इराकमा तीनपटक बेचिएकी चेलीको दर्दनाक व्यथा: ‘मरिस् भने फाल्ने ठाउँ यहीँ छ भनेर धम्क्याउँथे’

असोज ९, २०७५

काठमाडौं –सिन्धुपाल्चोककी बसुरानी तामाङ गलैंचा बुन्ने काम गर्थिन् । एक छोरा, एक छोरी र पतिसहितको छरितो र सुखी परिवार थियो उनको । ऋण गरेर जसोतसो एउटा घर पनि बनाएकी थिइन् । 

वि.सं. २०७२ को विनाशकारी भूकम्प उनको जीवनमा बज्रपात बनेर आइदियो । दुःख गरेर बनाएको घर एक वर्ष नबित्दै ढल्यो । बस्ने बास नहुँदा उनको परिवार गाउँबाट विस्तापित भयो ।


ADVERTISEMENT

उनी आफूभन्दा २० वर्ष जेठा पति, २ वर्षीय छोरी र ११ वर्षीय छोरासहित काठमाडौं आएर भूकम्पपीडित क्याम्पमा बस्न थालिन् । उनले फेरि गलैंचाको काम गर्न थालिन् । त्रिपालमुनि उनको दैनिकी अघि बढ्न थाल्यो ।

दिनभरको कमाइ हातमुख जोर्नमै सीमित हुन्थ्यो । घर बनाउँदा लागेको ३ लाख रुपैयाँ ऋण तिर्नै बाँकी थियो । छोराछोरीको भविष्यको चिन्ताले पनि सताउँथ्यो ।

एकातर्फ ऋण, अर्कातर्फ त्रिपालको बास । विदेश गएर पैसा कमाउने सोच उनमा आयो । पतिको उमेर ४९ वर्ष पुगिसकेको थियो, विदेश जाने उमेर थिएन । २८ वर्षीया बसुरानीले आफू विदेश जाने योजना पतिलाई सुनाइन् ।

‘ऋणमा डुबेर कति दिन बाँच्ने ? उहाँको उमेर थिएन । त्यसैले म आफैं विदेश जाने सोच बनाएँ र बुढालाई पनि सम्झाएँ,’ बसुरानीले लोकान्तरसँग भनिन्, ‘गलैंचा बुनेर खान पनि धौधौ थियो । ऋण तिर्नकै लागि पनि विदेश जानुको विकल्प थिएन ।’

शुरूमा त पतिले नजान भने । तर उनीसँग पनि अर्को विकल्प थिएन । अन्ततः विदेश जाने नै निष्कर्ष निस्कियो ।

.....

विदेश जाने निष्कर्षसहित सिन्धुपाल्चोक पुगेर पासपोर्ट बनाइन् । चापागाउँमा सँगै गलैंचा बुन्ने सामान्य चिनजानका मिलन वाइबाले उनलाई विदेश पठाइदिने बताए ।

उनको कुरामा विश्वास गरेर बसुरानीले २०७२ असोजमा पासपोर्ट र ५० हजार रुपैयाँ बुझाइन् ।

मिलनले दशैंअगावै भिसा आइसकेको भन्दै एयरपोर्ट बोलाए । छोराछोरी र पतिलाई त्रिपालमुनि छाडेर उनी बिदा भइन् ।

मलाई फेरि काममा जानुपर्छ भन्यो । मैले म नेपाल जान पाइनँ भने मर्छु समेत भनें । तर उसले मरिस् भने फाल्ने ठाउँ यहीँ छ भनेर धम्क्यायो ।

त्यो दिन उड्ने सपना पूरा भएन । टिकट नपाएको भन्दै उनलाई रातको १२ बजे घर फर्काइयो । दशैं त्रिपालमै बित्यो । टीकाको भोलिपल्ट पनि टिकट नआएको खबर आएपछि उनले मिलनसँग पासपोर्ट र पैसा फिर्ता मागिन् ।

दलालको हातमा परेको पैसा कहाँ फिर्ता पाइन्थ्यो र ! मिलनले उनलाई मासिक ४० हजार रुपैयाँ कमाइ हुने र भारतबाट उड्नुपर्ने बताए । पैसा बुझाइसकेकाले सो कुरा मान्नुको विकल्प देखिनन् उनले ।

‘मैले नेपालबाट टिकट नपाएपछि जाँदिन पासपोर्ट फिर्ता दिनुस् भनें तर ती दाइले भिसा आइसकेको छ, तिमी जानैपर्छ भने,’ बसुरानीले भनिन् । 

त्यसपछि उनी साबित्रा अधिकारी नाम गरेकी महिलाको पछि लागेर भारत प्रस्थान गरिन् । कहाँ जाँदैछु, भन्ने थाहा थिएन ।

बोर्डरमा दशैंको टीका लगाउन भारत जान लागेको भन्नु भनेर सिकाइएको थियो । उनले त्यसै भनेर सीमा पार गरिन् । 

भारतमा ८ दिनसम्म राखेपछि साबित्राले बसुरानीलाई अर्कै व्यक्तिको जिम्मा लगाइन् । ती अपरिचित व्यक्तिसँग श्रीलंका, दुबई हुँदै उनी इराकको अर्बिल भन्ने ठाउँमा पुगिन् ।

.....

इराक कस्तो देश हो भन्ने सामान्य जानकारी समेत थिएन उनलाई । आश्वासन अनुसारकै कमाइ हुने आशा भने थियो । रातको समयमा एक घरबाट अर्कोमा सार्दै उनलाई बग्दाद पुर्‍याइयो । त्यहाँ पुगेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । उनीजस्तै अन्य २२ नेपाली महिला एउटै कोठामा कोच्चिएर बसेका थिए ।

‘त्यहाँ त हामीलाई खसीबोका जस्तै बेच्न लाइनमा राखिने रहेछ, म त छाँगाबाट खसेजस्तै भएँ । एकदमै नरमाइलो लाग्यो,’ बसुरानीले आफ्नो मूल्य तोकिएको दिन सम्झिँदै भनिन्, ‘हाम्रो मूल्य ८ सय डलर तोकिएको थियो । बढी र राम्रो काम गर्नसक्ने खालको मान्छे छानेर किन्दा रहेछन् ।’

त्यहाँबाट उम्किने उपाय थिएन । विवश भएर टुलुटुलु हेरिरहिन् । उनलाई एकजना व्यक्तिले ८ सय डलर तिरेर खरिद गरे ।

‘बेचिँदैछु भन्ने थाहा थियो, तर मैले गर्न सक्ने केही थिएन,’ उनले भनिन्, ‘जसोतसो २ वर्ष दुःख गरेर घर फर्किने आशामा साहुसँगै उसकै घर गएँ ।’

कमाएको पैसा जम्मा गरेर घर पठाउँथिन् । साहुले दिएको खानामा पर्याप्त पोषण हुन्थेन, तर उनी पैसा खर्च गर्दैन थिइन्, किनकी नेपालमा ऋण तिर्नु थियो । घर बनाउनु थियो ।

त्यहाँ उनलाई खुट्टा नभएकी वृद्धाको हेरचाह र घरको सरसफाइ गर्ने काममा लगाइयो । मासिक ४ सय डलर तलब हुने भनिएको थियो, तर ३ सय डलर मात्रै दिइयो । रातदिन नभनी काममा खटिनुपर्थ्यो । पेटभरी खान समेत दिइँदैनथ्यो ।

‘काम लगाउँथे अनि जे मन लाग्यो त्यही खान दिन्थे,’ ती दिन सम्झिँदा भावुक बनेकी बसुरानीले थपिन्, ‘हप्तामा एकदिन नुन हालेर भात दिन्थ्यो, कहिले चिसो चिया र एउटा रोटीमात्र खाएर बस्नुपर्थ्यो ।’

९ महिना यसैगरी बित्यो । खान समेत नपाएर निकै कमजोर बनिसकेकी बसुरानी एकदिन आफैं लडिन् । ढाडमा चोट लाग्यो । साहुले अस्पताल पुर्‍यायो । पोषणको कमीले कमजोर बनेको भन्दै चिकित्सकले पोषिलो खान र २ महिना आराम गर्न सुझाव दिए ।

खान समेत नदिने साहुले आरामले बस्न कहाँ दिन्थ्यो र ! किनेकै ठाउँमा फिर्ता गरिदिने बतायो । त्यहाँ लगिए अर्को ठाउँमा बेचिने निश्चित थियो । नेपाल फर्किन अर्को २ वर्ष कुर्नुपर्ने बाध्यता पनि ।

त्यहाँ नै काम गर्न पाए त छिटो घर फर्किन पाइन्छ भनेर उनले पीडा लुकाउँदै काम गर्न सक्ने बताइन् ।

‘मलाई त्यहाँको साहुले फेरि एजेन्ट भएको ठाउँमा लग्यो भने अर्को घरमा बेचिदिन्थ्यो,’ बसुरानीले सुनाइन्, ‘बरु त्यही घरमा अर्को १ वर्ष काम गर्न पाए नेपाल फर्कन पाइन्छ भनेर त्यहीँ बसेँ ।’

महिनामा एकपटक १५ मिनेट फोनमा परिवारसँग कुरा गर्न दिइन्थ्यो । तर साहुकै अगाडि बोल्नुपर्थ्यो । १५ मिनेटको अवधिमा कहिल्यै पनि उनले आफ्नो पीडा पति र छोराछोरीलाई सुनाउन सकिनन्, चाहिनन् पनि । आफ्नो पीडा सुनाउँदा पति र छोराछोरी पनि बिचल्लीमा पर्ने चिन्ता उनमा थियो ।

‘मैले भोग्नुपरेको पीडा सबै सुनाउँजस्तो लाग्थ्यो, तर मेरो दुःखले बुढालाई झन पीडा हुन्छ, उनी सम्हालिन सक्दैनन्, बच्चाहरू पनि सम्हालिन सक्दैनन् भनेर आफ्नो पीडा मनमै दबाएर राखेँ,’ उनले लोकान्तरसँग भनिन् ।

कमाएको पैसा जम्मा गरेर घर पठाउँथिन् । साहुले दिएको खानामा पर्याप्त पोषण हुन्थेन, तर उनी कमाएको पैसा खर्च गर्दैन थिइन् । किनकी नेपालमा ऋण तिर्नुथियो । घर बनाउनु थियो ।

अस्पतालले दिएको पेटी कम्मरमा बाँधेर काममा खटिने बसुरानीले दैनिक २ वटा सुइ लगाउँथिन् । ९ थरी औषधि खानुपर्थ्यो । यसरी औषधिको भरमा कति दिन चल्थ्यो र, फेरि थला परिन् ।

१० वर्षअघि देखिएको पाठेघरको समस्या बल्झियो । ढाड र पेट दुख्ने समस्याले उनी बेहोस् भइन् । फेरि अस्पताल लगियो ।

‘अस्पतालमा डाक्टरले तिमीलाई ज्यानको माया छैन र यस्तो पीडा लुकाएर बस्ने ? भनेर कराउनुभयो । पाठेघरमा घाउ भइसकेको रहेछ । पाठेघर र ढाडको भन्दा ठूलो घाउ त मेरो मनमै थियो । शरीरको घाउलाई दबाउनुको विकल्प मसँग थिएन,’ उनले आँसु झारिन् । 

चिकित्सकले दुईवटा सुइ थपिदिए । सुइ लगाउँदै काम गर्न थालिन् । यसैगरी कष्टकर दुई वर्ष बित्यो । घर फर्किन पाइने भयो भनेर उनी निकै खुशी थिइन् । साहु पनि उनलाई आफूले किनेर ल्याएको एजेन्टलाई फिर्ता गर्न सहमत भयो ।

तर उनलाई बेच्ने कम्पनी बन्द भइसकेको रहेछ । इराकमा बन्दीजस्तो जीवन ब्यतित गरिरहेकी बसुरानीलाई घर फर्किने अर्को विकल्प थाहा थिएन । रोगले गलिसकेकाले साहुले पनि उनलाई राख्न चाहेको थिएन ।

नेपाल पठाइदिनू भनेर उसले बसुरानीलाई अर्कै एजेन्टको जिम्मा लगायो । नेपाल पठाउन लाग्ने खर्च पनि एजेन्टलाई नै दियो ।

.....

८ दिनसम्म कम्पनीमै राखेपछि एजेन्टले नेपाल फर्कने पैसा पुग्दैन भन्दै फेरि अर्को घरमा काम गर्नुपर्ने बतायो । उनी त्यहाँ एक महिनासम्म कोठाभित्रै थुनिनुपर्‍यो । 

‘मलाई जसरी पनि दुई महिना काम गर्नुपर्छ, दुई महिना काम गरेपछि मात्रै नेपाल फर्कइदिन्छु, भने । त्यहाँ दिनमा एउटा रोटी र कालो चिया खाएर एक महिना बसेँ,’ उनले भनिन्, ‘मेरो परिवारसँग पनि सम्पर्क भएन । एक महिना त रोएरै बित्यो ।’ 

अर्काको देशमा उनको रोदन कसले सुन्ने ? जति रोए पनि नेपाल फर्किन पाउने अवस्था थिएन ।

दुई महिनापछि घर फर्किन पाउने आशामा उनी अर्को घरमा जान सहमत भइन् । आफूलाई मोबाइल पनि दिनुपर्ने उनको शर्त थियो । तर नयाँ साहुले उनलाई मोबाइल त दिएन नै तलब पनि ३ सय डलर मात्र दियो ।

फेरि उनलाई पुरानै रोग बल्झियो । पहिलाको औषधि खान छाडिसकेकी थिइन् । साहुले अस्पताल पुर्‍यायो । चिकित्सकले काम गर्न नसक्ने बताएपछि एजेन्टलाई नै फिर्ता गरिदियो । 

अस्पतालमा डाक्टरले तिमीलाई ज्यानको माया छैन र यस्तो पीडा लुकाएर बस्ने ? भनेर कराउनुभयो । पाठेघरमा घाउ भइसकेको रहेछ । पाठेघर र ढाडको भन्दा ठूलो घाउ त मेरो मनमै थियो । शरीरको घाउलाई दबाउनुको विकल्प मसँग थिएन ।

फिर्ता भएपछि एजेन्टले नेपाल फर्कने भए १० लाख रुपैयाँ बुझाउनुपर्ने बतायो । तर बसुरानीसँग खानको लागि समेत पैसा थिएन, १० लाख कहाँबाट ल्याउनु ? 

‘मैले १० लाख भएको भए किन आउँथें र नेपालमै बस्थें, भनें । म बिरामी छु, दुई महिना पनि पुग्यो म नेपाल जान्छुभन्दा मलाई मुखमुखै नलाग भनेर थर्कायो,’ उनले सुनाइन्, ‘मलाई एक हप्तासम्म पानीबाहेक केही खान दिएन ।’ 

उनलाई फेरि अर्को ठाउँमा काम गर्न जानुपर्ने बताइयो । 

‘मलाई फेरि काममा जानुपर्छ भन्यो । मैले म नेपाल जान पाइनँ भने मर्छु समेत भनें । तर उसले मरिस् भने फाल्ने ठाउँ यहीँ छ भनेर धम्क्यायो ।’

केही गरे पनि नेपाल नर्फकाउने बताएपछि उनले अन्तिमपटक अर्को घरमा काम गर्न सहमति जनाइन् । उनी गएको तेस्रो घरमा साहुले सिमकार्डको व्यवस्था गरिदियो । साहु पनि त्यसअघिका भन्दा अलि नरम व्यवहार नै गर्ने परेको थियो । तर उनलाई डर थियो, त्यहाँबाट नेपाल फर्कन दिन्छन् वा दिँदैनन् भन्ने ।

उनले सिमकार्ड पाएपछि इन्टरनेटमार्फत् नेपालमा रहेका पति, छोराछोरी र आफन्तसँग सम्पर्क गरिन् । आफूले इराकमा पाएको दुःख आफन्तलाई सुनाइन् । 

‘नेटबाट आफन्तसँग कुरा गर्न पाएँ । आफ्नो सबै पीडा सुनाएँ । मलाई यहाँबाट नेपाल झिकाउनू भनेर रोएँ,’ उनले भनिन्, ‘घरमा कुरा गर्न पाएपछि बल्ल मन हलुका भयो । नेपाल फर्कन पाइँने आशा पलायो ।’

पति र उनका दिदीभाइले नेपालबाट उनलाई फिर्ता ल्याउन पहल शुरू गरे । वैदेशिक रोजगार उद्धार नेपाल नामक संस्थामा पुगेर हारगुहार गरे ।

नयाँ साहुकोमा बसुरानीले काम गर्न थालेको दुई महिना मात्र भएको थियो । उनी फेरि काम गर्नै नसक्ने गरी थला परिन् । साहुले अस्पताल लग्यो । चिकित्सकले दिनको दुईवटा सुइ र ८ थरी औषधि दिएर पठायो । शरीरले आराम नपाएपछि उनलाई औषधिले पनि ठीक भएन ।

काम गर्नै नसक्ने भएपछि उनले नेपाल फर्काइदिन साहुसँग आग्रह गरिन् । आफूले ८ हजार डलर तिरेर किनेको भन्दै उसले जान नदिने बतायो ।

फेरि बेचिएको थाहा पाएपछि उनी थप निराश बनिन् । आफूले पाएको दुःख र त्यसअघि भोगेको पीडा उनले सबै सुनाइन् । त्यसपछि साहुले एजेन्टलाई कराएछ । उल्टै उनले एजेन्टको गाली खानुपर्‍यो ।

त्यहाँ काम गर्न थालेको ५ महिना बितिसकेको थियो । नेपालबाट आफन्तले पनि पहल गर्दै थिए । वैदेशिक रोजगार उद्धार नेपालका इराक प्रतिनिधि डुप्चेन सलका शेर्पाको पहलमा सम्झाएपछि साहुले आफूले किनेको रकम फिर्ता गरे फर्कन दिने बतायो ।

नेपालबाट ३ लाख जुटाएर पठाइयो । सो पैसा पाएपछि गत भदौ ३१ गते उनी नेपाल फर्किन सफल भइन् ।

‘उहाँहरूले पहल नगर्नुभएको भए मैले नेपाल देख्न पाउँदिन थिएँ । मेरा बालबच्चा देख्न पाउँदिन थिएँ,’ उनले भनिन्, ‘म धेरै खुशी छु, किनकी नर्कबाट घर फर्किन पाएँ ।’ 

उनी अहिले राम्रोसँग हिँडडुल गर्न पनि सक्दिनन् । ढाड र पाठेघरको उपचार काठमाडौंमै बसेर गराइरहेकी छन् ।

आफूलाई इराकमा लगेर बेच्ने मिलन वाइबा र साबित्रा अधिकारीको नाम मात्र थाहा छ, उनलाई । अहिले त हुलिया पनि याद छैन । तर तिनीहरूलाई खोजेर कारवाही गराउने धोको छ । 

‘मलाई नर्कमा पुर्‍याउनेहरूमाथि कारवाही होस्, ताकि मजस्तै सोझा अरु चेलीबेटी बेचिनुनपरोस्,’ बसुरानी भन्छिन् ।

हेर्नुहोस्, भिडियो :

तस्वीर/भिडियो – गगन अर्याल

असोज ९, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस