एक नम्बर प्रदेशको योजना आयोग 'चाँडै गठन हुने'

असोज २४, २०७५

विराटनगर–  एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले देशको दिगो विकासको लागि सबै तहबीच समन्वय र सहकार्यको खाँचो रहेको औंल्याएका छन् । शुन्य पूर्वाधारबाट काम शुरु गरेको प्रदेश सरकार बामे सरेर अघि बढ्दै गरेको अबस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीचको तालमेल हुन नसकेको अबस्थामा योजना निर्माण मात्र हैन दिगो विकासको लक्ष्यमा धेरै असजिलो हुने रार्इकाे भनाइ छ । 

विराटनगरमा राष्ट्रिय  योजना आयोगले आयोजना गरेको दिगोविकास लक्ष्य मैत्री योजना, अनुगमन, मुल्याङ्कन तथा  तथ्यांक सम्बन्धी प्रदेश स्तरिय क्षमता विकास कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशको दियो विकास योजना निर्माणको लागि प्रदेश योजना आयोग चाँडै गठन हुने बताए । उनले अहिले पनि एक नम्बर प्रदेश सरकार प्रदेशको आवधिक योजना निर्माणमा लागि रहेकोले आवधिक योजनाको आधारमा प्राथमिकताहरु निर्धारण गरिने उनकाे भनाइ थियाे ।


ADVERTISEMENT

कृषि, पर्यटन, जलश्रोत क्षेत्रमा एक नम्बर प्रदेशले प्रसस्त संभावना बोकेकोले ती श्रोतहरुसँगै अन्य श्रोतको समेत पहिचान गरी प्राथमिकताका आधारमा आवधिक योजना निर्माण हुने क्रममा रहेको मुख्यमन्त्री राईले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले अहिले कर्मचारीले नीतिनियम हेर्दै आएकोमा अबका दिनमा नीतिनियम हेर्न भन्दापनि  परिणाम दिने गरी काम गर्न सुझाव दिए । योजनामा पनि प्रदेश, संघ र स्थानीय तह बिचमा साझा सुचि रहेकोले तिनै तहबीच समन्वय नभए काम गर्न गाह्रो हुने उनले सुनाए । 

सन् २०३० सालमा दिगो लक्ष्य भेट्नको लागि केही आधारहरु तय भएपनि त्यसले मात्र नपुग्ने नदेखिएकाले माथि उठ्ने गरी कर्मचारीतन्त्रले परिणाममूखी काम गर्न उनको सुझाव छ । ‘अहिले पनि योजना आयोगलाई योजना बनाउनु पर्यो भने तथ्यांकको समस्या छ,' डा कँडेलले भने, 'त्यसको लागि तथ्यांक बैंकको खाँचोलाई हामीले पुरा गर्दैछौ ।’

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस