प्रदेश १ का महिला नेतृ भन्छन्– तीजलाई महिला आन्दोलन र अभियानको रुपमा मनाउनु पर्छ

भदौ २७, २०७५

आज नेपाली हिन्दू महिलाहरुले हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज नेपाली हिन्दू महिलाहरु व्रत बसेर भगवान शिवको पूजा आराधनासहित भजनकिर्तन र तीजका गीतमा नाचगान गर्छन् । विहानैदेखि शिव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको छ ।  

तर पछिल्ला वर्षहरुमा तीज बढी भड्कीलो भएको गुनासो सुन्ने गरिएको छ । धार्मिकरुपमा भन्दा पनि देखासिकी, गरगहना प्रदर्शन, एक महिनादेखिको दर प्रचलनका कारण आलोचना हुने गरेको छ । 
यसलाई कतिपय महिलाहरुले सकारात्मक रुपमा लिएका छन् भने कतिपयले नकारात्मक भनेका छन्  । महिलाले तीजलाई कसरी लिएका छन् र पछिल्लो सयम तीजका लागि एक महिनाअघिदेखि नै हुने गरेको दर र तीजका कार्यक्रमबारे प्रदेश नम्बर एकका महिला नेतृत्व र संस्कृतिविद्सँग कराकानी गरिएको छ । 


ADVERTISEMENT

सरस्वती पोखरेल, उपसभामुख, प्रदेश सभा, प्रदेश १

तीजमा महिलाहरु हामी आफ्नै समस्यामा केन्द्रीत हुन्छाैं । बिशेष गरी, पीडा, माइती, दुःख सुखको गुरा गर्ने चाड तीज हो । तर यसका पछिल्लो समय परिवर्तन आएको छ । सामूहिक रुपमा मनाउन थालिएको छ । सबै सँगै मनाउने भावनात्मक रुपमा एकको कुरा अर्कोलाई साटासाट गर्ने गरेका छन्  । त्योसम्म राम्रो पक्ष हो । तर भड्किलो र उत्ताउलो तीज हुनु हुँदैन । पछिल्लो ७÷८ वर्ष निक्कै नै बिकृती आयो । ठूला तारे होटलहरुमा मदिराले महिला लठ्ठ भएका समाचारहरु पनि नआएका हैनन । त्यो काठमाडौँसँग जेडिएर आएको थियो । त्यसको केही असर बिराटनगरमा पनि पर्यो । तर त्यो लामो समय टिक्न सकेन  र अहिले फेरि तीजको स्वरुप पुरानै अबस्थामा फर्किने क्रममा छ । 

कलात्मक रुपमा आएका विकृती कलात्मक रुपमा नै समाधान गरिनु पर्छ । तीजलाई नकारात्मक रुपमा लिईनु हुँदैन । महिला पुरुषको लागि ब्रत बस्छन् भने पुरुष पनि महिलाको लागि ब्रत बस्न सक्नु पर्छ अनि मात्र हामीले सोचेको जस्तो समानताका कुरा आउँछन् । हैन भने महिलालाई जवरजस्ती ब्रत बस्नै पर्छ भन्ने हैन । 

इन्दिरा कार्की, उपमेयर, विराटनगर महानगरपालिका  ः  तीज नेपाल र नेपालीको पहिचान हो । यसले राम्रा कुरा सिकाउनु पर्छ । तीजलाई महिला शसक्तिकरणको रुपमा अगाडि लगिनु पर्छ । ठूला होटेलमा तीज मनाउने मनपरी

पैसा माग्ने अनी पैसा नपुग्दा अप्ठेरो पर्ने खालका बाध्यता आउनु हुँदैन । अहिले कतिपय अबस्थामा देखिएका तीजका गतिबिधिले त्यही कुराको संकेत गर्छ । तर त्यो भन्ने बितिकै सबै बिग्रियो भन्ने हैन यसलाई सुधार गर्दै लैजानु पर्छ ।  घरको परिवारलाई दुःख दिएर तीज मनाउने हैन । तीज भित्रका राम्रा कुरा अंगाल्ने नराम्रो कुरालाई बिस्तारै पन्छाउन सकियो भने हामीले सोचेको जस्तो हामी नेपालीहरुको तीजको रुपमा स्थापित हुनेछ । 

सावित्रा रेग्मी , प्रदेश सांसद 

एउटै महिलाले मात्र डेढ महिना मनाउँदैनन । सबैको सबै ठाउँमा कार्यक्रम र गतिबिधि हुन्छन् त्यही अनुसार सबैले आफ्ना समूहमा मनाउने हो । जहाँ गएपछि तीजको महत्त्व बढेको महसुस भएको छ । तीजले त एउटा सामाजिक सदभावको रुपमा समेत काम गरेको छ । सबै महिलालाई समेटेको छ । अहिलेको तीज भनेको महिलाले पाएको अवसरलाई कार्यान्वयनमा लग्ने पनि हो । त्यसैले तीज एउटा पर्ब हो तर यो सबै पक्षसँग जोडिएकोले भड्किलो हैन अभियानको रुपमा लैजान सक्नुपर्छ । 

उमिता विश्वकर्मा, प्रदेश सांसद, सुनसरी 

८ मार्चलाई पहिला महिलाहरुले एक दिन मात्र मनाउने गरेका थिए । अहिले त्यो ७ दिनसम्म मनाइन्छ । त्यसैगरी तीजको स्वरुपमा पनि परिवर्तन भएको महसुस भएको छ । धरानजस्तो ठाउँमा पनि अहिले संस्कृती जोगाउनको लागि तीज कार्यक्रमहरु भई नै रहेको छ ।  तर यसलाई महिला शसक्ति करणको आन्दोलनको रुपमा अगाडि बढाइनु पर्छ । यो पर्व संस्कृति जोगाउने रमाइलो गर्नेसँग सम्बन्धित भएर अघि सर्नुपर्छ । यो हैन की, ह्वीस्की र ब्राण्डिङसँग रमाउने ।  विशेष गरी महिलाहरुलाई एकै ठाउँमा रमाउने र अधिकारका कुरा उठोउने गरि अघिबढ्नु पर्छ । 

यशोदा अधिकारी, प्रदेश सांसद, मोरङ

यो तिजले सबै समुदायलाई एक अर्कामा जोडेको कुरालाई कसैले बिर्सन हुँदैन । हामीले देखेका धेरै गाउँका तीज कार्यक्रम पनि महिला लक्षित आन्दोलनका रुपमा अघि बढेका छन्  । तीजमा रमाइलो पनि गर्न पाइने अनी सबैसँग भेटघाट हुने भएपछि यसले एउटा सकारात्मक भूमिका खेलेको छ । तर जुन एक महिनादेखि तीज मनाईँदै आएको भनिएको छ त्यो सभ्य रुपमा हुनुपर्छ । गहना बेचेर तथा भएका खेतसँगै घडेरी बेचेर तीज मनाउनु पर्छ भन्ने हुँदैहैन । त्यसैले आफ्नो आर्थिक अबस्थाका आधारमा एउटा महिला आन्दोलन र अभियानको रुपमा तीज मनाउन सकियो भने सबैको लागि हितकर हुन्छ ।

कुसुम श्रेष्ठ, प्रदेश सांसद, धनकुटा 

हामीलाई त धेरै ठाउँमा तीजको लागि बोलाउनुहुन्छ । हामी जान्छौ पनि । महिला भएको कारण सपोर्ट पनि गर्नै पर्ने हुन्छ । तर यो तीज भनेको एक महिनादेखि मनाउनु पर्छ भन्ने छैन ।  तर अहिले पर्वको लागि भन्दापनि रमाईलोको लागि तीज केही समय अगाडिदेखि नै मनाउन थालिएको छ । यसलाई रमाइलो र एउटा अभियानको रुपमा मनाएको देखिन्छ । मलाई त लाग्छ दुई दिनको जिन्दगी मस्ती गर्नुपर्छ  । तर अनुत्पादक रुपमा हैन त्यो रमाइलो त्यो मस्ती उत्पादनमुलक हुनुपर्छ । कुनै गाउँमा एक हप्ता अगाडिदेखि आफ्नो गाउँको संस्कार र संस्कृति जोगाउनको लागि सबै लागेर रमाइलो गरेका छन् भने त्यो एकदमै राम्रो पक्ष हो । तर होटलमा गरिने तडकभडक ठिक हैन । 

सिमा आभास,  साहित्यकार 

कसैले तीजमा खान आइज भन्छ भने कसैको केही बिग्रँदैन, गएर खाँदा हुन्छ । अर्को कुरा महिलाले एक महिना साथिभाई सबै मिलेर दर खाए भन्दैमा त्यो सबै सकियो भन्ने कुरा पनि हैन । सकारात्मक कुरालाई सबैले आत्मसाथ गर्नसक्नु पर्छ । पुरुषहरुले रातै पिच्छे टिल्ल भएर दारु खाएर आउँदा महिला चुप लागेकी नै हुन्छे भने कुनै महिलाले साथीले बोलाएको ठाउँमा दर खानको लागि गइन् भने त्यत्रो नराम्रो मानिरहनु पर्ने जरुरी छैन । यो पर्व हो रमाइलो, नाचगान हुन्छ ।

निरा भगत, अधिवक्ता, थारु महिला 

हामी थारु महिलाहरुले यसरी एक महिना तीज नै मनाउँदैनौ । एक दिन ब्रत बसेर चोखो भएर रमाइलो गर्ने हो । तर अहिले सुनको प्रदर्शन गर्ने त होडवाजी नै चलेकोले यसलाई प्रदर्शन गर्ने या देखाउने रुपले मनाईँदैछ । तर यसरी मेरो विचार महिलाले तीज मनाउँदा आफू खुसी हुन सक्नु पर्छ । 

बिमला घिमिरे, अनेमसंघ 

महिलाले दर खाएको कसैले बिरोध गर्छ भने पटक्कै मनै पर्दैन । तीज मनाई रहँदापनि महिला अधिकार र दुख सुखका कुरा छलफलमा ल्याईएकै हुन्छ । त्यसैले अहिलेको तीजको बिषयमा आएका टिका टिप्पणी मलाई ठिक लाग्दैन । 

चन्द्र उपाध्याय, सह–प्राध्यापक, सामाजशास्त्र, महेन्द्र मोरङ आदर्श क्याम्पस  ः– नेपालीको पहिचान भनेको नेपाली चाडपर्व हो । हामीले मनाउने मौलिकता हो । तीजमा मात्र हैन हरेक चाडबाडमा विकृति भित्रिएको हो भन्नेमा दुईमत छैन । तर त्यो भन्ने बितिकै यसलाइ सुधार गर्नै सकिँदैन भन्ने हैन । नेपाली चाडपर्वलाई साँस्कृतिक पर्यटनकौ रुपमा स्थापित गराएर अघि बढाउने हो भने पर्यटक भित्र्याउन पनि सकिन्छ तर त्यसका लागि नेपाली साँस्कृतिक बिशेषता बोकेका चाडपर्बको महत्त्व लोप हुन दिनु हुँदैन । तीजको संस्कृति लोक संस्कृति र भाकासँग पनि जोडिएको हुन्छ । 

प्रा.डा.सोम खतिवडा : संस्कृतिविद्

चाडपर्व धेरै खालका छन् । महिला सक्रिय हुने पर्व निक्कै नै रमाइला हुन्छन्  । तीज त अझ कला संस्कृति तथा मौलिकतासँग जोडिएर आउँछ । पहिला पहिला संगिनी र बिरह गाउने भएपनि पछिल्लो दिनमा यसको साँस्कृतिक महत्व हराउँदै गएर नयाँ रुपमा आएको छ । तर गीत चै गीत नै गाएर नाच्नु पर्छ भन्ने देखिन्छ तर पुराना संस्कार भने ओझेलमा परेको छ । 

अञ्जु उपाध्याय, महिला उद्यमी 

तीजको अहिलेको रुप हेर्दा अलिक बढी भयो की भन्ने हो । यो पर्वमा त संगिनी खेलेर नेपाली लोक संस्कृतिको पनि त संरक्षणको रुपमा महिलाले काम गर्दै आएका थिए । तर अहिले त त्यस्तो छैन । यो दीर्घायु निरोगीताको लागि पनि गर्ने संस्कार हो । तीजले संस्कार र संस्कृति सिकाउन सक्नु पर्छ  । यो हैन की हाम्रा संस्कार र संस्कृति नै लोप गर्नुपर्छ । यसलाई एउटा महिला शसक्तिकरण अभियानको रुपमा पनि लिएर जानुपर्छ । 

प्रमिला थापा, नेपाल महिला संघ 

तीज एक महिना मनाए भन्ने कुराहरु आइरहेको छ । यसरी तीज एक महिना नै मनाउनु हुँदैन भन्ने हैन । यो महिलाको मनोरञ्जनसँग जोडिएको र आफ्ना कुरा खुलेर राख्ने भएकोले पनि तीजलाई एक महिना नै मनाउन दिइनुपर्छ । अहिले जुन लगाइको कुरा गर्ने हो भने भड्किलो भयो भनेर कुराआई रहेको छ । त्यसरी भड्किलो नै भयो भन्ने हैन ।  महिलाले संस्कृतिको संरक्षण पनि त गरेका छन् । 

विमला घिमिरे, अनेमसंघ 

महिलाले दर खाएको कसैले विरोध गर्छ भने पटक्कै मनै पर्दैन । तीज मनाइँ रहँदापनि महिला अधिकार र दुख सुखका कुरा छलफलमा ल्याइएकै हुन्छ । त्यसैले अहिले तीजको बिषयमा आएका टिका टिप्पणी मलाई ठिक लाग्दैन । 
 

भदौ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस