्भ भएको छ । यसबाट ठूलै प्रभाव पर्नसक्ने आँकलन आस्तिक जनताले गर्नथालेका छन् ।

हालसम्म आ–आफ्नो परम्परा अनुसार काजकिरिया गर्दा सरकारी वा निजीस्तरमा कार्यरत कर्मचारीहरूले बिदा पाउने प्रचलन रहिआएको छ । यो प्रथा विश्वभरि नै छ ।

त्यसो हुँदा सनातनीहरूले १३ दिन किरिया बिदा पाउने गरेका छन् । तर अब १३ दिन क्रिया बिदा दिएर विकास अवरुद्ध भएको हो भन्ने भ्रम सिर्जना गरेर त्यो सुविधा समेत खोस्ने प्रयासको लागि उक्साइँदै छ । बिदा काट्ने नाममा अन्य धर्मावलम्बीलाई पछि आएर मात्र दिन थालिएको बिदा काट्ने आँट सरकारले गरेन तर बहुसंख्यक सनातनी भएको देशमा सदियौंदेखि पाउँदै आएको कृष्ण जन्माष्टमी, रामनवमी, जनैपूर्णिमा जस्ता पर्वका बिदा काटिएका छन् । त्यसैले अब क्रिया बिदा पनि काटिन के बेर भनेर आस्तिक जनता त्रसित बनेका छन् । 

विश्वमा चलिआएका धर्म, संस्कृति र परम्परामा सनातन धर्म, संस्कृति र परम्परा नै उदात्त छ । तसर्थ यहाँ जति र जस्तोसुकै व्यक्तिहरू पनि अटाएका छन् । सनातनीहरूको सहिष्णुता पनि यति धेरै छ कि यसको फाइदा अरूले उठाइरहेका छन् । हुँदा हुँदा अहिले त यस्तो अवस्था आएको छ कि हाम्रो नामलाई पनि अरूहरूले तिम्रो नाम त यो पो हो, त्यो होइन भन्ने आँट गरिरहेका छन् । हाम्रा धार्मिक विधिनियमहरू पनि उनीहरूले नै बनाइदिन थालेका छन् ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै विश्वमा कहीँ नभएका गतिविधिहरू हाम्रोमा भइरहेका छन् । त्यसैले त सनातन विद्वत् परिषद्, नेपालले हाम्रो परम्परामा पहिल्यैदेखि नै चलिरहेको हुँदाहुँदै पनि फेरि सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै भन्ने पुस्तक प्रकाशित गर्न बाध्य हुनुपर्‍यो । 

संसारका हरेक समुदायका आफ्ना आफ्ना परम्परा रीतिरिवाज र चालचलनहरू हुन्छन् । हामी सनातनीहरूको आप्mनैखाले सुसंस्कृत परम्परा छ । पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्ने,  श्रुति, स्मृति र पुराणहरूलाई क्रमिक रूपमा प्रमाण मान्ने, गाई, ब्राह्मण, देवता, गुरु र अतिथिहरूको पूजा गर्ने , शिखा, सूत्र र वर्णाश्रम व्यवस्थामा विश्वास गर्ने पछिल्लो कालखण्डमा हिन्दूका नामले विश्वमा प्रसिद्ध सनातनीहरूको ४८ संस्कारको विषयमा गौतमधर्मसूत्रमा बताइएको पाइन्छ । संस्कारका विषयमा ८, १०, १३, १६, २५, ४० र ४८ अनेक गणना पाइन्छन् तर पनि १६ संस्कारहरूलाई मुख्य रूपमा मानिएको छ । असंस्कृत व्यक्ति त मोक्षको अधिकारी पनि हुन नसक्ने कुरा स्मृति ग्रन्थहरूमा बताइएको छ । 

धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थलाई सनातन धर्म र आस्तिक दर्शनको प्राण मानिन्छ । धर्मपूृर्वक अर्थको उपार्जन गर्दै विषयको उपभोग गर्ने र अन्त्यमा मोक्ष प्राप्त गर्ने लक्ष्य सनातनीहरूले राख्छन् र राख्नुपर्छ । आत्मा दुई किसिमको हुन्छ । जीवात्मा र परमात्मा । परमात्मा ब्रह्म वा ईश्वरीय सत्ता हो भने जन्म–मरणको चक्करमा पर्ने जीवात्मा हो जो परमात्माकै अंश हो । जीवात्माले परमात्माको आश्रय पाउनु नै मोक्षको स्थिति हो । पाञ्चभौतिक शरीरलाई चैतन्य तत्त्वले छोडेपछि पञ्चमहाभूत त तत्तत् स्थानमा लीन हुन्छ । आत्मस्वरूप उक्त चैतन्य तत्त्व भने संस्कृत भएमा योग्य स्थानमा जान्छ तर असंस्कृत भएमा यताउति भौंतारिइरहन्छ ।

यसलाई वर्तमान समयका वैज्ञानिकहरूले समेत मानेका छन् । भारतको (भाभा) परमाणु केन्द्रमा तीन वर्षसम्म कार्यरत एकजना वैज्ञानिकले भनेका थिए – शरीर सञ्चालन हुन्छ एकप्रकारको ऊर्जाले, त्यो ऊर्जा रहेसम्म शरीरमा कार्यक्षमता रहन्छ, त्यसले छोडेपछि मरेको भनिन्छ । त्यो ऊर्जा १२, १३ दिनसम्म संक्रामक बनेर घुमिरहन्छ । त्यसकारणले सनातन हिन्दू समाजले कसैको मृत्युपछि त्यस संक्रामक ऊर्जाबाट बच्नका लागि अन्त्येष्टि क्रियाका लागि १३ दिनको व्यवस्था बनाएको हो । दुःखको कुरा पश्चिमाहरूले सहजै बुझेको “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः” भन्ने विषयलाई नेपालका अगुवा भनाउँदाहरूले बुझ्नै सकेनन् वा बुझ्नै चाहेनन् । स्वधर्म र संस्कृति ठूलो हो र यसको सक्दो विस्तार गर्नुपर्छ भन्ने कुरा बुझेरै पश्चिमाहरू खुलेर लागिरहेका छन् तर त्यही कुरा नबुझेजस्तो गरेर नेपालका अगुवा भनाउँदाहरू उनीहरूलाई खुशी गराएर आफ्नो तुच्छ स्वार्थ पूरा गराउनका लागि त्यस्तो अवसर प्रदान गरिरहेका छन् र आफ्नो बिरासत मास्दैछन् । नव कालिदास बन्दैछन् ।    

शास्त्रप्रमाण नै सर्वोपरि  
हाम्रो मूल शास्त्र वेद हो । त्यसैले वेदाः प्रमाणम् भन्ने भनाइ प्रचलित भएको हो । मनुस्मृतिमा पनि श्रुति, स्मृति, शिष्ट धर्मानुयायीहरूको आचारपरम्परा, सदाचार र सदाचारी व्यक्तिको आफ्नो प्रिय कर्मलाई धर्मको मूल आधार मानिएको छ । 

वेदोऽखिलो धर्ममूलं स्मृतिशीले च तद्विदाम् ।
आचारश्चैव साधूनामात्मनस्तुष्टिरेव च ।।


वेदलाई विस्तार गर्न धर्मशास्त्र र पुराणहरू आविर्भाव भएका हुन् । शास्त्रनिर्दिष्ट विधिले शास्त्रानुकूल कर्म गर्नु नै धर्मसम्मत हुन्छ । वेदले निर्दिष्ट गरेको कर्म धर्म हो र तद् विपरीत आचरण अधर्म हो ।

वेदः प्रणिहितो धर्मः ह्यधर्मस्तद् विपर्ययः । 
जसले शास्त्रसम्मत विधानलाई छोडेर कर्म गर्दछ त्यसले न कुनै सिद्धि प्राप्त गर्दछ न त इहलौकिक एवं पारलौकिक सुख वा परम गति नै प्राप्त गर्दछ । कर्तव्य र अकर्तव्यको निर्णय शास्त्रबाटै हुन्छ भन्ने कुरा भगवद्गीतामा बताइएको छ । कर्तव्य र अकर्तव्यको निर्धारण गर्ने विषयमा शास्त्रवचन नै प्रमाण हुन्छ । त्यसैले शास्त्रोक्त विधानलाई बुझेर कर्म गर्नुपर्दछ । 

यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः । 
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ।।
तस्माच्छास्त्रं प्रमाणान्ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।। 


धार्मिक निर्णय शास्त्रसम्मत हुनुपर्छ 
जुन ग्रन्थले मानिसहरूको प्रवृत्ति र निवृत्तिको उपदेश गर्दछ त्यो शास्त्र हो । प्रवृत्ति भनेको लौकिक विषय र निवृत्ति भनेको मोक्षसम्बन्धी विषय हो । शास्त्रले प्राणीमात्रको हित र अहित हुने कारणको निर्धारण गर्दछ र हित हुने मार्गमा अघि बढ्नको लागि प्रेरित गर्दछ । त्यसैले हितानुशासनाच्छास्त्रम् भनेर शास्त्रको परिभाषा गरिएको पाइन्छ । शास्त्रानुकूल कर्म गर्ने व्यक्ति नै मनुष्य हो । मत्वा कर्माणि षीव्यन्ते इति मनुष्याः । शास्त्रानुकूल व्यवहार गर्नेलाई नर र मनपरि गर्नेलाई वानर भनिएको पाइन्छ ।

मतयो यत्र गच्छन्ति तत्र गच्छन्ति वानराः ।
शास्त्राणि यत्र गच्छन्ति तत्र गच्छन्ति ते नराः ।।


कसैको लहैलहैमा वा बहकाउमा लागेर गरिएको धार्मिक निर्णयले अन्ततोगत्वा आपैंmलाई हानि पुर्याउँछ । यो त शास्त्रसम्मत हुनुपर्छ । यसमा अल्पमत वा बहुमत कुनैले पनि अर्थ राख्दैन । शास्त्रसम्मत मत नै सर्वोपरि हुन्छ । 

धर्मशास्त्रको नियम कानूनभन्दा धेरै माथि  

यसको ज्वलन्त उदाहरण प्रायः इस्लाम र इसाई राष्ट्रहरूमा पाइन्छ । मस्जिद एवं चर्चका धर्मगुरुहरूले गरेको निर्णय नै राज्यको विधायिकाले मान्ने प्रचलन त्यहाँ देखिन्छ । पाप–धर्म, स्वर्ग–नर्क आ–आफ्ना आस्थाका विषय हुन् । हामी सनातनीहरूले मात्र आफ्नो धार्मिक कानूनलाई गुमाउँदै गएका छौं । राज्यको कानूनको त बेग्लै कुरा हुँदाहुँदा अब हाम्रो धार्मिक निर्णय पनि उनीहरूले नै गरिदिने कुचेष्टा गर्दैछन् । राज्य त्यसको सहयोगीजस्तै बन्दैछ ।

याज्ञवल्क्य, पराशर, वसिष्ठ प्रभृति आर्ष मनीषीहरूको असीम ज्ञान र अनुभवद्वारा ओतप्रोत चिन्तनको अनुसरण गरिरहेका हामीहरूलाई कुनै एनजीओ, आइएनजीओको प्रायोजनमा परिसंंस्कृत संस्कार संस्कृतिको स्वरूप बदल्न प्रेरित गरिन्छ । हाम्रा संस्कारहरू कसरी र कति दिनमा सम्पन्न गर्ने भन्ने विषयमा युनेस्कोले गोष्ठी गर्छ, क्रीतदासहरू त्यहाँ कुर्लन्छन्, हामी सनातनीहरू निरीह झैं बन्दैछौं । यो नै अहिलेको यथार्थ बनेको छ ।

Muktinath Bank

२०६८ सालमा सम्पन्न गरिएको जनगणना अनुसार नेपालमा ८१.३४ प्रतिशत नेपालीहरू हिन्दू धर्म मान्छन् । तर यत्रो संख्यामा भएका हिन्दूहरूमाथि जबर्जस्ती अशास्त्रीय विषय लाद्न खोजिँदैछ । संस्कार र धर्म–संस्कृतिमा पनि राजनीतीकरण हुँदैछ । अन्य राष्ट्रमा धार्मिक विषयमाथि जोडिने गरी सामान्य कुरा भएमा पनि सिङ्गो देशै उठेर प्रतिकार गरेको हामीले देखेका छौं तर यहाँ संवेदनशील विषयमा पनि वास्तै गरिँदैन । धार्मिक आस्थालाई लत्याइन्छ । यसको चपेटामा खासगरी सनातनीहरू परेका छन् ।

अन्त्येष्टि कर्म छोट्याउने अशास्त्रीय जमर्को 
नेपालमा केही नामधारीहरूबाट यस्तै काम हुँदैछ । हरेक क्षेत्रमा जस्तै धार्मिक क्षेत्रमा पनि विकृतिले जरा गाड्न थालेको छ । तथाकथित संस्कार सुधार समाजले पाँचदिने अन्त्यपद्धति समेत तयार पारेर विकृतिलाई संस्थागत गर्ने कुचेष्टा गरेको छ । समाजको संस्थापक अध्यक्ष भनेर लेख्ने शंकरप्रसाद पोखरेलले शास्त्रको हवाला दिँदै आफ्नो अज्ञानताको प्रदर्शन मात्र गरेका छैनन्, सर्वसाधारण आस्तिक जनतामा भ्रम फैलाएर धर्म–संस्कृति र नेपालको मौलिकता मास्न उद्यत प्रभुहरूलाई खुशी गराउन समेत सफल भएका छन् । शास्त्रको मर्म बुझ्न त परै जाओस् सामान्य अध्ययन समेत नगरिकन पनि विज्ञजस्तो बनेर हाम्रो सनातन मूल्य–मान्यताप्रति धावा बोल्ने काम भएको छ ।

यही क्रममा आफ्नो क्षेत्रमा सफल नेपालका केही स्वनामधन्य व्यक्तिहरू कुरै नबुझी १३ दिनमा सम्पन्न गर्नुपर्ने अन्त्येष्टि क्रियालाई थोरै दिनमा (७ दिनमा वा ५ दिनमा) सकेर प्रचारमा आए । राजेश्वर देवकोटा, उपेन्द्र देवकोटा जस्ता व्यक्तिहरूका काजक्रिया ७ दिनमा सकिएको भन्ने कुरा सञ्चार माध्यममा सुनिन आयो । मदनकृष्ण श्रेष्ठले आफ्नो पत्नीको क्रिया छोट्ट्याएर गराएको कुरा पनि सञ्चारमाध्यममा आयो । यस्तै भर्खर मात्र पनि (एक महिना अगाडि) नेपालको राजनीतिमा उदीयमान शक्तिको अगुवा नेताका रूपमा हेरिएका, बीबीसी नेपाली सेवाबाट अवकाश लिएका  चर्चित वरिष्ठ पत्रकार रवीन्द्र मिश्रले आफ्नो पिताको क्रिया शास्त्रको मर्मविपरीत थोरै दिनमा सम्पन्न गरेको कुरा चर्चामा आयो । बुद्धिजीवी सनातनीहरूले अब उनलाई कसरी विश्वास गर्ने ?

संस्कार सुधारको नाममा विकृति निम्त्याउन सहयोगीको भूमिका निर्वाह गरी क्रान्तिकारिता देखाउने  यिनीहरूले काजक्रिया नै नगर्ने आँट किन देखाएनन् ? यो भने अनुत्तरित नै छ । पाँच दिन वा सात दिनमा गर्नुमा र नगर्नुमा केही फरक नै छैन भन्ने कुरा शास्त्रको परिशीलनबाट थाहा हुन्छ । त्यसरी बुझ्दैनबुझी थोरै दिनमा काजक्रिया गरिएकाहरूको दुर्गति हुन्छ र वंशमा पनि अनिष्ट हुन्छ भन्नेमा विद्वानहरूको अभिमत प्रकट भएको छ । उनीहरूका अनुसार त्यस्ताको त फेरि शास्त्रविधिअनुसार पूरा काजक्रिया गर्नुपर्दछ ।   

आशौच कति दिन बार्ने ?
वस्तुस्वभावकृत् र कालकृत् गरी अशुचित्व दुई किसिमको हुन्छ । शव आदि अस्पृश्य वस्तु स्पर्शादिजन्य र मलमूत्रादिको अशुचित्व  वस्तुस्वभावकृत् अशुचित्व हो भने जननमरणादि हेतुजन्य अशुचित्व कालकृत् हो । कालकृत् अशुचित्व कालव्यतीत भएपछि मात्र निवृत्ति हुन्छ । वस्तुस्वभावकृत अशुचित्वलाई स्नान आदि कर्मबाट तुरुन्त समाप्त गर्न सकिन्छ भने कालस्वभावकृत् अशुचित्वलाई स्नानादि र दानादि कर्मबाट पनि समयअगावै समाप्त गर्न सकिँदैन । निश्चित काल व्यतीत हुनु अनिवार्य हुन्छ । 

जननाशौच र मरणाशौच कति दिन बार्ने र अन्त्येष्टि कर्म कति दिनमा सक्ने भन्ने विषयको निर्णय स्वशाखानुकूल सूत्रग्रन्थ र स्मृतिग्रन्थहरूले गर्दछन् । त्यसको विवरण पुराणहरूमा पनि पाइन्छ । शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखाध्यायीहरूका लागि पारस्कर गृह्यसूत्र, याज्ञवल्क्यस्मृति, मनुस्मृति आदि ग्रन्थहरू र तिनकै आधारमा प्रचलित सदाचार नै मूल प्रमाण हो । यी सबैले निम्न अनुसार जुठो र सुत्केरो बार्नुपर्ने कुरा बताएका छन् ।

१) सपिण्डीहरूको जाताशौच र मृताशौच दुवै १० रात बार्नुपर्छ । सात पुस्ताभित्रका दाजुभाइलाई सपिण्डी भनिन्छ । 
२) समानोदकको जाताशौच र मृताशौच ३ रात बार्नुपर्छ । १४ पुस्ताभित्रका दाजुभाइलाई समानोदक भनिन्छ । 
३) सगोत्रहरूको जाताशौच र मृताशौच १ दिन बार्नुपर्छ । २१ पुस्ताभित्रका दाजुभाइलाई सगोत्र भनिन्छ । 
४) त्यसपछिका दाजुभाइको आशौचमा स्नानमात्रले शुद्धि हुन्छ । 

गृह्यसूत्र मूलतः संस्कारविधायक शास्त्र हो तर पनि प्रसङ्गवश गृह्यसूत्रमा पनि आशौचका बारेमा चर्चा गरिएको पाइन्छ । पारस्कर गृह्यसूत्र माध्यन्दिनी शाखाको लागि विशेष ग्राह्य हो । त्यसमा प्रसङ्गवश आशौच चर्चा गर्दा त्रिरात्रं शावमाशौचं दशरात्रमित्येके भन्ने वाक्य प्रयोग गरिएको छ । यसैको अशास्त्रीय र एकाङ्गी अर्थ गरेर संस्कार सुधार समाजको नाममा अन्त्येष्टि क्रियालाई पाँच दिनमा सक्न सकिने कुतर्क गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रुतिमा उल्लिखित सूत्रहरूको व्याख्या याज्ञवल्क्य स्मृति, मनुस्मृति लगायतका ग्रन्थहरूमा पाइन्छ । याज्ञवल्क्य स्मृति माध्यन्दिनीय शाखाका लागि विशेष ग्राह्य र प्रामाणिक  स्मृति हो । पारस्कर गृह्यसूत्रकार पारस्करका पिता याज्ञवल्क्यको स्मृति गृह्यसूत्रभन्दा अझ पूर्वकालमा निर्माण गरिएको हो । यसमा १० रात आशौच बार्ने विधान गरेको छ । यस्तै मनुस्मृतिमा स्पष्ट रूपमा -       

दशाहं शावमाशौचं सपिण्डेषु विधीयते ।
अर्वाक् सञ्चयनादस्थ्नां त्र्यहमेकाहमेव च ।।


भनेर सपिण्डीहरूको आशौच १० रात, त्यसपछिको ३ रात र १ रात आशौच लाग्छ भनिएको छ । 

आशौच दिनका विषयमा शास्त्रमा विशेष व्यवस्था 
अग्निहोत्र व्रत लिएका र वेदव्रत लिएका व्यक्तिहरूका लागि गृहीत व्रतको निरन्तरताको लागि आशौच काल र कर्तव्यमा समेत वैकल्पिक व्यवस्था शास्त्रमा गरिएको पाइन्छ तर सबैको लागि होइन । यस्तै संस्कार नपुगेका र उमेर नपुगेका व्यक्तिहरूको आशौच कम दिनमा सकिन्छ । तर त्यसबाहेक कुनै पनि अवस्थामा सपिण्डीहरूको आशौच १० अहोरात्र बार्नुपर्दछ । पर्दैन भन्ने व्यवस्था शास्त्रमा कहीँ कतै छैन ।

दश दिनसम्म आशौच नै समाप्त नहुने हुनाले त्यसभन्दा पहिले नै काजक्रिया सक्ने भन्ने विषय शास्त्रीय हुनै सक्दैन । बरू विशेष अवस्थामा अन्तिम पाँच दिनमा (नवौं, दसौं, एघारौं, बाह्रौं र तेह्रौं गरी पाँच दिनमा) शुरूदेखिकै सम्पूर्ण क्रिया गर्न सकिने शास्त्रीय व्यवस्था छ तर शुरूका पाँच दिनमा होइन । यसबाट के बुझिन्छ भने विशेष अवस्थामा क्रियाकर्मको संक्षेपीकरण हुनसक्छ तर आशौच समाप्त हुन काल व्यतीत हुनैपर्छ, दिन छोट्ट्याउन मिल्दैन ।  

अन्त्येष्टि संस्कार नहुँदा जीवको दुर्गति
अन्त्येष्टि संस्कार नहुँदा वा शास्त्रसम्मत नहुँदा जीवको दुर्गति हुन्छ । गरुडपुराणमा आएको बभ्रुवाहन राजा र प्रेतकोे संवादप्रसङ्ग चिन्तनीय छ । कोही पनि नभएर अन्तिम संस्कार नभएकाले महान् प्रेतयोनिमा पुगी दुःख पाएको प्रेतलाई उसैको याचनाबमोजिम राजाले काजक्रियाद्वारा मुक्त गराएको प्रसङ्ग छ । अन्तिम संस्कार गरिदिएपछि उसको सद्गति भएको छ । पद्मपुराणमा वर्णित प्रसङ्गअनुसार, आफ्नो कुकर्म अनुसारको प्रायश्चित्त र काजक्रिया हुन नसक्दा धुन्धुकारीको दुर्गति भएको प्रसङ्ग मननीय छ । भागवतको महात्म्यस्वरूप पद्मपुराणको उत्तरखण्डको उक्त प्रसङ्ग सनातनी समाजमा निकै चर्चित र लोकप्रिय पनि छ ।

शिवपुराणको माहात्म्यमा पनि यस्तै यस्तै प्रसङ्ग वर्णित छ । असंस्कृत आत्माले दुःख पाएको प्रसङ्गहरू विभिन्न पुराणहरूमा दृष्टान्तका रूपमा वर्णित छन् । यी विषय केवल कथाको लागि मात्र वर्णन गरिएका होइनन् । सनातनीहरूले यसबाट शिक्षा लिऊन् भन्ने पुराणको उद्देश्य हो ।  

ब्रह्मर्षि जमदग्निको कथाप्रसङ्ग विभिन्न पुराणहरूमा पाइन्छ । जमदग्नि र रेणुकाका पुत्र हुन् परशुराम । गणेशपुराणमा वर्णित प्रसङ्ग अनुसार परशुरामले आमा रेणुकाको क्रिया बस्दा पाँचौं दिनमा अचानक बाघ देख्छन् र उनी डराउँछन् । डराएको अवस्थामा आत्तिएर आमा भनेर बोलाउँछन् । मातृवात्सल्यले गर्दा आफ्नो सन्तानको आर्त पुकार सुनेर उनी आउँछिन् तर उनको शरीर आधामात्र देखिन्छ । उनले आमालाई किन हजुरको आधा शरीर भयो भनेर सोध्दा रेणुकाले क्रियाको दिन पूरा नभइकन तिमीले बोलाउन नहुने, क्रिया पूरा नभइसकेकाले  मेरो शरीर पूरा नभएको हो भनी उत्तर दिन्छिन् । छैटौं दिनमा दत्तात्रेय मुनि आउँछन् र उनले पनि परशुरामलाई सपिण्डीकरणपछि बोलाएको भए दिव्यदेह धारण गरेर आउने थिइन्, बीचैमा बोलाउनुभएकोले यस्तो भएको हो भन्छन् ।

मातर्मातः क्व याम्यद्येत्येवं चुक्रोश तद्भयात् । 
आविरभूत् तदा माता रेणुका रामवाक्यतः ।।
असम्पूर्णशिरोमात्रा पुत्रस्नेहवशेन हि ।
यदि द्वादशरात्रात् साऽऽहूता स्याद् भार्गवेणु तु ।।
आगता स्यात् सा सम्पूर्णा सर्वावयवशोभिनी ।
उवाच तं किमाहूता वद बाल प्रयोजनम् ।।
आलिलिङ्ग तदा स्नेहाद् रामं स्नुतपयोधरा ।
दत्तात्रेयः पुनरगात् षष्ठेऽथ दिवसे मुनिः ।।
अपश्यद् रेणुकां तत्र तादृशीं राममब्रवीत् ।
मध्य एव किमाहूता न्यूनदेहा समागता ।।
सपिण्डीकरणादूध्र्वं यद्याहूता तदाऽखिला ।
आगता स्याद् रेणुकेयं तव स्नेहाद् द्विजर्षभ ।। 


सपिण्डीकरणपश्चात् जमदग्नि दिव्य देह धारण गरेर जान्छन् तर रेणुका अर्धशरीर लिएर घुमिरहन्छिन् ।

प्रस्तुत दृष्टान्तबाट के बुझिन्छ भने भोग शरीर बन्नका लागि दश रात्र व्यतीत हुनैपर्छ । त्यसो नभई उस प्रेत (ऊध्र्वलोकगमनको इच्छा राख्ने जीव) को भोगशरीर निर्माण हुँदैन । दशगात्र विधिद्वारा दिइने दश दिनको दश पिण्डहरूबाट मात्र मृत व्यक्तिको भोगशरीर बन्दछ । तसर्थ दशदिनभन्दा पहिल्यै काजक्रिया सक्छु भन्नु मृतव्यक्तिको जीवात्मालाई दुर्गतितर्फ धकेल्नु हो र आफू कर्तव्यच्युत भई वंशपरम्परालाई नै अधोगतितर्फ लैजाने उद्यम गर्नु हो । 

यसका साथै विधिसम्मत अन्त्येष्टि क्रिया हुन नसकेका कतिपय मृत व्यक्तिका आत्माहरू भड्केको र आफूहरूलाई दुःख दिइरहेको, पारिवारिक उन्नति प्रगतिमा समेत बाधा पुगेको र त्यस्तो जीवात्माको उद्धारका लागि भनेर उपाय सोच्दै गरेको, पितृ बोलाएको, विज्ञको सुझावअनुसार उपाय गर्दा जीवात्मा शान्त भयो, पारिवारिक सन्तोष भयो भनेर भनेका घटनाहरू पनि हामीले सुनेका, देखेका र भोगेका छौं ।   

सनातनी आस्तिक जनसमुदायले के गर्ने ?
शास्त्रमा प्रस्तुत गरिएका विषयहरूको व्याख्या गर्दा सन्दर्भ, प्रकरण इत्यादि पूर्वापर प्रसङ्गहरूलाई विचार नगरेमा र आफ्नो स्वार्थसिद्धि गर्नका लागि अघि बढ्न चाहेमा जस्तोसुकै पद्धति पनि तयार हुनसक्छ तर त्यसको प्रामाणिकता हुँदैन । त्यस्ताको पछि लाग्नु हुँदैन ।

पाँच दिने अन्त्यपद्धति र संस्कार सुधार समाजको उद्देश्य त्यस्तै हो । शास्त्रीय मर्यादाको ख्याल नगर्ने, शास्त्रीय मर्यादा र परम्परा अनुसार चलेका कृत्यहरूलाई थोरै पनि श्रद्धा नगर्ने, संस्कार र संस्कारमूलक सनातन संस्कृति र परम्परालाई ध्वस्त बनाउन चाहने, धर्मको जरा काट्ने मनसायले अभिप्रेरित छद्मवेषीहरू अप्रामाणिक विषयलाई प्रामाणिक हो भन्ने भ्रम छरेर संस्कार सुधारको नाममा संस्कार समाप्त पार्ने षडयन्त्र गर्दैछन् । विकार र विकृतिको पो सुधार हुन्छ । जहाँ संस्कार छ त्यहाँ त सुधारको आवश्यकता नै पर्दैन । यो त संस्कार सुधार नभएर विकार भित्र्याउने दुस्साहस र कुचेष्टा हो ।

हामी आफूलाई सनातनी हिन्दू मान्दछौं भने हाम्रो कर्तव्य र अकर्तव्यको निर्धारक संविधान  एवं कानून भनेको वेद हो, धर्मशास्त्र हो अनि सदाचार परम्परा हो । तिनको विपरीत आचरण गर्दा हामी हिन्दू रहिरहन सक्दैनौं । वेदादिशास्त्रको विपरीत आचरण गर्न पर्ने भए सनातन हिन्दूको परिधिबाट बाहिरिए भयो । जहाँ मन लाग्छ त्यहीँ गए राम्रो ।

हिन्दूको आवरण अनि वेद, धर्मशास्त्र, निर्णय सिन्धु, धर्मसिन्धु, मनुस्मृतिको प्रमाण लिएर हिन्दूको विरुद्धमा कार्य गर्ने र समाजमा भ्रम छर्ने काम गर्ने व्यक्ति वा संस्था सबै धर्म, संस्कार र संस्कृतिविरोधी हुन् । यस्ता कुत्सित विचारको दुष्परिणाम यिनले अवश्यै भोग्नुपर्दछ ।

यस विषयमा आस्थावान् धर्मप्रेमी सनातनीहरू भ्रममा नपरिकन बेलैमा सावधान हुनुपर्छ र आफ्नो धर्म, संस्कार, सदाचार र सम्बद्ध मूल्यमान्यताप्रति अडिग र अटल रहिरहनुपर्दछ । कसैको बहकाउमा लाग्नुहुँदैन । आ–आफ्नो धर्म, संस्कार र संस्कृति मान्ने छुट विश्वका सबै राष्ट्रमा पाइन्छ भने नेपालीहरू त्यो सुविधाबाट कसरी वञ्चित हुन सक्छन् ? यसका पक्षमा सम्बद्ध पक्षको ध्यान खिच्नको लागि सबै सनातनधर्मप्रेमीहरू एक ढिक्का भएर धर्मविरोधी तत्त्वको प्रतिकार गर्नु जरूरी छ । अन्यथा यस्ताखाले गतिविधि गर्नेले हाम्रो अस्तित्व मेटाउँदै लानेछन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x