मारिन लागेका अर्जुनका नातिलाई श्रीकृष्णले जीवित बनाइदिनुभएको थियो, महाभारतको विचित्र कथा

असोज २४, २०७५

काठमाडौं — भगवान् कृष्णले महाभारत युद्धको बेलमा अर्जुनलाई गीताको उपदेश दिनुभएको थियो । अर्जुन इन्द्रका पुत्र थिए तर पाण्डुपुत्र भनिन्थे । 

उनकी माता कुन्ती थिइन् । कुन्ती भगवान् श्रीकृष्णकी फूपू थिइन् । 

अर्जुनका चार पत्नी थिए : द्रौपदी, सुभद्रा, उलूपी र चित्रांगदा । द्रौपदीबाट श्रुतकर्मा, सुभद्राबाट अभिमन्यु, उलूपीबाट इरावत र चित्रांगदाबाट वभ्रुवाहन नामक पुत्र उत्पन्न भए । 

अभिमन्युको विवाह महाराज विराटकी छोरी उत्तरासँग भएको थियो । महाभारत युद्धमा अभिमन्युले वीरगति प्राप्त गरेका थिए । महाभारतको युद्ध चलिरहँदा उत्तरा गर्भवती थिइन् । उनको पेटमा अभिमन्युका छोरा हुर्किरहेका थिए । 

द्रोणाचार्यका पुत्र अश्वत्थामाले पाण्डवहरूको वंश नष्ट होस् भनी ब्रह्मास्त्र प्रहार गरेका थिए । ब्रह्मास्त्रका कारण उत्तराको पेटभित्रको शिशु मर्ने अवस्था आएपछि भगवान् श्रीकृष्णले सुदर्शन चक्र गर्भमा राखेर ब्रह्मास्त्र छेकेर बालकलाई जीवित राख्नुभएको थियो । 

तिनै बालक पछि परीक्षित नामबाट प्रसिद्ध भए । 

श्रीकृष्णले भीमका नाति, घटोत्कचका छोरा बर्बरिकको पनि अमृत छर्केर टाउको जीवित राख्नुभएको थियो । त्यही टाउकोले महाभारतको युद्ध प्रत्यक्ष हेरेको थियो ।


ADVERTISEMENT

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार