ऐनाको सफलतापछि मदन पुरस्कार विजेता रामलालले ल्याए ‘सखी’

असोज २०, २०७५

धनगढी – २०७४ सालमा साहित्य जगत एकाएक तरङ्गित बनेको थियो । जब साहित्यिक क्षेत्रमा नामै नसुनिएका दूरदराजका रामलाल जोशीलाई मदन पुरस्कारको विजेता घोषित गरियो । तब यी नौला साहित्यकार सर्वाधिक खोजीमा परे ।

आज फेरि उनै सुदूरपश्चिम प्रदेशको धनगढीका रामलाल जोशी साहित्यिक जगतमा ठूलो कम्पन पैदा गर्दै आएका छन् । उपन्यास जस्तो आख्यान विधामा नयाँ खुराक थपेका छन्, ‘सखी’ ल्याएर । सखी अर्थात् साथी ।


ADVERTISEMENT

आदिवासी जनजाति थारु जातिमा सखी २ स्त्रीबीचको साइनो मितिनीको पर्यायवाची हो । बुकहिलको प्रकाशनमा सखी बजारमा आएको हो । जसको आज काठमाडौंमा विमोचन हुँदैछ ।

सखीबारे प्रकाश पार्दै लेखक रामलाल जोशी भन्छन्, ‘सखी एउटा थारु कमलरी केटीको दुःख, संघर्ष र सफलताको कथा हो । थारु जातिमा लेखिएको अनुसन्धानात्मक, अवलोकनात्मक उपन्यास हो ।’

सखीमा लेखक तथा साहित्यकार जोशीले तराईको आदिवासी थारु जातिको अवस्था, कमैया कसरी बन्न पुगे ? त्यसको चित्रण गरेका छन् । 

सखीको सार

‘मुलुकको तराईको क्षेत्रमा आदिमकालदेखि बसोबास गर्ने यो ठूलो समुदायबारे त्यति धेरै अनुसन्धानात्मक ढंगले लेखेको पाइन्न । त्यही हुनाले पनि लेख्ने कोसिस गरेको हुँ,’ उनी थप्छन्, ‘तराईको सोझो, इमान्दार धर्तीपुत्र थारु जातिको आफ्नै इतिहास छ । तर, यो समुदाय जमिनदारको रबैयाले कसरी कमैया, कमलरी हुन पुग्थे ? थारु केटीहरूले कस्तोसम्म दुःख पाएकी थिइन् ? कालान्तरमा कसरी कमैया मुक्ति आन्दोलनको उठान भयो ? र कसरी सफलता प्राप्त गर्यो ? यिनै कुराको संगालो नै सखी हो ।’

सखीको मुख्य पात्र थारु समुदायको कमलरी केटी किस्मती चौधरी हो । जसको वरिपरि पूरै उपन्यास घुमेको छ । जसमा सानु बुवा, राजा कर्णबहादुर लगामत जमिनदारले कस्तो रबैया अपनाउँथे भन्ने चित्रणले सखीलाई जीवन्त बनाउने जमर्को गरेको लेखक बताउँछन् ।

सखीको भित्री पाटो

‘कृतिको मुख्य पात्र किस्मती चौधरी थारु समुदायको जमिनदारकै छोरी हो । किस्मती जन्मनुभन्दा पहिले त्यसका बाजे आन्दोलनमा गएका थिए । उसका छोराहरू पहाडी जमिनदारहरूको संगतले जँड्याहा बनेका हुन्छन् ।
पहाडी जमिनदारहरूले फकाइफुलाई गरी उनीहरूको पूरै जमिन हडपेर आफ्नो नाममा गरेका हुन्छन् । अन्ततः घरबारविहीन अवस्थामा पुगेपछि बिरक्तिएर आफ्नो सानो छोरी (किस्मती) लाई चौबाटो छोडेर आफू भगत (साधु) बन्छ, किस्मतीको बुवा ।’

सानी छोरीलाई चौबाटोमा छोडेको पनि अलग्गे कथा रहेको बताउँदै लेखक जोशी भन्छन्, ‘विषालु च्याउ खाँदाखेरि उसको बुवाबाहेक पूरै परिवार मर्छन् । बुढेसकालमा उसनको बुवाले दोस्रो विवाह गर्छ । अनि  कान्छीबाट किस्मतीको जन्म हुन्छ । छोरी जन्मिँदा पालनपोषण गर्न नसक्दा उसको बुवाले चौबाटोमा छोडेको हुन्छ । पछि एक जना मुसलमानले भेटाउँछ र मुसलमानबाट १ जना पहाडी समुदायका व्यक्तिले किनेर लगेर आफ्नो घरमा लगेर कमलरी बनाउँछ ।

त्यस्तै, मुलुकमा भएको कमैया, कमलरी आन्दोलन र म पात्रको सहयोगपछि किस्मति चौधरी सामाजिक अभियन्ताको रुपमा उदाउँछिन् । फलतः उनलाई एउटा सर्वोत्कृष्ट पुरस्कारले सम्मानित गरिएको विषयवस्तु सखीमा देखाउन खोजिएको छ ।

लेखक जोशीको पहिलो कृति ‘हत्केलामा आकाश’ २०५७  नामक गजल संग्रह हो भने दोस्रो कृति ऐना हो । २०७२ सालमा प्रकाशित ऐना कथा संग्रहमा १९ वटा कथाहरू समेटिएका छन् । ऐनामा पनि उनले यहाँको सामाजिक पीडा, वादी, थारु जातिको पीडा नयाँ किसिमले चित्रण गरेका छन् ।

डोटीको कानाचौरबाट २०५० सालमा कैलालीको धनगढी झरेका जोशी २ दशकदेखि धनगढीमा बसेर साहित्यकर्ममा लागेका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष पनि हुन् ।

असोज २०, २०७५ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि प्रदेश नम्बर ७ का प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार