सूचना प्रविधिलाई व्यवस्थित गरे देशभित्रै ८५ हजार जनाले रोजगारीको अवसर पाउने

असोज ७, २०७५

काठमाडौं–श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले सरकारले देशभित्र रोजगारी सृजनाका लागि सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् ।

सूचना प्रविधिको क्षेत्रमा रोजगारीका अवसरहरुको अध्ययन प्रतिवेदन ग्रहण गर्दै मन्त्री विष्टले नेपालमा सूचना प्रविधिको क्षेत्रमा रोजगारी सृजनाको ठूलो सम्भावना रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखिएको बताए ।


ADVERTISEMENT

सूचना प्रविधिको क्षेत्रमा ठूलो संख्याको रोजगारी सृजना गर्न सकिने अवस्था रहेको भन्दै त्यसको अध्ययनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन ९ गते सह सचिव प्रकाश दाहालको संयोजकत्वमा कार्यदल गठन गरको थियो ।

उक्त कार्यदलले सूचना प्रविधि र विजनेस प्रोसेस आउट सोर्सिङ्गको क्षेत्रमा रोजगारीका अवसरहरुको अध्ययन गरी आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गार्कण विष्ट समक्ष प्रतिवेदन पेश गरेको हो ।

समितिबाट प्रतिवेदन बुझ्दै मन्त्री विष्टले सूचना प्रविधिको क्षेत्रमा थप व्यवस्थित रोजगारी सृजनाका लागि लागि उक्त प्रतिवेदनले सहयोग आसा व्यक्त गरे । 

कार्यदलले पेश गरेको प्रतिवेदनमा सूचना प्रविधिका क्षेत्रमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा हालका नीतिगत तथा संस्थागत व्यवस्थाको अध्ययन, रोजगारी सिर्जनामा रहेका मुख्य समस्याहरु, रोजगारीको सम्भावित अवसरहरु र रोजगारी सिर्जनाका लागि सुझावहरु समेटिएको छ ।

कार्यदलको प्रतिवेदनका अनुसार नेपालमा पछिल्लो समयमा सूचना प्रविधिको क्षेत्र निरन्तर वृद्धि भैरहेको जनाइएको छ । नेपालमा एक हजारभन्दा बढी दर्तावाला कम्पनीहरुले वेभ सर्भिस, सफ्ट्यरको विकास, व्यवस्थापन, सूचनाप्रणाली, डाटा प्रशोधन, कल सेन्टर, एनिमेसन प्रोसेसिङ्ग लगायतका कार्यहरु गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।

हाल करिव १४ हजार ५ सय जनशक्ति सूचना प्रविधिको क्षेत्रमा कार्य गरिरहेको जनाइएको छ । सूचना प्रविधिको क्षेत्रमा देखिएका समस्याहरु समाधान भए थप ८५ हजार रोजगारी सिर्जना हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 

असोज ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस