उहिलेको तुलनामा अहिलेको समाज : फेरियो समय, घट्नुको साटो बढ्यो बेथिती

असोज २८, २०७५

हामी सबैले अनुभव गरेकै कुरा हो, हाम्रो समाजको अवस्थामा हालसम्म पनि खासै सुधार भएको छैन । यसो हुनुको मुख्य कारण शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत क्षेत्रमा विकास हुन नसक्नु नै हो ।

अर्को कुरा हाम्रा आफ्नै परम्परागत मान्यता एवं अन्धविश्वास पनि मुख्य कारकको रूपमा रहेका देखिन्छन् । यीनै क्षेत्रलाई केन्द्रबिन्दु बनाएर यो लेख तयार पारिएको छ । मुख्य कुरो भनेको पहिलेको समाजको तुलनामा हालको अवस्थासम्म पनि सुधार किन हुन नसकेको होला भनी एकैछिन जो कोही पनि घोत्लिनु पर्ने स्थिति देखापरेको छ । 


ADVERTISEMENT

पहिलेको अवस्था

करीब ४० वर्ष पहिले मेरा साथी डा. शुरवीर पौड्यालले लेख्नुभएको गारू पनि ब्याउँदो रहेछ भन्ने कथा आजसम्म पनि मलाई याद भई नै रहेको छ । त्यो कथामा गाउँका साधारण मानिसलाई कसरी टाठा बाठाले ठगीको खेती गर्दछन् भन्ने कुरा प्रष्ट गरिएको थियो । धनीमानी र ठालुहरू गरीब जनतालाई अनेक किसिमका कुतर्क तेस्र्याएर हुनै नसक्ने कुरालाई पनि हुन्छ भन्ने दलील गरेर प्रमाणित गरेको उल्लेख थियो । साराँसमा भन्नु पर्दा गरीबले पालेको गोरु ब्याउँछ भनेर धनी व्यक्ति वा गाउँको टाठोबाठोले प्रमाणित गरेर गोरु लगेको घटना । यस्ता घटना अहिले पनि हाम्रा समाजमा दिन प्रतिदिन घटिनैरहेका छन् ।

म आठ दश वर्षको हुँदा घरमा धान झाँट्नको लागि नगिचै बस्ने हर्के दर्जिलाई बोलाइएको थियो । उसले काम गर्दै जाँदा कामको सिलसिलामा बातचित पनि भईनै रहेको थियो । हर्के दर्जिले अम्बा भनेको बेलाउती हो । अथवा अम्बा र बेलाउती भनेको एउटै चिज हो भनेको मैले सुनेको थिएँ । फरक फरक होइन भन्ने उसको दलीलथियो । तर मालिक महाप्रसादलाई भने उसले भनेको कुरालाई गलत साबित गर्नु थियो र उसले भन्यो तैँले पढेको छैनस, तँलाई अम्बा भनेको के थाहा ? अम्बा भनेको आँप हो भन्ने कुरा पुष्टि गर्न खुबै आफ्ना तर्क निरन्तर रूपमा पेश गरीनै रह्यो । जति हर्के दर्जिले भने पनि महाप्रसादले स्वीकार गर्दै गरेन । आफ्नो एकोहोरो बिना तर्क वा प्रमाण जिद्दी गरीनै रह्यो । यो विषयमा हर्के दर्जिले आफूलाई सम्ययित बनाउँदै तर्क गर्ने कुराबाट पन्छिन पुग्यो । यसरी नहुने कुरालाई मुढेवल एवं शक्तिको भरमा महाप्रसादले आफूलाई बिजेता बनाउन सफल भयो र हर्के दर्जि पराजित हुन पुग्यो ।

अर्को घटना पनि यहाँ उल्लेख गर्न मलाई उपयुक्त लाग्यो । त्यस समयमा पनि म सानै थिई । मलाई धेरै कुरा थाहा थिएन । केवल थाहा थियोत के खान हुन्छ, के खान हुन्न, कहाँ जाने, कहा नजाने, दलित को घरमा जान हुँदैन र उनीहरूले छोएको कुरा खान हुँदेन, छोईयो भने छिटो हाल्नु पर्दछ भन्ने जस्ता कुरा मात्र मलाई थाहा थियो र यस्तै शिक्षा मात्र मलाई दिइएको थियो । म त्यसैलाई शिरोधार गरेर पालना गरेको हुन्थेँ । छुन नहुने र छोएपछि चोखिनको लागि छिटो हाल्नु पर्दथ्यो । यो प्रचलन धेरै जसो गाउँघरमा बिद्यमान छदैछ । यसलाई निर्मूल पार्न सकिएको छैन ।

टाठाबाठा ठूला भनाउँदाहरूले सिधासाधा मानिसलाई शोषण गरेकै छन् । यस्ता पात्र र प्रवृत्तिले गर्दा धनी र गरीबीको खाडल झन् फराकिलो हुँदै गएको छ ।

अर्को एक दिन पनि हर्के दर्जीसँग महाप्रसादको बादबिबाद चलिनै रहेको थियो । त्यस समयमा गाउँका टाठा बाठा र धनी मानिस सँग फाट्ट फुट्ट रेडियो हुन्थ्यो । मलाई रेडियोको विषयमा थाहै थिएन भने पनि हुन्थ्यो । मेरो घरमा रेडियो थिएन । अन्यत्र खोज्दै जाने  मेरो हैसियत पनि भैसकेको थिएन । बाद बिबाद सामान्य थियो । कुरा के थियो भने रेडियोको कारखानाबाट जे पठायो त्यहि मात्र आउँछ अरु केही पनि आउन सक्दैन । जस्तो माथिबाट गीत हाल्यो उस्तै गीत मात्र आउँछ, भजन हाल्यो भने भजन मात्र आउँछ, त्यस्तै गरेर कबिता हाल्यो भने कबिता मात्र आउँछ अरु कुरा आउँदै आउँदैन भन्ने तर्क थियो महाप्रसादको । तर हर्के दर्जिको तर्क थियो रेडियोमा विभिन्न कुरा हुन्छन्, आफूलाई गीत सुन्न मन लागे गीत बजाउन सकिन्छ, भजन सुन्न मन लागे भजन सुन्न सकिन्छ । यसैगरी कविता सुन्न मन लागे कबिता सुन्न सकिन्छ ।

मुख्य कुरो भनेको रेडियोलाई चलाइरहनु पर्छ र ठीक स्टेशनमा लगेपछि बज्ने गर्दछ भन्ने कुरा उसले भनि रहेको हुन्थ्यो । तर उसको तर्कलाई महाप्रसादको कहाँ चित्त बुझ्थ्यो र ? हर्केको अगाडि उसले बाजि मार्नु अर्थात् जित्नु नै पर्दथ्यो । महाप्रसादले आफ्ना एकोहोरो कुतर्क राख्दै गयो । महाप्रसाद भन्दा हर्के धेरै जाने बुझेको भएपनि उसको केही लागेन र होला हजूर मत दलितको छोरो, मलाई के थाहा हुन्छ र हजूरहरू जस्तो पढेलेखेको मानिस म होईन भनेर भन्न मात्र भ्याएको थियो, महाप्रसादको अनुहार हसिँलो हुन पुग्यो । अघिनै मलाई थाहा छैन हजूर भनेको भए, यति लामो बहस किन गर्नु पर्थ्यो र? । जेहोस् मैले भनेको कुरा तैँले मानिस् , ठिकै भयो भनेर महाप्रसाद अर्को तिर लाग्यो ।

अर्को एउटा घटना पनि मेरो मनमा अझै ताजा छ । त्यो थियो बिहाबारीमा बाजा बजाउने दमाईहरूलाई दिने ज्याला । बेहुली भित्र्याई सकेपछि दमाईहरूलाई ज्याला दिने काम हुन्छ । दमाईहरूलाई कम ज्याला दिनको लागि उनीहरूसँग कसिकसाउ(बार्गेनिङ्) गर्नको लागि सक्षम व्यक्तिको खोजि गरीएको हुन्थ्यो । अलि जान्ने बुझने, बाठो टाठो, समाजमा अलि चल्ता पूर्जा भएको व्यक्तिलाई त्यो काम जिम्मा लगाईन्थ्यो र उसले किनारा पनि लगाउँथ्यो । दमाईँहरूले ज्याला पुगेन भनी जति कराए पनि एक सुका पनि थपिएको हुन्थेन । जे जति दिएका हुन्थे, त्योनै उनीहरूले स्वीकार्नु पर्थ्यो ।

यी त भए केही वर्ष अघिका समाजमा भएका केही प्रतिनिधिमूलक घटना र समाजका  केही प्रतिनिधिमूलक पात्रहरूको बिबेचना तथा हाम्रो समाजको अवस्था । तर अहिलेसम्म पनि हामी र हाम्रो समाजमा खासै तात्वीक अन्तर भएको देखिदैन । परिवर्तनकारी समाजले जुन रूपमा परिवर्तन ल्याउन सक्नु पर्ने थियो, त्यो हुन सकेको छैन । यिनै कुराको सेरोफेरोमा रही वर्तमान अवस्थाबारे तलका प्रकरणमा केही प्रकाश पारिएको छ ।

अहिलकोे अवस्था

अहिले पनि हर्के दर्जि जस्ता केही पात्रमा केही परिवर्तन आएको होला । तर महाप्रसादजस्ता ठालुहरूले बुझी बुझिकन पनि बुझपचाइरहेका देखिन्छन् । उनीहरूको चरीत्र र प्रवृत्तिमा कुनै सुधार आउन सकेको छैन । आफूलाई शुख र अरुलाई पिडा दिने गतिबिधि सन्चालन भईनै रहेका छन् ।

एक दिन मेरो कान्छो छोराले भनेको थियोे, हैन बुबा सरकारी कर्मचारी त बोल्न पनि कति गाह्रो मान्दा रहेछन् ।सबै सरकारी कर्मचारी यस्तै हुन्छन् कि क्याहो भन्ने उसको भनाई थियो । दाईको मार्कसिट झिक्न बिश्वबिद्यालय गएको थिएँ, त्यहाँ मार्कसिट झिक्नको लागि आबश्यक पर्ने विषय बारे जानकारी लिनको लागि सोधनी गर्दा अलि अलि आबाज निकालेर केही भने जस्तो गरेर अर्कै तिर मुन्टो फर्काएर प्रष्ट जबाफ दिन चाहेनन् ।  यसरी कसैले पनि जबाफ नदिएपछि उ जानकारी लिन नसकि घर फर्किएकोे थियो । त्यो मार्कसिट उसले झिक्न नसकेर म आफै गएर झिकेर ल्याएको थिएँँ ।

त्रिविवि कै कुरा गर्दा त्रिविविकै अधिकारीबाट प्रमाणित गरेको प्रतिलिपिको आधारमा मार्कसिटको प्रतिलिपि झिक्न पाईदैन भनि झिक्न नपाएको अनुभव अझ सम्म पनि मलाई ताजै रहेको छ । प्रतिलिपि भिक्न सक्कल आबश्यक पर्ने र पहिलेको त्यहि बिश्वबिद्यालयको अधिकारीले  प्रमाणि गरेको प्रतिलिपिलाई आधार मान्न सकिदैन भन्ने जबाफ मिल्यो । बिदेशमा पढ्न गएको हुँदा सक्कल प्रति पेश गर्न पनि सम्भब थिएन । त्यहिँ भएको अभिलेखको आधारमा मार्कसिट प्रमाणित गर्नु कुनै गैरकानून थिएन भन्ने कुरा यो लेखकलाई अझैसम्म पनि लागि रहेकोनै छ ।किन प्रमाणित गरीएन बुझ्न सकिएन ।

केही वर्ष अघिको कुरो हो मैले व्यक्तिगत आयको कर चुक्ताको प्रमाणलिन ठूलै कसरत गर्न पर्‍यो । उक्त आब मा कुनै कारोबार नभएपनि सोही बेहोराको कर चुक्ताको प्रमाण लिनु पर्ने थियो । कर्मचारीबाट बिबरण फाराम भर्न सहयोग पनि नगरिदिने र सिकाउँदा पनि नसिकाउने गर्दा म जस्ता सर्बसाधारणलाई मर्का पर्न जानु स्वभाविकै थियो । आफूले तिरेको राजस्वको प्रमाणको आधारमा करचुक्ताको प्रमाण दिन कर कार्यालयलाई किन समस्या ?कुरो बुझ्न सकिएन ।

केही दिनअघि मात्र म मनकामना दर्शनको लागि काठमाण्डौबाट त्यसतर्फ लागेको थिएँ । टिकट को लागि गोरखा जाने बसमा लाईनमा बसेँ र मनकामनाको सम्मको लागि अनुरोध गरेँ । म सँग जेष्ठ नागरिकको परिचय पत्र छ भनेर देखाएँ । उनीेले यसो हेरेर कार्डको बारे केही खोट लाउन नसकेपछि , हामीले दिने गरेको छैन भने र कार्ड मलाईनै फिर्ता गरे । राज्यले दिएको सुविधा तपाईले किन नदिने भनी मैले प्रतिबाद गर्दा पुनस् उही जबाफ आयो दिन सकिँदैन ।

त्यसपछि म केही समय  रुंगी रहेको देखेर एउटा अपरित व्यक्तिले सोधनी गरे । जवाफमा म मनकामना जाने हो , जेष्ठ नागरिकको सुविधा दिन मिल्दैन भन्छन्, केहो मैले बुझ्न सकिन भने पछि ती व्यक्तिले तुरुन्त गएर टिकट मिलाए । टिकटमा २५०र लेखेर मनकामना भन्दा परको गन्तब्यस्थान आँबु खैरेनी लेखेको रहेछ र ५०र छुट देखाईएको रहेछ ।

म मनकामना दर्शन प्रा.लि. सम्म जाने व्यक्ति भन्ने जान्दा जान्दै आँबु खैरेनी सम्मको दुरी उल्लेख गर्नु भनेको झेली गर्नु नै हो भन्ने कुरा जो कसैले सजिलै बुझ्न सक्ने कुरो नै हो । यसो गर्नुको अर्थ जेष्ठ नागरिकलाई घुमाउरो तरीकाले ठगी गर्नु नै प्रष्ट देखिन्छ । तर, जहाँ पनि  यस्तै ठगीको धन्दा हुन्छ भन्न पनि खोजिएको होइन । जब म मनकामनाको टिकटको लाईनमा थिएँ, त्यस बखत मैले सोधी, जेष्ठ नागरिकको सुविधा बारे । उनले कार्ड मागे, मैले दिएँ । सुविधा कटाएर रु. ४५०र मात्रको टिकट दिए. । भन्न खोजिएको कुरा ब्यबस्थित ब्यबस्थापन गरे देखि हुँदो रहेछ त । किनहामीले यातायात ब्यबस्थापनमा सुधार गर्न सकेनौ । ईच्छा शक्ति भए नसकिने कुरै थिएन ।

यातायातमा देखिएको ठगी को विषयमा जनताबाट ठूलै आबाज आएपनि सरकारबाट सुधार हुन सकेको छैन । सिण्डिकेट हटेको हौवा पिटिए पनि अवस्था उहिनै छ । केही परिवर्तन आएको जनताले महशुस गर्न सकेका छैनन् । यात्रु कोच्ने, बढि भाडा लिने, यात्रुलाई दुब्र्यबहार गर्ने, नराम्रो बोली बोल्ने र गाली गलौच गर्ने, यात्रुको भीड नभए सम्म गाडि नचलाउने जस्ता कुरा हट्न सकेका छैनन् । सरकारले आफैले लागु गरेको कामको किन अनुगमन गर्दैन, प्रश्न अनुत्तरितनै छ ।

हिजो मात्र मेलम्चीको पानीको विषयमा कुरा चलिरहेको अवस्थामा एउटा मित्रले कुरा उठाउनुभयो । मैले पहिले धारा जोडेको थिएँ, पानी केही समय अलि अलि आएको थियो । तर पछि पानी नआएपछि धारा बन्द गर्न सम्बन्धित निकायमा गएँ । उनीहरूको उल्टो जबाफ मिल्यो अब फेरि बन्द गर्न पनि डिपोजिट राख्नु पर्दछ । कस्तो अचम्मको ब्यबस्था पानी नआउँदा र नदिँदा पनि पानीको महशूल तिरीनै रहनु पर्ने र धारा बन्द गरी देउ भन्दा पनि फेरि डिपोजिट गर्नु पर्ने । पानीको न्यूनतम महशूल तिरेर पनि नहुने । यो कस्तो सेबा ? धारामा पानी नआउँदा पनि पानीको महसल जरिवाना सहित तिरि नै रहनुपर्ने ? यो प्रथामा कहिले सुधार आउला ? हाम्रो यो ब्यबस्थालाई कहिँ नभएको जात्रा हाँडि गाउँमा भनेर किन नभन्ने ?

सरकारले आफैं नियम बनाउँछ, लागू गर्न सक्दैन । कार्यान्वयन गरेपनि त्यसको अनुगमन गर्न सकेको छैन । दिनदिनै बेथितिको चाङ बढ्दै गइरहेको छ ।

शिक्षा, स्वास्थ्य, बाटोघाटो, पुलपुलेसाको विषयमात हामी सबैनै परिचित नै छौं । कुनै बिद्यालय वा कलेजमा भर्ना गराउन पर्‍यो भने शुरुमा ठिकै किसिमको शुल्क बताउने, पछि गएर नाना थरीका शुल्क लगाउने । यसतो अवस्थामा अभिवावकले नत आफ्नो बच्चालाई अन्यत्र सार्न उपयुक्त हुन्छ, नत आर्थिक रूपले त्यहाँ पढाउन नै ऊ सक्षम हुन्छ । यसरी अभिभावकलाई कहिल्यै पनि उम्कन नसक्ने जालमा पारीरहेका छन् । सरकारले ७ किसिमका शुल्क लगाउन पाउने भनेको छ तर बिद्यालयहरूले १४ किसिमका शुल्क उठाउने गरेका छन् । कहित १४ भन्दा पनि बढी । अब हामी आफैँ भनौ यो सिधै ठगी होकि होइन ? खै अनुगमन ?

स्वास्थ्य उपचारको विषयमात के कुरा गर्ने । सामान्य मानिसले उपचारै गर्न सकिने अवस्था छैन । उच्च पदस्थ र धनीमानी बर्गलाई बिदेश गएर उपचार गर्न सहज हुने भै हाल्यो । सर्बसाधारणले अस्पतालको बिल भुक्तानी गर्न नसकेर आत्महत्या गर्नु परेको खबर हामी सबैलाईनै अवगत भएकै हो । एक जना सञ्चार माध्यममा काम गर्नु हुने मित्रले त यस्तोसम्म जानकारी दिनु भयो कि मृत्यु भैसकेको बिरामीलाई मृतक घोषणा नगरी राखिरहेको कुरा । कारण एक मात्र थियो क्याबिनको भाडा असुल्नका लागि । सडकमा ऐया र आच्छुभन्दै छटपटाइरहेका किड्नी लगायत अन्य बिरामीलाई टपक्क टिपेर सरकारले औषधि गर्न किन सक्दैन ? जन उत्तरदायी सरकारले यस किसिमका बेथितिको समाधान गर्नै पर्ने हुन आउँछ ।

अन्त्यमा

माथिका विभिन्न प्रकरणमा पहिलेको समाज, पात्र र प्रवृत्तिको विषयमा र अहिलेको समाज, पात्र र प्रवृत्तिको विषयमा केही उल्लेख गरियो । लामो समयपश्चात पनि हामी र हाम्रो समाजमा उल्लेखनीय सुधार आउन सकेको पाइँदैन ।

महाप्रसाद जस्ता पात्र अहिले पनि छँदैछन् । सरकारले आफैं नियम बनाउँछ, लागू गर्न सक्दैन । कार्यान्वयन गरेपनि त्यसको अनुगमन गर्न सकेको छैन । दिनदिनै बेथितिको चाङ बढ्दै गइरहेको छ । अनुगमनको कार्य शिथिल भइरहेको छ । जनता महंगीको मारमा परि नै रहेका छन् । अत: समाजमा असारमा च्याउ उम्रेजस्ता बेथितिहरूलाई समयमानै सरकारले समाधान गर्नुनै आजको आवश्यकता हो ।

माथि उल्लेख गरिएको पहिलेको हाम्रो समाज र अहिलेको समाजमा खासै परिवर्तन भएको देखिँदैन । टाठाबाठा ठूला भनाउँदाहरूले सिधासाधा मानिसलाई शोषण गरेकै छन् । यस्ता पात्र र प्रवृत्तिले गर्दा धनी र गरीबीको खाडल झन् फराकिलो हुँदै गएको छ । यसतर्फ सरकारले आफ्नो ध्यान केन्द्रित गर्न ढिला भइसकेको छ ।

असोज २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस