दार्जिलिङमा रम्दै ʻलभ स्टेशनʼ जोडी

असोज २६, २०७५

काठमाडौं। प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को आधा छायाँकन सकिएको छ । यो चलचित्रको असोज ११ गतेबाट दार्जिलिङदेखि छायाँकन सुरु भएको थियो ।

चलचित्रका निर्माता गोबिन्द शाहीले चलचित्रको ५० प्रतिशत छायाँकन सकिएको जानकारी दिए । उनले भने, ‘हामीले दुई वटा गीत सहित ५० प्रतिशत छायाँकन सकेका छौं । तोकिएको ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि काठमाडौं फर्कन्छौं ।ʼ यसअघि सफल चलचित्र ʻलिलिबिलीʼमा प्रदीप र जसिताको जोडीलाई दर्शकले मन पराएका थिए । 


ADVERTISEMENT

ʻलभ स्टेशनʼमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । चलचित्रको निर्देशक उज्ज्वल घिमिरे हुन । चलचित्रभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताएका छन् । 

यस्तै अभिनेता प्रदीपले चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमाभन्दा केही पृथक रहने बताएका छन् । चलचित्रको प्रस्तुतकर्ता गोविन्द शाही हुन् । ʻलभ स्टेशनʼलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रको दार्जिलिङ र कालिङपोङपछि सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन गरिने छ । 

आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ् ।

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस