युगान्डामा भारी वर्षापछि पहिरो जाँदा ३१ जनाको मृत्यु

असोज २६, २०७५

काठमाडौं — पूर्वी युगान्डामा भारी वर्षापछि पहिरो जाँदा कम्तीमा ३१ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले शुक्रवार बताएका छन् । 

विपत व्यवस्थापन आयोगका आयुक्त मार्टिन ओवोरले बताए, ‘३१ जना मारिएको पुष्टि भएको छ ।’

बिहीवार भारी वर्षापछि बुडुडा जिल्लामा रहेको बुकालासी शहरमा नदीले किनारा भत्काएको थियो र बजाभरि हिले पानी फैलिएको थियो । 

प्राकृतिक विपत र द्वन्द्वबाट समुदायहरूलाई पार पाृन सहयोग गर्ने एक संस्थाका निर्देशक नाथन तुमुहाम्येले चारदेखि पाँच गाउँ र एक प्राथमिक विद्यालय यो विपतबाट प्रभावित भएको बताए । 

युगान्डा रेडक्रसकी प्रवक्ता आइरिन नाकासीताले भयानक पहिरोको तस्वीर ह्वाट्सएपमा शेयर गरिन् । अंग छुट्टिएका लाशलाई नदीले ल्याएको हिलोमा देखिएको पनि तस्वीरमा देखिन्छ । 

मानिसहरूले केही शरीरलाई केराको पातले छोपेको देखिन्छ । 

बुडुडा जिल्ला एल्गोन पर्वतको फेदीमा छ र यो युगान्डा तथा केन्याको सीमामा पर्छ र यो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । 

सरकारले विपतमा परेका मानिसलाई छिमेकी जिल्लाहरूमा सार्न खोजेको भएपनि स्थानीयले प्रतिरोध गर्ने गरेका छन् । 

एजेन्सी


ADVERTISEMENT

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस