निर्मला हत्या प्रकरण : एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण शुरू

भदौ २८, २०७५

काठमाडौं – कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी अधिकारी र घटनामा संलग्न भनिएका अन्य २ जनाको डीएनए परीक्षण शुरू भएको छ । 

प्रहरीका अनुसार कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका दाइ (कांग्रेस नेता भूपेन्द्र विष्ट)का छोरा आयुष विष्टको रगतको नमूना संकलन गरिएको छ । 


ADVERTISEMENT

कञ्चनपुरमा रहेका एसपीका छोरा किरण र मेयर विष्टका भतिजा आयुषको रगतको नमूना बुधवार महाकाली अञ्चल अस्पतालमा संकलन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले जानकारी दिए । यस्तै मेयर विष्टको नमूना बिहीवार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा संकलन भएको हो । 

निलम्बित एसपी विष्टको रगतको नमूना त्रिवि शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्टका प्रमुख डा. हरिहर वस्ती नेतृत्वको टोलीले संकलन गरेको हो । 

२ ठाउँमा डीएनए टेस्ट गरिने

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भूमिकामा देखिएका एसपी विष्ट र स्थानीयले संदिग्ध व्यक्ति भनेका एसपी विष्टका छोरा किरण र मेयरका भतिजा आयुषको डीएनए परीक्षण दुईवटा निकायले गर्ने भएका छन् । 

तीनैजनाको डीएनए परीक्षण प्रहरीको विधिविज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्नेछ । 

प्रहरीको विधिविज्ञान प्रयोगशालाको रिपोर्टलाई मात्र स्थानीयले विश्वास गर्ने अवस्था नदेखिएपछि नास्टको प्रयोगशालामा समेत शंकास्पद व्यक्तिको डीएनए परीक्षण हुन लागेको हो ।

डीएनए परीक्षणको नतिजा आउन २ हप्ता लाग्ने 

प्रहरीले तीन जनाको डीएनए परीक्षण रिपोर्ट आउन २ हप्ताको समय लाग्ने बताएको छ ।

प्रहरीका प्रवक्ता एसएपी क्षेत्रीका अनुसार तीन जनाकै रगतको नमूना संकलन गरेर परीक्षण शुरू भएको २ हप्तासम्मका रिपोर्ट आउन सक्ने बताए ।   
 

भदौ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस