सरकारले दिएन तलब, ऋण काढेर दशैं खर्च चलाउँदै सरकारी कर्मचारी

असोज ३१, २०७५

जिरी – प्रदेश मातहतका सरकारी कर्मचारीले तलबभत्ता नपाएपछि दशैं मान्न ऋण खोज्न थालेका छन् । 

टाढाटाढाका कर्मचारी उल्टै घरबाट खर्च मगाएर बसको टिकट काटेर घर गएका छन् । जागिर खाएर लिएको तलबभत्ताले घरमा समेत खर्च पुर्याउने बेलामा उल्टै बसको टिकटको लागि समेत खर्च माग्नुपर्ने अवस्था आएको जिल्ला वन कार्यालय दोलखामा कार्यरत अछामका रेञ्जर कपिल रावलले दुःखेसो गरे ।


ADVERTISEMENT

इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो । सरकारी जागिरको ५ वर्षे अवधिमा उनी पहिलो पटक आर्थिक वर्ष शुरू भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दशैं मनाउन घर फर्किए ।

डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले पनि तलव नपाएपछि निराश भएर घर गएका छन् ।

प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशुसेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखाका मात्र २ सय ५० कर्मचारी तलब नलिई दशैं मनाउन बाध्य भएका छन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख भीष्म न्यौपानेले घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीबाहेकका कर्मचारीको तलब आइतवारसम्म नआएकाले वितरण नगरिएको जानकारी दिए ।

असोज ३१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस