वर्ष दिनमा हराए डेढ हजार बालबालिका, होटलदेखि मसाज सेन्टरसम्ममा रहेको आशंका

भदौ २९, २०७५

काठमाडौं – गत आर्थिक वर्षमा देशभरबाट झण्डै डेढ हजार बालबालिका हराएका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ को असार मसान्तसम्ममा कूल १ हजार ३ सय १३ जना  बालबालिका हराएका हुन् ।

गत आवमा बालबालिका खोजतलास समन्वय केन्द्रमा २ हजार ३ सय ३० जना बालबालिका हराएको सूचना प्राप्त भएकोमा १ हजार १७ जना फेला परे पनि १ हजार ३ सय १३ जना बालबालिका अझैसम्म बेपत्ता छन् ।


यसबीचमा प्रदेश नम्बर ३ बाट सबैभन्दा धेरै बालबालिका हराएका छन् । प्रदेश नम्बर ३ मा एक वर्षको अवधिमा ७ सय २ जना बालबालिका हराए । हराउने बालबालिकामा उपत्यका बाहिरका ४ सय १९ जना छन् भने उपत्यकाभित्र मात्रै २ सय ८३ जना हराएका छन् । प्रदेश नम्बर ३ मा हराएका बालबालिकामध्ये ४ सय ३४ फेला परेका छन् भने २ सय ६८ जना अझै हराइरहेका छन् ।

प्रदेश नम्बर ५ मा ३ सय ४१ जना बालबालिका हराएकोमा १ सय ५ जना मात्र भेटिएका छन् । प्रदेश नम्बर ५ मा हराएकामध्ये १ सय ५ जना भेटिएका छन् भने २ सय ३६ जना अझै फेला परेका छैनन् ।

प्रदेश नम्बर २ मा २ सय ८७ बालबालिका हराएकोमा ९७ जना मात्रै फेला परेका छन् । प्रदेश २ मा १ सय ९० जना बालबालिका भेटिएका छैनन् ।

प्रदेश नम्बर ४ मा पनि एक वर्षको अवधिमा २ सय ७५ जना हराएका थिए । जसमध्ये १ सय २९ जना भेटिएका छन् भने १ सय ४६ जना अझै बेपत्ता छन् ।

प्रदेश नम्बर ७ मा एक वर्षको अवधिमा बालबालिका हराउने संख्या २ सय ७० रहेको छ । जसमा १ सय ६८ जना अझै हराइरहेका छन् भने १ सय २ जना मात्रै फेला परेका छन् ।

प्रदेश नम्बर १ मा २ सय ४५ जना बालबालिका हराएकोमा ७३ जना मात्रै फेला परेका छन् । बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकका अनुसार १ सय ७२ जना बालबालिकाको खोजी अझै जारी छ ।

प्रदेश नम्बर ६ मा २ सय १० जना हराएकोमा ७७ जना फेला परेका छन् भने १ सय ३३ जना अझै हराइरहेका छन् ।

यसैगरी आर्थिक वर्ष २०७४/७५ मा ४ सय ४२ जना बेवारिसे बालबालिका फेला परेका छन् । बेवारिसे अवस्थामा फेला परेका बालबालिका मध्ये २ सय ८६ बालक छन् भने १ सय ५६ जना बालिका छन् । 

बेवारिसे अवस्थामा भेटिएका बालबालिका सबैभन्दा बढी काठमाडौं उपत्यकामा छन् । केन्द्रले ३ काठमाडौं उपत्यकामा मात्रै ३ सय ८ जना बेवारिसे बालबालिका फेला परेकोमा १ सय ८२ जनालाई पारिवारको जिम्मा लगाइएको छ ।

१ सय २१ जना बालबालिका बालगृहमा संरक्षणमा रहेका छन्, त्यसमध्ये ५ जना बालबालिका बालगृहबाटै भागेका छन् ।

देशभरबाट बेवारिसे अवस्थामा भेटिएका २ सय ७० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने १ सय ६७ जना बालगृहमा छन् । 

हराउनेमा बालिका धेरै !

केन्द्रको तथ्यांकअनुसार हराउनेमा बालकभन्दा बालिकाको संख्या बढी छ । आर्थिक वर्ष २०७४/७५ मा हराउनेहरूमा १ हजार ४ सय ७ जना बालिका छन् भने ९ सय २३ जना बालक छन् । 

हराएका बालबालिकामध्ये ६ सय १० जना बालिका र ४ सय ७ जना बालक भेटिएका छन् भने ७ सय ९७ जना बालिका र ५ सय १६ बालक अझै हराइरहेका छन् ।

अघिल्लो आर्थिक वर्षमा पनि हराउनेहरूमा बालिका धेरै थिए । अघिल्लो वर्षमा १ हजार ७ सय २५ जना बालिका हराएका थिए ।

यसकारण हराउँछन् बालिका

हराउनेहरूमा बालकभन्दा बालिका धेरै रहेको बालबालिका खोजतलास केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।

बालकभन्दा बालिकाहरूमा सहनशीलता र अनुशासन बढी हुने भएकाले उच्च आर्थिकस्तर भएकाले बालिकालाई गुपचुप रूपमा घरेलु कामदार राख्ने गरेका छन् । बालबालिकाको ओसारपसार गरेर घरेलु कामदार तथा अन्य क्षेत्रमा लुकिछिपी श्रममा लगाउने गिरोहलाई समेत बालिकालाई फकाउन सहज हुने भएकाले हराउने बालिकाहरूको संख्या बढी रहेको अधिकृत अधिकारीले बताए ।

‘गत आर्थिक वर्षमा ६० प्रतिशत बालिका र ४० प्रतिशत बालक हराएको हाम्रो तथ्यांक छ । अघिल्लो वर्षको तथ्यांकमा पनि बालिकाहरू धेरै हराएका थिए,’ उनले भने, ‘गलत नियतले बालबालिकालाई ओसारपसार गर्ने व्यक्ति छ भने उसलाई बालकलाई भन्दा बलिकालाई फकाउन सहज हुने भएकाले बालिका फकाउन लाग्छन् । त्यसैले पनि हराउनेमा बालिका बढी छन् ।’

हराएका बालिका होटल रेस्टुरेन्टमा श्रम गर्दै हुनसक्ने !

अधिकृत अधिकारीले हराइरहेका भनिएका बालबालिका मसाज सेन्टर, होटल, रेस्टुरेन्ट, दोहोरी साँझ लगायतका क्षेत्रमा रहेको हुनसक्ने बताए ।

‘१५  देखि १८ वर्षभित्रका बालिका पनि धेरै हराइरहेका छन् । हराइरहेका भनिएका बालिका दोहोरी साँझ, मसाज सेन्टर, होटलहरूमा प्रयोग भइरहेका छन् कि भन्ने हाम्रो आंकलन छ,’ उनले भने, ‘तर हामीलाई त्यहाँ गएर तत्काल उद्धार गर्ने अधिकार छैन । तर धेरै बालिकाहरू त्यस्ता ठाउँमा काम गरिरहेका हुन सक्छन् ।’  

घरपरिवारमा उपयुक्त वातावरण नपाउँदा घरबाट निस्किएका बालबालिकाहरू लुकिछिपी श्रम गरिरहेको हुनसक्ने उनले बताए । बालबालिका खोजतसाल समन्वय केन्द्रले घरायसी द्वन्द्व, अपहरण, बाल श्रम गर्दै गरेका, बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गर्ने गर्छ ।

यसरी विभिन्न ठाउँबाट उद्धार गरिएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउने गर्छ । पारिवारिक समस्याका कारण घर छोडेर हिँडेका बालबालिकाले आफ्नो सही ठेगाना नबताउँदा उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउन समस्या हुने गरेको अधिकृत अधिकारीले बताए ।

परिवारको ठेगाना पत्ता नलागेको अवस्थामा उनीहरूलाई बालबालिकासँग सम्बन्धित संघसंस्थासँग समन्वय गरेर संरक्षण गृहमा राख्ने गरिएको छ ।

भदौ २९, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस