दशैंमा आशीर्वाद मात्र नहोस् !

असोज ३१, २०७५

रुपचन्द्र अधिकारी

आयु द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे !
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने !
दानं सूर्यसूते बलं हलधरे सत्यञ्च कुन्तीसुते !
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे !


ADVERTISEMENT

प्रस्तुत हरफ हिन्दू नेपालीको महान् चाड बडादशैं (विजयादशमी) को दशौं दिनबाट शुरू भई कोजाग्रत पूर्णिमाका दिनसम्म गाउँशहर, लेकबेसी, तराई–पहाड–हिमाल सर्वत्र रातदिन हेक्का नगरी गुञ्जनमा व्यस्त हुन्छ । हरफ अर्थात् बडादशैंमा आफन्त तथा मान्यजनबाट प्राप्त हुने यस प्रकारको आशिर्वादको भावनार्थ द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायू होस्, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान श्रीरामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होस्, पवनपुत्र हनुमानको जस्तो गतिशिलता होस्, दुर्योधनको जस्तो मान–सम्मान होस्, सूर्य पुत्र कर्णको जस्तो दानवीरता मिलोस्, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यता कायम होस्, विदुरको जस्तो ज्ञान प्राप्त होस् तथा नारायण भगवानको जस्तो कीर्ति प्राप्त होस् भन्ने हुन्छ ।

आश्विन शुक्ल प्रतिपदाबाट कोजागत पूर्णिमासम्मको समय चक्रमा प्रतिपदाबाट क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदूर्गाको पूजा गर्दै चण्डी पाठ गरी दूर्गा माताका साथै तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधनाले अन्ततः आफ्ना मान्यजनको हातबाट रातो टिका र पहेंलो जमरासहित निधार रंगाई आर्शिवाद लिने अवसरले ढोका खोल्ने गर्दछ । जसलाई  कतिपयले विजयादशमी त कतिपयले बडादशैंका नामले सम्बोधन गर्ने गर्छन् । 

स्वभावैले रातो रंगले क्रान्ति र विजयको संकेत गर्ने मान्यता छ । महिषासुर राक्षसलाई बध (नष्ट) गरिएको, श्रीरामले रावणमाथि विजय हाँसिल गरेको, दूर्गा माताले दैत्यमुण्ड तथा शुम्भ–निशुम्भलाई बध गर्न सफलता प्राप्त हुँदाको समयलाई आधार मानेर नै जमरा राखेको दिनबाट विशेषतः दशौं दिनमा टिका र आर्शिवाद थाप्ने गरिएको पौराणिक मान्यता पनि रहेको छ । 

जहाँसम्म ‘दशैं’लाई सम्बोधन गरिने प्रसङ्ग छ, एकथरिले अर्काको बध गरेर खुशीयाली मनाएको पर्वलाई ‘विजया’ भनेर सम्बोधन गर्नुभन्दा ‘बडादशैं’ नामले सम्बोधन गर्नु उचित ठान्दछन् भने कुरीति र कलंकित मानसिकताको नष्ट गरी शान्ति र सुुसंस्कृति स्थापनार्थ सफलता हाँसिल गरेको कार्यसँग जोडिएको हुनाले ‘विजयादशमी’ भन्दा अनुपयुक्त नहुने अर्कोथरिको तर्क छ । 

जेसुकै भएपनि पौराणिक कालदेखि नै चलिआएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो । कृषिप्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइसकेर यस बिचमा राम्रो लगाउने मिठो मसिनो खाने र आफन्त तथा मान्यजनसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ, दशैं ! तर, सबै कुरा ठिकै र राम्रै भइरहँदा आशिर्वादको कुराले केही पृथक व्यावहारिकतासँग सम्बन्ध राख्दछ नै । किनकि मनैदेखि पस्किएका ती कोमल शब्दले व्यवहारमा त्यही किसिमले सामिप्यता राख्दछन् नै भन्न पनि सकिन्न ।

तर, हिन्दू धर्मावलम्बीले कि त सम्पूर्ण आस्था र विश्वासमा अल्झिएका संस्कृतिलाई बहिष्कार गर्नुपर्छ नत्र आफूभन्दा अग्रजले खुला हृदयले दिएको आशिर्वादलाई कञ्चनताका साथ स्वीकार गर्नुपर्छ । भलै शिक्षा, वाणिज्य तथा मानविकी संकायमा स्नातक तथा स्नाकोत्तर गर्दै गरेका हामी युवा वर्गलाई आशिर्वाद दिने क्रममा अघिल्लो पुस्ताले (बाबु÷बाजे) डाक्टर, पाइलट भएस् ! भनि दिँदा अशिक्षाको एक हद प्रकट भएको व्यवहार नै किन नहोस् ! जबकि नेपालमा जो कोही पनि डाक्टर, पाइलट, इन्जिनियर हुन सक्ने अवस्था छैन । जसको मुख्य कारणको रुपमा समग्र शैक्षिक प्रणाली र युवाको भविष्यप्रति राज्यको उदासिनता तथा राज्यको आर्थिक सामाजिक अवस्था साथमा गुणस्तरीय शिक्षामा सबैको पहँुच स्थापित हुनै नसक्ने गरी सिर्जित वर्गीय खाडल विराजमान छन् । यति मात्र नभएर यदि आशिर्वादलाई राष्ट्र र हामी जनतासँग जोड्ने हो भने  खण्ड–खण्डमा केलाउन सक्ने अवस्था हामीमाझ विद्यमान छ ।

हामी विकृत आधुनिकतासँग निकै परिचित छौं । तर, विश्वको वास्तविक आधुनिकतासँग र विकासको गतिसँग भने टाढा छौं । अस्वत्थामाको दीर्घायूको कुरा गरिरहँदा हामीमाझ अकालमा दिनहुँ जीवन मृत्युसामु अनावरण गर्ने ठूलो संख्याको कारणको रुपमा जोखिमपूर्ण वैदेशिक रोजगार यात्रा, देशभित्रै जोखिमपूर्ण सडक यातायातको अवस्था, जोखिमपूर्ण हवाइ यात्रा आदि त छँदैछ, दिनहुँ जस्तो हुने हत्या, हिंसा, बलात्कार तथा सामाजिक कुप्रथाले पनि जिस्काइरहेको छ ।

दशरथ राजाको श्रीसम्पत्ति एउटा भावना भयो तर हाम्रो मुलुकमा बिहान–बेलुका हातमुख जोर्ने र आधारभूत आवश्यकता पूरा गर्न अक्षमले के दशैंमा आशिर्वाद नलिने ? श्रीरामको जस्तो शत्रु नाश होस् भनिरहँदा दलीय, धार्मिक, वर्गीय, जातीय र क्षेत्रीय रुपमा हामी विभाजित हँुदो अवस्थाप्रति अग्रसर छौं । नहुष राजाको ऐश्वर्यता र हनुमानको गतिशीलता, दुर्योधनको मान, कर्णकोे दानवीरता, बलरामको बलको कुरा गरिरहँदा युधिष्ठिरको जस्तो सत्यता त निकै बिरानो हुन आउँछ ।

विदूरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति एक आफैंमा समयसँग संघर्षशील रहन्छ । भन्न खोजिएको यो होइन कि आशिर्वाद गलत भयो ! तर कम्तिमा यस प्रकारका भावना निश्चित चाडपर्वमा मात्र नआएर सदैव गतिशील भने रहनुपर्छ । दैवीकालका विभिन्न देवताको गुणसँग तुलना गरेर त कुनै अर्थ रहने छैन तथापि इमानदारिता, सत्यता, दानवीरता, गतिशीलता, ज्ञानता आदिको संयोजनले सम्पूर्ण कुरालाई एकीकृत गरी नौलो किसिमको आयाम भने पक्कै सिर्जना गर्दछ । 

एउटा व्यक्ति परिवारभन्दा अलग रहन सक्दैन । परिवार समाजभित्र रहन्छ र समाज राष्ट्रको एक अंगको रुपमा चरितार्थ प्रकट भइरहेको हुन्छ । अन्ततः राष्ट्रका जनताको भविष्य र सम्भावना राज्य सञ्चालनको व्यवस्थासँग जोडिन्छ । तर, आज दुर्योधनको दीर्घायूसँग आशिर्वाद साटिरहँदा अकालमा मृृत्यु अनावरण गर्नेहरूको संख्या दैनिक दोहोरो संख्यामा बढिरहेको छ । कारणका रुपमा जुनै हिसाबले पनि राज्य र यसका अंग जोेडिएका छन् । चाहे ती नीतिनिर्माणका शिलशिलामा भएका कमजोरी हुन् वा कार्यान्वयनका पक्षमा भएका लापरवाही नै किन नहुन् ? आ–आफ्नो धर्म र परम्परालाई अन्य कुरा मान्ने हो भने के राज्यसत्ता सञ्चालनका मतियारमध्ये कोही पनि हिन्दू थिएनन् त ? के उनीहरूले युधिष्ठिर जस्तो सत्यवादिता र विदूरजस्तो ज्ञानी हुनु भन्ने आशिर्वाद आर्जन गरेका थिएनन् त ? नत्र नेपाल किन विश्वको आधुनिकतासँग पराजित भइरहेको छ ? यसर्थ आशिर्वादको रुपमा खास समयमा प्राप्त गरिने यस प्रकारका मेहेनती कर्णप्रिय शब्द प्रवाहहरू अब सधैं आशिर्वादमा मात्र सीमित नहोउन् । व्यावहारिकतासँग कम्तिमा जोडिनसम्म सफल रहुन् । राष्ट्रमा सुख, शान्ति र समृद्धिको ढोका खुलोस् ! बडादशैंको सबैलाई शुभकामना !

असोज ३१, २०७५ मा प्रकाशित

रूपचन्द्र अधिकारी

अधिकारी नेकपा निकट अखिलका नेता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस