दशैंमा मार्कण्डेय पुराण र शक्तिउपासनाको महिमा

असोज २७, २०७५

अठारपुराणमा मार्कण्डेय पुराणको विशिष्टतम स्थान छ । यो पुराण गणनाको हिसाबले सातौं स्थानमा पर्छ । पुराणहरू कुनै वक्ताको नामबाट, कुनै श्रोताको नामबाट र कुनै विषयवस्तुका हिसाबबाट नामकरण भएका छन् । यस हिसाबले यो पुराण वक्ताको नामबाट नामकरण हुने पुराणमा पर्छ । 

यस पुराणलाई सर्वप्रथम महामुनि मार्कण्डेयले व्यासशिष्य जैमिनीलाई बताएका थिए । भागवतादि ग्रन्थहरूमा उल्लेख भएअनुसार यसको श्लोक संख्या नौहजार देखिन्छ तर कतै छ हजार ९०० उल्लेख भएको पनि पाइन्छ । तर उपलब्ध पुराणको श्लोकसंख्या गणना गर्दा सात हजार ५४१ पाइएको कुरा अष्टादश महापुराण दिग्दर्शनमा नारायणाचार्य कौशिकले गरेका छन् । 


ADVERTISEMENT

त्यस्तै यसको अध्याय संख्यामा पनि एकै किसिमको भनाइ पाइन्न । कतै यसको अध्याय संख्या १३७ उल्लेख भएको भेटिन्छ । कतै १३४ उल्लेख भएको पनि पाइन्छ । खासगरी मार्कण्डेय पुराण शाक्तपरम्परामा आधारित पुराण मानिन्छ, जहाँ चण्डीसप्तशतीको विस्तृत वर्णन गरिएको छ । 

वस्तुतः मार्कण्डेय पुराणको ८१ देखि ९३ सम्मको १३ अध्याय दुर्गासप्तशतीमा आएको छ । दुर्गासप्तशतीको १३ अध्याय यिनै १३ अध्याय हुन्, जहाँ महामाया भगवतीको विशेषता वर्णन गरिएको छ । दुर्गासप्तशतीमा ७०० श्लोक छन् । यसैको आधारमा यसलाई सप्तशती भनिएको हो । यसलाई नवरात्र तथा अन्य समयमा पनि उत्तिकै श्रद्धा र भक्तिपूर्वक पाठ गर्ने गरिन्छ । यसको पाठ गर्नाले ग्रहभय, राजभय, चौरभय, रोगादिभय लगायत सबै किसिमका भय निवारण हुन्छन् भन्ने धार्मिक विश्वास छ । राज्यभ्रष्ट भई विरक्तिएर हिडेका सुरथ राजा र घरपरिवारवाट निकालिएका समाधि वैश्यलाई सुमेधा ऋषिले बताएको परब्रह्मस्वरूपिणी भगवतीको कथा नै दुर्गासप्तशतीको विषय हो । यसैको कारण यिनीहरूको उद्धार भएको थियो  ।  

विशेषगरी दुर्गासप्तशतीमा तीन तीनवटा विषयको समन्वय भएको छ ।  सर्वप्रथम यसमा प्रथम, मध्यम तथा उत्तम तीनवटा चरित्र छन् । यिनका ईष्टदेवीमा महाकाली, महालक्ष्मी र महासरस्वती पर्छिन् । यसका पात्र पनि सुमेधा ऋषि, सुरथ राजा र समाधि वैश्य तीनजना नै रहेका छन् । 

प्रथम चरित्रमा महामाया भगवतीको सहयोगमा विष्णुले मधु र कैटभ दानव वध गरेको प्रसङ्ग आएको छ भने मध्यम चरित्रमा उनै भगवतीद्वारा महिषासुर आदि दानव वध भएको र उत्तम चरित्रमा शुम्भनिशुम्भ आदि दानवलाई समाप्त पारिएको प्रसङ्ग आएको छ । यसबाहेक माता भगवतीको स्तुति तथा उनका विशेषता वर्णन आदि केही थप प्रसङ्गले पनि स्थान पाएका छन् । तर यी सबै कथानक विषय मात्र हुन् । यिनका गूढार्थ भने अरू नै देखिन्छन्, जसलाई  यस आलेखमा केलाउने प्रयास गरिएको छ । 

मूलतः सप्तशतीको विषय भनेको ब्रह्म, जीव र मायाको विशेषता वर्णन गर्नु हो अर्थात् तिनको जानकारी दिनु हो । यसमा आएका उल्लिखित तीन प्रसङ्गले हामीलाई ब्रह्म भनेका के हो, जीव भनेको को हो र माया भनेको के हो भन्ने जानकारी दिएका मात्र छैनन् । हामी यसबाट ब्रह्मकै अङ्ग भएर पनि जीवले किन दुःख पाएको छ र त्यसबाट मुक्त हुन के गर्नुपर्छ भन्ने कुराको समेत जानकारी पाउन सक्छौं । उदाहरणका लागि सर्वप्रथम यसमा आएका उल्लिखित तीनवटा पात्रलाई नै लिनसकिन्छ । 

वास्तवमा उनीहरू आफैंमा पात्र नभई प्रतीक हुन् । जस्तो, सुरथ राजा भनेको माया वा सांसारिक प्रपञ्चमा फसेर दुःख पाएको जीव हो । ऊ सुरथ त हो अर्थात् उससँग दुःखको संसारबाट मुक्त गर्न सक्ने रथ अर्थात् शरीर त छ तर त्यसलाई चलाउन सकेको छैन र दुःख पाइयो भन्दै त्यसबाट मुक्तिका लागि भौंतारिँदै हिँडेको छ । त्यस्तै समाधि वैश्य भनेको पनि मुक्ति वा ब्रह्मको खोजीमा हिँडेको जीव हो । ऊ घरपरिवारबाट विरक्तिएर समाधिको बाटोमा अर्थात् ब्रह्मको खोजीमा हिँडेको त छ तर हिँड्ने तरिका मिलाउन नसकेर दुःख पाइरहेको छ । 

त्यसैगरी सुमेधा ऋषि भनेको आफ्नो मेधाशक्तिलाई राम्रोसित प्रयोगमा ल्याएर ब्रह्मतत्त्व बोध गरिसकेको ज्ञानी जीव हो । अनि उनले सुरथ राजा र समाधि वैश्यलाई दिएका माता भगवतीसम्बन्धी जानकारी भनेको ब्रह्मतत्त्व सम्बन्धी जानकारी हो भने भगवतीले उनीहरूको उद्धार गरिन् भनेको उनीहरूले भगवतीको कृपाबाट दुःखको कारण थाहा पाए अर्थात्  वास्तविक स्थिति बोध गर्न सके भन्ने नै हो ।    

त्यसैगरी सप्तशतीको तीनवटा चरित्रमा आएको विषयवस्तुको पनि गूढार्थ अर्कै देखिन्छ । जस्तो, प्रथम चरित्रमा उल्लेख भएको मधु र कैटभ दानव भनेको माया र मोहमा आकण्ठ डुबेको जीव हो ।  ऊसित शक्ति त छ तर नजानेर दुरुपयोग गरिरहेको छ । माया र मोहमा फसेको मानिसले आफू पर्ने खाल्टो आफैं खनिरहेको हुन्छ । उनीहरूले पनि त्यस्तै गरेका छन् । फलतः आफ्नै कारण विष्णुको हातबाट आफैंलाई समाप्त पार्न पुगिरहेका छन् । त्यस्तै मध्यम चरित्रमा उल्लेख भएको महिषासुर भनेको क्रोधको प्रतीक हो । क्रोधारूढ व्यक्तिले आँखा देख्दैन र गर्न हुने नहुने सबै काम गरिरहेको हुन्छ । महिषासुरले यस्तै गरैको छ । अर्थात् उसलाई आफ्नै क्रोधले खाएको छ । माता भगवतीले सम्झाउन खोज्दाखोज्दै पनि क्रोधावेशको कारण उल्टै  भगवतीमाथि नै जाइलाग्न पुगेको अन्ततः यसैको कारण  भगवतीको हातबाट मृत्युवरण गर्न पुगिरहेको छ । 

त्यसैगरी शुम्भनिशुम्भ भनेको कामको प्रतीक हो । कामवासनाले अन्धो भएको व्यक्ति आफू पर्ने खाल्टो आफैं खोज्दै हिँड्छ ।  यसैका कारण वनमा स्वतन्त्र विचरण गर्र्दै हिँडेका हात्ती बन्धनमा पर्न पुगिरहेको हुन्छ । वासनालाई काबुमा राख्न नसक्दा अकालमा जीवन गुमाउने मानिस पनि खोजिपसे धेरै नै पाउन सकिन्छ ।  यस्ता व्यक्तिले न बालक भन्छन्, न वृद्ध । न छोरी बुहारी भन्छन्, न आमा वा सानीमा नै भन्छन् । अन्ततः जेलको छिडीमा पुगेर त्यसकै फल भोगिरहेका हुन्छन् । शुम्भनिशुम्भ आदि दानवले वासनाकै कारण आफूलाई थाम्न सकेनन् र भगवतीको पछिलाग्न थाले । फलतः उनीहरूले तिनै माता भगवतीको हातबाट ज्यान गुमाउनुप¥यो । यद्यपि उनीहरू निकै शक्तिशाली थिए तर परेको बेला तिनले केही गर्न सकेनन् ।  

यस प्रसङ्गमा धूम्रलोचन, चण्डमुण्ड, रक्तबीज आदि शुम्भनिशुम्भका जुन सहयोगी पात्र देखिएका छन् ती पनि प्रतीक नै हुन् । जस्तो धूम्रलोचन भनेको नराम्रो आँखा वा दृष्टि हो । मानिसलाई वासनामा आकर्षित गर्ने काम नराम्रो दृष्टिले नै गर्छ । सर्वप्रथम शरीरमा पाप पस्ने भनेको आँखाबाट नै हो । यद्यपि नाक, कान, मुख, छाला आदि अन्य इन्द्रियहरू पनि सहयोगी हुन सक्छन् तर सर्वाधिक शक्तिशाली भने आँखा नै हुन्छन् । त्यसपछि  आउने चण्डमुण्ड भनेका अज्ञानका प्रतीक हुन् । अज्ञानले पनि वासनामा फसाउन उत्तिकै सहयोग गरेको हुन्छ । चण्डमुण्डले त्यस्तै गरेका छन् । त्यसपछि  आउने रक्तबीज त यसै पनि वासना आफैं भइनैहाल्यो । वासनाले मानिस कहिल्यै अघाउँदैन । जति खायो उति खान मन लाग्छ । रक्तबीजको जति थोपा रगत चुहिन्थ्यो, उतिवटा दानव खडा हुन्थे भनिएको यही हो । 

यी त भए मार्कण्डेय पुराणमा आएका चण्डीसप्तशतीको तान्त्रिक तथा वेदान्ती विवेचन । यसबाहेक यस पुराणका अन्य कथा तथा प्रसङ्गहरू पनि त्यत्तिकै महत्त्वका छन् । यसमा वेदवर्णित कर्मकाण्ड पनि छन्, ज्ञानकाण्ड पनि छन् र भक्तिकाण्ड पनि छन् । निस्सन्देह माकण्डेय पुराण शाक्तपुराण हो । तथापि यसले गाणपत, सौर तथा वैष्णव परम्परालाई उत्तिकै महत्त्व दिएको छ । त्यसैले यस पुराणलाई धर्मसहिष्णुताको बेजोड नमूनाको.रूपमा समेत लिन सकिन्छ ।   
 

असोज २७, २०७५ मा प्रकाशित

कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस