आदर्श कम्युनिस्ट पार्टी निर्माणको जनअपेक्षा विपरीत नेकपाको बुर्जुवा यात्रा

असोज २२, २०७५

कम्युनिस्ट आन्दोलनको लामो टुटफुटपछि मूलधारका दुई प्रमुख पार्टीहरूले एकताको उद्घोष गरेको एक वर्ष भयो । शुरूआती चरणमा यसले एउटा तरङ्ग नै ल्यायो र नेपाली राजनीतिमा एउटा नयाँ आशा पलायो । कम्युनिस्ट नेताहरूले बाँडेका सपना, राजनीतिक स्थायित्वको आधार, कम्युनिस्ट कार्यकर्ताहरूको एकताप्रतिको लगाव र परिवर्तन चाहने जनताको मतले झण्डै दुईतिहाइ जनमत ल्याएको नेकपाको सरकार गठन हुनु नेपाली कम्युनिस्ट आन्दोलनको धेरै ठूलो उपलब्धि हो र इतिहासकै सुनौलो अवसर पनि ।

सिङ्गो नेकपाको गठन र दुईतिहाइप्राप्त सरकार निर्माण हुनु पक्कै पनि ऐतिहासिक उपलब्धिहरू हुन् तर यी दुई प्रक्रियामा मात्रै अल्झिनुले नेपालको कम्युनिस्ट आन्दोलनको गुणात्मक भन्दा गणनात्मक परिवर्तनको संकेत गर्दछ । गणनात्मक परिवर्तनको मुख्य प्रक्रिया त चुनाव र त्यसपछिको पार्टी एकीकरणले एउटा चरणमा पुर्‍याइसक्यो । अब पक्कै पनि गुणात्मक परिवर्तनमा ध्यान दिनु जरूरी छ । राजनीतिमा गणना पक्कै ठूलो कुरा हो तर जबसम्म नेकपाले गुणात्मक परिवर्तनमा विचार गर्दैन तबसम्म यो कम्युनिस्ट पार्टी भन्दा पनि बुर्जुवा पार्टीमा परिवर्तन हुन थाल्दछ र यसका शुरूआती लक्षणहरूले त्यस्तै खतराको संकेत गरिरहेका छन् । जब पार्टी नै बुर्जुवा बन्न थाल्छ भने उसले सञ्चालन गर्ने सरकारका कामहरू जनपक्षीय र कम्युनिस्ट आचरणका हुने सम्भावना ज्यादै न्यून हुन्छ । नेकपा र त्यसका नेताहरूले नेकपा निर्माणलाई एकीकरण भन्दा पनि नयाँ पार्टी निर्माणको दिशामा बहस र छलफल चलाउनुपर्ने आजको आवश्यकता हो ।


ADVERTISEMENT

नेकपा एकीकरण हो या निर्माण ? यसको उत्तर अझै अगाडि केही प्रश्नहरूमा अड्किन्छ र ती प्रश्नहरू नेकपा नेतृत्वमै ठोकिन पुग्छन् । जस्तै, के नेकपा दुई अपूर्ण कम्युनिस्ट पार्टीहरूको एकीकरणको परिणाम मात्र हो त ? कि दुई पार्टी जोडेर एउटा ठूलो पार्टीको नेता हुने नेताहरूको सपनाको रूप हो ? कि चुनावी परिणाममा मात्र आधारित कार्यगत एकताको नमूना हो ? कि विश्व परिवेश, छिमेकी चलखेल र बाह्य आर्किटेक्टको योजनाको मूर्त रूप हो ? कि साँच्चै एक्काईसौं शताब्दीको नमूना कम्युनिस्ट पार्टीको आवश्यकता महसूस र नमूना कम्युनिस्ट पार्टी निर्माण गर्ने सुनौलो सपनाको परिणाम हो ? यी प्रश्नहरूको ठोस उत्तर दिनु नेकपा नेताहरूको अहिलेको कर्तव्य हो ।

गोलमटोल योजना वा नेताहरूको महत्त्वाकांक्षा पूर्तिका लागि नेकपा गठन भएको हो भने त्यसको छुट्टै बहस हुन्छ तर साँच्चिकै नमूना कम्युनिस्ट पार्टी निर्माणको योजना हो भने के नेकपा नयाँ पार्टी निर्माणको सही दिशामा अघि बढिरहेको छ त भन्ने कुराको विश्लेषण गर्न नेताहरूले ढिला गर्नु पक्कै हुँदैन । नेपाली कम्युनिस्ट आन्दोलनका केही कमजोरीहरू र विभाजित जनमतका कारण कम्युनिस्ट आन्दोलनले सत्ता सञ्चालनको पूर्ण अधिकारका लागि धेरै लामो लडाईंपछि एकता गर्ने अवस्थासम्म आइपुगेको कुरा प्रस्ट नै छ ।

वर्तमान अवस्था र यसले सृजना गरेका दबाबहरूले एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि दुई मुख्य पार्टीहरूबीचको एकता जरूरी थियो र भयो पनि तर एकता नै सबै कुरा हो या एकीकरण नै अन्तिम विन्दु हो भने फेरि यसको भविष्य उज्ज्वल हुने छैन । दुईवटा घर जोडेर एउटा बनाएको अवस्थालाई फेरि दुईवटा हुने गरी फुटाउन सजिलो हुन्छ तर दुईवटा घडेरीलाई जोडेर बनाएको एउटा घरलाई दुईवटा घर हुने गरी फुटाउन पक्कै पनि सजिलो हुने छैन । तसर्थ यो एकीकरण भन्दा पनि निर्माण हुनु पर्छ भन्ने आम कार्यकर्ता र शुभचिन्तकहरूको बुझाइ हो र त्यो बुझाइलाई नेतृत्वले मनन गर्नु अपरिहार्य छ ।

एकीकरण पार्टी निर्माणको एउटा चरण हो र एकीकरणको प्रक्रियामा लेनदेन, भागबण्डा र सेटलमेन्टका कुराहरू पक्कै आउँछन् तर जसरी सतहमै छताछुल्ल हुने गरी आएका छन् यो पक्कै राम्रो होइन । एकीकरणमै नेकपा धेरै रुमल्लियो भने पार्टी निर्माणमा धेरै ढिला हुनेछ । अझ सैद्धान्तिक छलफलहरू भएको त सुनिएकै छैन । दुईचारजना नेताहरू बसेर निर्णय गर्ने हो भने छुट्टै कुरा, तर त्यसले गर्ने गोलमटोल एकीकरण नै हो न कि सबै स्वीकार्य नयाँ र नमूना कम्युनिस्ट पार्टी निर्माण । तसर्थ अब नेकपाले केही गम्भीर कुराहरूमा ध्यान दिनु जरूरी छ । एकीकरण र सत्तासञ्चालन भन्दा बाहेक नयाँ कम्युनिस्ट पार्टी निर्माण अर्को एउटा लक्ष्य हुनुपर्दछ । 

दुईवटा घर जोडेर एउटा बनाएको अवस्थालाई फेरि दुईवटा हुने गरी फुटाउन सजिलो हुन्छ तर दुईवटा घडेरीलाई जोडेर बनाएको एउटा घरलाई दुईवटा घर हुने गरी फुटाउन पक्कै पनि सजिलो हुने छैन । तसर्थ यो एकीकरण भन्दा पनि निर्माण हुनु पर्छ भन्ने आम कार्यकर्ता र शुभचिन्तकहरूको बुझाइ हो र त्यो बुझाइलाई नेतृत्वले मनन गर्नु अपरिहार्य छ ।

अहिले नेपाली कम्युनिस्ट आन्दोलनका सामु निम्न तीन सुनौला अवसरहरू छन् र यी अवसरहरू नै यो शताब्दीको नयाँ र नमूना कम्युनिस्ट पार्टी निर्माण गर्ने अवसरहरू हुन् । १) दुईतिहाइप्राप्त कम्युनिस्ट सरकार र यसलाई प्राप्त जनमत, २) ठूलो र एकीकृत कम्युनिस्ट पार्टी र ३) पार्टी एकीकरण र दुईतिहाइ सरकारको सर्वस्वीकार्यता ।

यी तीन सुनौला अवसरहरू हुन् र सँगसँगै ठूला चुनौती पनि किनकि दुईतिहाइ जनमतको अपेक्षा पूरा गर्न सरकारले धेरै मेहनत गर्नुपर्नेछ । पार्टी एकीकरणलाई सकेर नमूना कम्युनिस्ट पार्टी निर्माण गर्नु अर्को कठिन चुनौती हो र अन्तर्राष्ट्रिय समर्थन सँगसँगै अनावश्यक दबाब, षड्यन्त्र, स्वार्थ, सहयोग र सद्भावलाई व्यवस्थापन गर्दै अगाडि बढ्नु निकै चुनौतीपूर्ण छ ।

यी सबै कुराको सफलता अहिलेको उच्च नेतृत्वको काँधमा छ र नेतृत्वले धेरै सुझबुझपूर्ण तरिकाले काम गर्नु नै उत्तम हुनेछ किनकि अहिलेको यो नेतृत्व असफल भयो भने नेपालको कम्युनिस्ट आन्दोलन नै असफल हुने जोखिम पक्कै पनि नेकपा नेताहरूलाई थाहा होला । सरकार सञ्चालनलाई प्राथमिकतामा राख्नु जायज नै हो तर पार्टी निर्माणलाई लथालिङ्ग छाडियो भने यसले दूरगामी प्रभाव पार्नेछ । सरकार पाँच वर्षका लागि हो भने पार्टी सदाका लागि हो भन्ने कुरा बिर्सिनुहुँदैन । तसर्थ सरकारद्वारा जनअपेक्षाको सम्बोधन गर्नु र नयाँ पार्टी निर्माण गर्नु दुई समानान्तर कार्यभारहरू हुन् । 

दुईतिहाइ सरकार र यसको सञ्चालन

सरकार गठनदेखि नै अलमलमा परेको नेकपाले ठोस मापदण्ड र योजनाविना मन्त्रिपरिषद् त निर्माण गर्‍यो तर यसको पूर्णतामै केही समय खर्चिनुपर्‍यो । अनुभव, विशेषज्ञता र सम्भावना भन्दा पनि कोटा बाँडफाँडमा गठन भएको सरकारले धेरै स्थानमा बाटो बिराएको छ । प्रधानन्यायाधीश प्रकरण, गोविन्द केसी प्रकरण, कानून निर्माण, यातायात सिन्डिकेट, ठेकेदार प्रकरण, निर्मला हत्याकाण्ड, दिगम्बर झा नियुक्ति प्रकरण, निजगढ विमानस्थल योजना जस्ता धेरै ठाउँमा सरकार चिप्लिएको छ वा कम्तीमा प्रश्न गर्ने ठाउँ दिएको छ । गम्भीर छलफल, पूर्ण तयारी, व्यापक विश्लेषण, ठोस योजना र एउटा सरकार सञ्चालन वा सहयोगी संयन्त्र हुन्थ्यो भने पक्कै पनि सरकारले शुरूआती चरणमै राम्रो काम गर्नसक्ने थियो ।

तर सरकार घेराबन्दीमा त परेको छैन भन्ने प्रश्न पनि आउन थालेका छन् । तर सरकार घेराबन्दीमा परेको कुरामा यो लेखक सहमत हुन सक्दैन, बरू यो सरकारले आफ्नो अनुकूलको राम्रो घेरा बनाउन सकेन भन्ने अनुमान लगाउन सकिन्छ । सरकारले विज्ञहरूको सहयोग पक्कै लिएको होला तर कामहरूमा त्यस्तो बिल्कुल देखिँदैन । प्रधानमन्त्री या मन्त्रीहरूले बिचौलिया, व्यापारी र फुलटाइमरहरूको साथ लिन्छन् भने सफल हुन धेरै गाह्रो छ किनकि बिचौलियाले कमिसनमुखी सल्लाह दिन्छन्, व्यापारीले जहाँ नाफा देख्छन् त्यहीँ काम गर्न प्रोत्साहन गर्छन् अनि फुलटाइमर कार्यकर्ताहरूले आफ्नो जीविकोपार्जन वा आर्थिक लाभ खोज्छन् । तसर्थ अहिले ओली र उनका मन्त्रीहरूले निःस्वार्थी विज्ञहरूलाई सल्लाहकार र इमान्दार युवा कार्यकर्ताहरूलाई आफ्नो सचिवालयमा समेटेर राम्रो घेरा बनाउनु नितान्त जरूरी छ ।

निःस्वार्थी विज्ञ समूह, इमान्दार युवा कार्यकर्ता, सद्भाव राख्ने स्वदेशी तथा विदेशी शुभचिन्तकहरूको सल्लाह र पार्टीले निर्माण गर्ने एउटा संयन्त्रको सहयोग लिएर बोलीभन्दा काममा ध्यान दिई सरकार अगाडि बढ्यो भने सरकार पक्कै सफल हुनेछ र यसको बचाउका लागि अरिङ्गालहरूको आवश्यकता पर्नेछैन । 

सामूहिक छलफलबाट निर्णय लिने संस्कृतिबाट दुईतीनजनाको तजबिजमा चल्ने केन्द्रीय चरित्र देखिन्छ र सदस्यता लिन कडा परीक्षा दिनुपर्ने परिपाटीबाट सिफारिश, भोट र चुरीफुरीकै भरमा सदस्यता पाउने वातावरण निर्माण भएको छ ।

ठूलो र एकीकृत कम्युनिस्ट पार्टी

ठूलो र एकीकृत कम्युनिस्ट पार्टी बनाउने कार्य करीब अन्तिम विन्दुमा रहेको भनिएको छ तर एकीकरणका केही जटिल मुद्दाहरू सुल्झाउनै बाँकी देखिन्छन् । सहअध्यक्षीय खिचलो र वरिष्ठता घटबढ विवादबाट शुरू भएको एकता कहिले टुङ्गिने पत्तो छैन । यस शताब्दीको नमूना कम्युनिस्ट पार्टी बनाउने हो भने सिद्धान्त कस्तो हुने ? संगठन कस्तो हुने ? निर्णय प्रकिया कस्तो हुने ? कार्यशैली कस्तो हुने ? पार्टी सञ्चालनविधि कस्तो हुने ? नेतृत्वको जीवनशैली कस्तो हुने ? सदस्यता वितरण कस्तो हुने ? यी कुराहरूको छलफल भएको पाइँदैन । 

सामूहिक छलफलबाट निर्णय लिने संस्कृतिबाट दुईतीनजनाको तजबिजमा चल्ने केन्द्रीय चरित्र देखिन्छ र सदस्यता लिन कडा परीक्षा दिनुपर्ने परिपाटीबाट सिफारिश, भोट र चुरीफुरीकै भरमा सदस्यता पाउने वातावरण निर्माण भएको छ । यस्ता अभ्यासहरूले गर्दा पक्कै नमूना कम्युनिस्ट पार्टी निर्माण हुने कुरामा विश्वास गर्न गाह्रो छ । तसर्थ नमुना कम्युनिस्ट पार्टी कसरी बनाउने र कस्तो हुने भन्ने कुराहरूको निर्क्योल गरेर जाँदा पूरै पार्टीपंक्ति उत्साहित भएर लाग्न सक्छ र यसले समग्र समाज र नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउनेछ ।

पार्टी एकीकरण र दुईतिहाइको सर्वस्वीकार्यता

शुरूआती क्षणमा चुनावी एकता र पार्टी एकीकरणमा विश्वास नगर्ने ठूलो तप्का पार्टीभित्रै पनि थियो तर अहिले त्यो सम्भव भयो । एकीकरणका विरुद्धमा खासै सतहमै देखिनेगरी दबाब र चलखेलहरू भएको देखिएन । त्यो एउटा सकारात्मक कुरा हो र अन्तर्राष्ट्रिय हिसाबले पनि एकीकृत पार्टीलाई भएको समर्थन र दुईतिहाइ जनमतको स्वागतले यो सरकारलाई काम गर्ने सहयोग मिल्नसक्ने सम्भावनाहरू धेरै छन् र अनुकूल वातावरण पनि छ तर भित्रभित्रै हुने दबाब, चलखेल र षड्यन्त्रहरूलाई चिर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ र यस्ता बाहिरी र आन्तरिक स्वार्थहरूको व्यवस्थापनमा कुटिल कूटनीतिक चरित्र प्रदर्शन गर्नुपर्नेछ ।

अपेक्षा गरौं, चित्रबहादुर केसीदेखि नारायणमान बिजुक्छेसम्म अट्ने र चेपाङदेखि सतारसम्म हिमालदेखि तराईसम्मका आवाजहरूलाई सुन्ने महान् कम्युनिस्ट पार्टी निर्माण हुनेछ । नयाँ नेपाल र नयाँ कम्युनिस्ट पार्टी निर्माणमा नेकपा सफल होस् । हार्दिक शुभकामना !

असोज २२, २०७५ मा प्रकाशित

एलपी अर्याल

अर्याल समसामयिक विषयमा लेख्छन् ।
 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस