अंग्रेजीमा राम्रो नम्बर दिने भन्दै शिक्षकले गरेको घिनलाग्दो प्रस्ताव, परे पक्राउ

असोज ४, २०७५

काठमाडौं — भारतको नासिकमा रहेको एक कलेजमा कार्यरत दुई उपप्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले हाईस्कूलकी एक छात्रामा अंग्रेजी विषयमा नम्बर बढाउनका लागि आफूसँग सम्बन्ध राख्नुपर्ने माग राखेका थिए । 

छात्राको उजुरीपछि दुवै उपप्राध्यापकलाई मंगलवार पक्राउ गरियो । 

उनीहरूलाई बुधवार बिहान अदालतमा उपस्थित गराइयो र न्यायिक हिरासतमा पठाइयो । हाईस्कूलमा दिइने इन्टर्नल मार्क्स फाइनल रिजल्टमा जोडिन्छ र त्यही इन्टर्नल मार्क्स बढाएर दिने उपप्राध्यापकहरूले प्रस्ताव गरेका थिए । 

डीसीपी लक्ष्मीकान्त पाटिलले छात्राको आरोपमा अनुसन्धान गरिने बताएका छन् । उनले भने, ‘हामी यसबारेमा अहिल्यै धेरै कुरा भन्न स्थितिमा छैनौं । यसबारेमा दुई शिक्षक र छात्रासँग कुराकानी गर्नेछौं ।’

ती शिक्षकहरूले छात्रालाई लामो समयदेखि दुःख दिइरहेको भएपनि छात्राले एफआईआर किन ढिलो दर्ता गराइन् भनेर पनि अनुसन्धान गरिने उनले बताए । 

एक प्रहरी अधिकारीले भने, ‘छात्राले फेब्रुअरी २०१७ देखि अहिलेसम्म चारचोटि एचएससी परीक्षा दिइन् र हरेकचोटि अंग्रेजीमा फेल भइन् । राम्रो अंक दिन्छौं भनी दुवै शिक्षकले आफूलाई गलत तरिकाले छोएको र यौनको माग गरेको छात्राको आरोप छ । 

सन् २०१६ देखि तिनीहरूले आफूलाई सताउन थालेको छात्राको आरोप छ । 

वरिष्ठ प्रहरी निरीक्षक सुरज बिजलीले दुवै शिक्षक पक्राउ परेपछि कलेज प्रशासनले पनि छात्रा र परिवारविरुद्ध एफआईआर दर्ता गराएको बताए । कलेज प्राचार्यले आरोपहरू निराधार रहेको र छात्राले इन्टर्नलमा राम्रो अंक पाएको बताए । 

एजेन्सी


ADVERTISEMENT

असोज ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस