नेपाली जुडो टोली सोमबार अजरबैजान जाने

भदौ २९, २०७५

काठमाडौं- अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुडो टोलीलाई बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।

आगामी असोज ४ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ९० केजी मुनि रविन श्रेष्ठ, ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजी मुनि मोहन बम रहेका छन् । महिलामा मनिता श्रेष्ठ प्रधानले ५७ केजी मुनि र फुपुल्हामु खत्रीले ६३ केजी मुनि प्रतिस्पर्धा गर्नेछन् ।


प्रशिक्षक मनोजबहादुर केसी, व्यवस्थापक प्रमोदप्रसाद नेपाल र नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य पनि सो टोलीमा सहभागी हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । टोली आगामी सोमबार त्यसतर्फ जानेछ । मोहनबाहेक सबै खेलाडीले यसै महिना इण्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा प्रतिस्पर्धा जनाएका थिए । 
 

भदौ २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस