ट्रम्पको पेलाहा परराष्ट्रनीतिका कारण नजिकिए चीन र भारत, नेपालले के गर्ने ?

असोज २९, २०७५

डा. श्रीराम चौलिया

एउटा पुरानो चिनियाँ उखान छ : संकट भनेको अवसर हो र त्यो खतरनाक आँधीमा सवार छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँग गरेको व्यापारयुद्ध र अमेरिकी राजनीतिमा चीनले हस्तक्षेप गरेको भनी लगाएको आरोप खतरनाक आँधी हो र यसले दुई महाशक्तिबीचको सम्बन्धमा चोट पुर्‍याएको छ ।


ADVERTISEMENT

तर ट्रम्पले व्यापार, रक्षा र ऊर्जा सुरक्षाका विषयमा अन्य देशलाई पनि तारो बनाइरहेको सन्दर्भमा चीन अन्य थुप्रै असन्तुष्ट देशहरू जस्तै अमेरिकी राष्ट्रपतिको कूटनीतिक पूर्वानुमानरहितता, एकपक्षीयता र छुच्चोपनाका कारण रनभुल्ल र निराश छ । 

ट्रम्पले अमेरिकी रोजगारी तथा उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने गरी सारा संसारलाई चिन्तित तथा शत्रु बनाउने लोकरञ्जनवादी (पपुलिस्ट) इच्छा देखाएपछि बेइजिङले कैयौं प्रभावित मुलुकसँगको सम्बन्धलाई परिवर्तन गर्ने अवसर पाएको छ र शान्तिपूर्ण उद्देश्यका साथ विश्वव्यापी नेतृत्वमा आफ्नो दाबीलाई बलियो बनाउन समेत मौका पाएको छ । 

भारत यो सूचीको शीर्ष स्थानमा छ । अमेरिका र चीनबीचको व्यापारयुद्ध चर्र्किएपछि बेइजिङले नयाँ दिल्लीमा प्रतिनिधि पठाएर व्यापारनीतिमा थप संयोजन तथा दुई ठूला एसियाली छिमेकीबीचको तनाव घटाउन पैरवी गरेको छ । 

नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले ट्रम्पको उपद्रो व्यवहारलाई चीन र भारतसँगको सम्बन्धसँग सीधै जोडेको छ । अक्टोबर १० मा उसले जारी गरेको बयानमा ‘एकपक्षीयता तथा धाकधम्कीको सामना गर्दै गर्दा चीन र भारतले थप न्यायपूर्ण र तर्कसम्मत अन्तर्राष्ट्रिय व्यवस्था बनाउनका लागि अर्को एक कारण पाएका छन् ।’

ट्रम्पको संरक्षणवादी आक्रमणबाट ‘बहुपक्षीय व्यापार प्रणाली तथा खुला व्यापारलाई संरक्षण गर्ने साझा स्वार्थ’ को कुरा उठाउँदै चीनले भारतसँग मिलेर ‘खरिददारको क्लब’ गठन गर्ने प्रस्ताव गरेको छ । इरानबाट तेल आयात गर्ने मुलुकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको धम्कीलाई प्रतिरोध गर्दै ‘साझा स्वार्थको प्रतिरक्षा’ गर्ने चीनको प्रस्ताव छ । 

अहिले चीन र भारत इरानी तेलका दुई सबभन्दा ठूला खरिददार हुन् । उनीहरूसँगै दक्षिण कोरिया, टर्की, इटली र जापान नोभेम्बर ४ पछि इरानी तेल किनेमा अमेरिकी प्रतिबन्धको सामना गर्ने अन्य ‘अपराधी’ हुनेछन् । 
नयाँ अध्याय शुरू गर्नका लागि चीनले भारततर्फ बढाएको कदमका सन्दर्भमा ट्रम्पको साँघुरो र स्वार्थी ‘अमेरिका प्रथम’ को मन्त्रले कसरी सबै कुरालाई दाउमा राखेपनि बेइजिङ र नयाँ दिल्लीबीचको दीर्घकालीन पारस्परिक शंकालाई चिर्न भूमिका खेल्नेछ भनी विश्लेषण गर्नु मुनासिब ठहर्छ । 

चीन र भारतबीच ४ हजार ५७ किलोमिटर लामो सीमाका नसुल्झिएका विवाद, भारतमा दलाई लामा र तिब्बती शरणार्थीहरूको उपस्थिति र पाकिस्तानसँग चीनको सदाबहार सम्बन्धले दुई देशको सम्बन्धलाई दशकौंदेखि तीतो बनाएको छ । 

हालैका समयमा यी ऐतिहासिक समस्याहरूलाई चीनको असाधारण सैन्य तथा आर्थिक उदयले झनै चर्काएको छ । चीनको विशाल पेटी सडक परियोजना त्यो उदयको संकेत हो । यसमार्फत दक्षिण एसिया र हिन्द महासागर क्षेत्रमा रहेको आफ्नो प्रभावलाई घटाउन चीन घुस्यो भनी भारत डराएको छ । 

बेइजिङले पनि सन् २००० देखि नयाँ दिल्ली अमेरिकी प्रशासनसँग नजिकिएर एसियामा चिनियाँ शक्तिको विस्तारलाई रोक्ने अघोषित लक्ष्य पूरा गर्न लागिपरेको भन्दै चिन्ताका साथ हेरिरहेको छ । भारतका सम्भ्रान्तहरूले उद्धरण गर्ने प्रमुख भूराजनीतिक अवधारणा, जस्तै भारतलाई घेर्न चीनले बनाएको ‘मोतीको माला’ (भारतीय उपमहाद्वीपका राष्ट्र), एसिया र अफ्रिकामा भारतलाई बाहिर पार्न पेटी सडक परियोजनामार्फत चीनले फैलाएको ‘ऋण जालो’ लाई अमेरिकी तथा अन्य पश्चिमी चिन्तकहरूले पनि प्रयोग गर्ने गरेका छन् । 

चीन प्रभावशाली वैश्विक शक्ति बन्न लाग्यो भनी पश्चिमी सरकारहरू मात्र चिन्ताले राति अनिदो बस्ने नभई भारतीय संस्थापन पक्ष पनि चिन्तित हुने गरेको छ । भारतीयहरू चीनको उद्देश्य र प्रभावका विषयमा शंका पाल्छन् । सन् २०१७ को ग्रीष्ममा दोक्लम विवाद हुँदा चीन र भारतका सैनिक आमनेसामने भए अनि भारतभरि चिनियाँ सामान बहिष्कार गर्नका लागि राष्ट्रवादी आह्वान गरिए । पिउ अनुसन्धान केन्द्रले त्यो वर्ष गरेको एक सर्वेक्षणअनुसार, ४१ प्रतिशत भारतीयले चीनप्रति नकारात्मक धारणा राखे भने ९ प्रतिशत भारतीयले मात्र अमेरिकाका बारेमा नराम्रो धारणा दिए । 

त्यसैले ट्रम्पबाट शत्रुतापूर्ण र रणनीतिक रूपमा असंगत दृष्टिकोण आएपनि भारतमा एक किसिमको राष्ट्रिय सम्मति के बनेको छ भने चीन प्रतिस्पर्धी र शत्रु हो र ऊ भारतलाई विश्व मामिलामा माथि गएको देखिसहँदैन । यो धारणाको संरचनागत आधार छ किनकि सबै उदाउँदा देशको तुलनामा विश्व शक्तिको मामिलामा चीनको बराबरी गर्ने हैसियतका लागि आफूसँग आकार, जनसंख्या र आर्थिक सम्भावना सबै रहेको विश्वास भारत राख्दछ । चीनले अमेरिकासँग शक्तिको खाडल साँघुरो पार्न लागेको अवस्थामा भारत पनि चीनसँग त्यही गर्ने सोचमा छ । 

तर विश्व मञ्चमा चीनको बराबरी गर्ने भारतको चाहनामा एउटा शर्त तेर्सिएको छ । नयाँ दिल्लीले आफूलाई बलियो बनाउन तथा चीनसँग समान हैसियत बनाउन अमेरिका तथा रुस जस्ता शक्तिहरूबाट निरन्तर र अवश्यम्भावी सैन्य तथा आर्थिक सहयोग लिइरहनुपर्ने हुन्छ । 

पूर्ववर्ती राष्ट्रपतिहरू जर्ज डब्ल्यू बुश र बाराक ओबामाले व्यापार, प्रविधि हस्तान्तरण तथा सैन्य आदानप्रदानमार्फत भारतको क्षमता बढाउने भनी ल्याएको नीतिमा ट्रम्प धर्मराएपछि नयाँ दिल्ली अमेरिकाको बलमा भएको उदयमा कत्तिको भर पर्न सकिएला भनी दोधारमा परेको छ । 

चीनसँग सम्बन्ध सुधार्नका लागि भारतले यो वर्ष देखाएको लचकताले के प्रस्ट पार्छ भने ट्रम्पले दिनेगरेको आयातशुल्क लगाउने धम्की तथा प्रतिबन्ध अनि अमेरिकाका रणनीतिक साझेदार र मित्रहरूको स्वार्थलाई उनले गरेको बेवास्ताले भारतलाई झस्काएको छ ।

ट्रम्पको अविश्वसनीयताले भारत र चीनबीच रमाइला सम्बन्ध विकास भएको छ । चीनको सरकारी मिडियाले साझेदारीको ‘चीन–भारत प्लस वन’ नमूनालाई प्रशंसा गरेका छन् र यसक्रममा उज्बेकिस्तान र अफगानिस्तानसँग जोडिनका लागि संयुक्त कार्य थालेका छन् । बेइजिङ यस्ता त्रिपक्षीय परियोजनाहरू नयाँ दिल्लीसँग मिलेर म्यान्मार र नेपालसँग समेत सञ्चालन गर्न चाहन्छ । 

भारतले सार्वभौमसत्ता तथा आफ्नै ब्याकयार्डमा नियन्त्रण गुमाउने स्थितिले जन्माएको संवेदनशीलतालाई कारण देखाउँदै पेटी सडक परियोजनामा प्रवेश गर्न ठाडै आपत्ति जनाएपनि चीनसँग मिलेर केही विकासशील देशहरूमा काम गर्नका लागि वैकल्पिक उपाय अपनाउने सम्भावना छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी चिनफिङले चीनको वुहानमा आआफ्ना सेनालाई ‘रणनीतिक निर्देशन’ जारी गर्ने र उच्च हिमाली क्षेत्रमा रहेका सीमामा युद्धको स्थिति बन्न नदिने प्रतिबद्धता जनाएका छन् । 

आर्थिक मामिलामा चीन र भारत विश्व व्यापार संगठनले प्रतिनिधित्व गर्ने नियममा आधारित व्यापार प्रणालीलाई ट्रम्पले धज्जी उडाएको विरुद्ध भर्खरै संयुक्त रूपमा अघि आएका छन् । 

अनि दुवै देश अमेरिकाको आगामी चुनावमा पनि आँखा लगाइरहेका छन् । ट्रम्प सन् २०२० को चुनावमा पनि राष्ट्रपति बनेमा भारत र चीनबीचको साझेदारी झनै मजबूत हुने सम्भावना छ । 

ट्रम्पले सत्ता सम्हालेको दुई वर्षमा अन्तर्राष्ट्रिय समुदायलाई पूरै चिढ्याइसकेका छन् । उनको आक्रामक परराष्ट्रनीति कायम रहिरहेमा अमेरिका र बाँकी विश्वबीच द्वन्द्व हुनेछ । आफ्नो शक्ति र महत्त्वाकांक्षाका कारण भारत र चीन नै ट्रम्पको प्रतिकार गर्ने मोर्चाको अग्रपंक्तिमा हुनेछन् । तर स्वघोषित ‘स्थिर बुद्धिमान्’ ट्रम्पले अमेरिकी जनताको मन जितिरहने कुरामा यी कूटनीतिक सम्भावनाहरू अडिएका छन् ।

आरटीमा प्रकाशित विश्लेषणको भावानुवाद

असोज २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस